• ८ भदौ २०८२, आइतबार

धार्मिक पर्यटकीय स्थल कालिभारानी

blog

अन्नपूर्ण हिमालको फेँदीमा रहेको कालिभारानी। तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, भदौ ८  गते। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, अन्नपूर्ण हिमालको फेँदीमा रहेको ताल धार्मिक एवम् सुन्दर प्राकृतिक पर्यटकीय स्थल हो। तालको छेवैमा प्रसिद्ध कालिभारानीको मन्दिर अवस्थित छ। 

यो ताल समुन्द्री सतहबाट चार हजार दुई सय ७० मिटरको उचाइमा पर्दछ। ताल सुन्दर छ।  तालसँगै रहेको कालिभारानीको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। यहाँ विशेष गरेर जनै पूर्णिमाका दिन भक्तजन दर्शनका लागि पुग्ने गर्दछन्। आफूले पालेका पशुचौपायाहरूको वृद्धि होस् भनेर दर्शन र भाकल गरेमा पूरा हुने जनविश्वास छ। 

प्राकृतिक रूपमा सुन्दर भएकाले खोप्रा र खयरलेकको भ्रमणमा आएका पर्यटकहरू कालिभारानी पुग्ने गरेको अन्नपूर्ण गाउँपालिका-५ का स्थानीयवासी सुरेन गुरुङले बताउनुभयो। यहाँबाट धौलागिरी हिमाल नजिकबाट अवलोकन समेत गर्न मिल्ने यस स्थान धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल हो। खोप्रा–खयरलेक ट्रेक अन्तर्गत पर्ने कालिभारानी जान नौलो वन र खयरकोलाबाट दुई घण्टाको यात्रा गर्नुपर्दछ।  

धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्राकृतिक सौन्दर्यको सङ्गम बनेको खयरलेक स्थित कालिभारानी धार्मिक यात्रु मात्र नभई पर्यटक र पदयात्राका लागि पनि आकर्षक पर्यटकीय गन्तव्य भएको  खयरभारानी क्षेत्र संरक्षक तथा स्थानीयवासी राजु पुनले बताउनुभयो। पछिल्ला केही वर्ष यता खोप्रा–खयरलेक ट्रेकमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुनथालेपछि यहाँ पुग्ने पर्यटको सङ्ख्यामा पनि बढ्न थालेको उहाँले बताउनुभयो। 


कालिभारानी मन्दिर वरिपरि रहेका साना–ठुला ताल, हरियाली घाँसे मैदान र हिमश्रृङ्खलाको सुन्दर दृश्य यस क्षेत्रको प्रमुख विशेषता हो।  उच्च हिमाली वातावरणमा बसेर पूजाआजा गर्न पाउनु भक्तजनका लागि आध्यात्मिक शान्ति र पर्यटन प्रेमीका लागि जीवनको अद्वितीय अनुभव प्राप्त गर्न सकिने पुनले बताउनुभयो।

कालिभारानीका साथै खयरलेक क्षेत्रमा प्रशिद्ध खयरभारानी, गोर्से भारानी र दुधकुण्ड जस्ता प्रसिद्ध धार्मिक पर्यटकीय स्थल रहेका छन्। स्थानीयको चन्दा सहयोग, गाउँपालिका र प्रदेश सरकारको बजेटबाट पाउँद्वार–खोप्रा–खयरलेक पदमार्ग निर्माण गरेका छन्। चन्दा सङ्कलन गरेर मात्रै स्थानीयले करिब २७ किलोमिटर व्यवस्थित पदमार्ग निर्माण गरेका छन्।