टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), भदौ ७ गते । आज बुबाको मुख हेर्ने दिन । गुल्मीदरवार गाउँपालिका–१ बलिथुमका २२ वर्षीय सुनिल विक बुबा बेपत्ता हुँदा ढाई वर्षका हुनुहुन्थ्यो । बुबा रुद्रबहादुर सुनार २०६० सालमा घरबाट भारत पसेपछि फर्किनु भएन् । सुनिलले बुबालाई नदेखेपनि जीवनमा कैयौँ पटक महसुस गर्नुभयो । बुबा बेपत्ता भएको २० वर्षभन्दा बढी भए पनि जिवित घर फर्किने आश अझै विक परिवारमा छ ।
धुर्कोट गाउँपालिका–६ का गणेश थापा नौ वर्षको हुँदा बुबा रुकबहादुर थापाको निधन भयो । गणेशपछि भाई र बहिनी अझै साना थिए । आमाको काँधमा थोपरिएको पारिवारीक बोझ गणेशले सानैबाट आफ्ना भागमा राख्न पर्ने बाध्यता प¥यो । बुबाको मृत्युपछिका कैयन चाडपर्व निरसिला बने । आमा र भाईबहिनी सम्झाउँदा–सम्झाउँदै आफु त रुन समेत नपाएको थापाले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘बितेका बर्सौ भए पनि चाडवाड र घरको खुसीमा बुबाको अभावले पीडा हुन्छ । एकल महिलाको जीवन र टुहुरो भनेर हेर्ने हाम्रो सामाजिक दृष्टिकोणले कैयौँपटक रुँदै हिड्ने अवस्था समेत जीवनमा आएको छ ।’’
रेसुङ्गा नगरपालिका–९ का महेश पन्थी डेढ वर्षको हुँदा बुबा भोजराज पन्थीको काठमाडौँमा मृत्यु भयो । उहाँ नेपाल प्रहरीका हवल्दार हुनुहुन्थ्यो । २६ वर्षको उमेरमा बुबा भोजराजको मृत्यु भएपछि आमा सीता पन्थीले महेशलाई बाबाको महसुस हुन कहिल्यै दिनुभएन् । तर महेश बुझने हुँदै जाँदा छिमेकीले टुहुरो केटोभन्दा मन पोल्थ्यो र बुबाको महसुस हुन्थ्यो ।
अहिले पनि चाडवर्प आउँदा, समाजका सामूहिक कार्य र सहि वा गलत भन्ने कठिन निर्णय लिँदा सवैभन्दा बढि बुबाको याद आउने पन्थीले सुनाउनु भयो । उहाँले भन्नुभयो, “आमा मेरो सबथोक हो, बुबाको कर्तव्य पनि आमाले निभाउनु भएको छ । तर चाडवाड र कठिन निर्णयहरु गर्दा बुबाको निकै याद आउँछ ।”
यसैगरी, इस्मा गाउँपालिका–१ की बिमला खत्रीले नौ वर्षसम्म बुबा देख्नुभयो । तर पछि अभावमा महसुस गर्न पाउनु भएन । २०४२ सालमा बुबा बित्दा ३५ वर्षको आमा हुनुहुन्थ्यो । श्रीमान गुमाएकी आमाले छ जना छोराछोरी हुर्काउँदाका भोगेका जीवन सङ्घर्ष चलचित्रभन्दा कम नहुने खत्रीले बताउनुभयो । खत्रीले बुबाको मृत्युपछि गाउँमा टुहुरा–टुहुरी भनेर हेला गर्दाको पीडा जीवनमा कहिल्यै नमेटिने गरेर रहेको बताउनुभयो ।
आज भाद्रकृष्ण औँसीका अर्थात् बुबाको मुख हेर्ने दिन । रेसुङ्गा नगरपालिका–१ का पण्डित प्रेमराज मरासिनीले कुशे औँसीको दिन विशेष गरेर कुश धार्मिक विषयसँग जोडिए पनि बुबाको मुख हेर्ने साँस्कृतिक परम्परा भएको बताउनुभयो । उहाँले कुशबिना कुनै देव तथा पितृ कार्य सम्भव नभएको बताउँदै बुबाको मुख हेर्ने कुरा कतै धार्मिक ग्रन्थहरुमा आफुले नभेटाएको बताउनुभयो । पितृ देवो भव : भनेकाले जिवित बुबाहरुको सम्मान गर्ने र दिवंगत पितृहरुको नाममा दान तथा सामाजिक कार्य गर्न सकिने खनालले बताउनुभयो ।