• ८ भदौ २०८२, आइतबार

आदिवासीहरुको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण

blog

प्रशिक्षण कार्यक्रममा महासंघको गतिविधिबारे जानकारी गराउनुहुँदै महासचिव दिवस राई ।

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ७ गते । आदिवासी समुदायको जीवन पद्धतिसँग जोडिएका जल, जंगल र जमिनलाई समेटिने कार्यक्रम रेड प्लस, ताल, लीफ, बीएसपी बारेमा दुई दिने क्षमता अभिबृद्धि कार्यक्रम आयोजना गरिएको छ । 

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को आयोजनामा शनिबारदेखि सुरु भएको दुई दिने कार्यक्रममा रेड प्लस, ताल (तराई आर्क ल्याण्डस्केप), लीफ (लर्निङ अबाउट इकोसिस्टम एण्ड फोरेष्ट), कार्वन उत्सर्जन र उत्सर्जन रोक्ने विषयमा प्रशिक्षण सुरु गरिएको हो । 

लुम्बिनी, बागमती र गण्डकी प्रदेशबाट प्रतिनिधि सहभागी रहेको कार्यक्रममा महासंघका महासचिव दिवस राई, कोषाध्यक्ष बिमल सारु मगर, विज्ञ हरि थलङ लगायतले पहिलो दिन प्रशिक्षण दिनुभयो । उहाँहरुले आदिवासी समुदायले जल, जंगल र जमिन संरक्षणमा प्रमुख भूमिका खेल्ने गरे पनि नीति निर्माण प्रक्रियामा आदिवासीलाई सरकारले वेवास्ता गर्नेगरेको बताउनुभयो । 

महासंघका महासचिव राईले महासंघले गर्दैआएको काम बारेमा जानकारी गराउनुभयो । आदिवासी समुदायको मुद्दा पैरवी, माग सम्बोधनका लागि महासंघको तर्फबाट गरिएको नेतृत्वदायी भूमिका, प्राकृतिक स्रोत साधनको व्यवस्थापनमा नीति निर्माण तहमा महासंघले खेल्दैआएको भूमिकाबारे उहाँले जानकारी दिनुभयो । 

रेड अन्तर्गत वन विनास कम गर्ने, वन क्षयीकरण कम गर्ने, प्लस अन्तर्गत वन कार्वनको संरक्षण गर्ने, वनको दिगो व्यवस्थापन गर्ने र वनमा कार्वनको सञ्चिती बढाउने विषयमा कोषाध्यक्ष सारु मगरले जानकारी गराउनुभयो । वन संरक्षणको काम आदिवासीले गरे पनि फाइदा गैर आदिवासीले लिनेगरेको उहाँको भनाइ छ ।

आइतबारसम्म चल्ने प्रशिक्षण कार्यक्रममा तीन प्रदेशका प्रतिनिधि, आदिवासी सम्बद्ध संघ संस्थाका प्रतिनिधिसहति करिब ३५ जनाको सहभागिता रहेको छ । विश्वभर कूल जनसंख्याको करिब ६.२ प्रतिशत रहेका आदिवासी समुदायले ८० प्रतिशत वन संरक्षणको काम गरेको प्रशिक्षकहरुको भनाइ छ । नीति निर्माण तहमा आदिवासीको प्रतिनिधित्व नहुँदा आदिवासी जनजाति समुदायलाई समस्या पर्नेगरेको उहाँहरुको बुझाई छ ।