अमरराज नहर्की
तनहुँ, भदौ ८ गते। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनप्रतिनिधि र कर्मचारीलाई जनतालाई सन्तुष्ट पार्ने खालको सेवा दिन निर्देशन दिनुभएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा आइतबार गरिएको स्थानीय जनप्रतिनिधि र कर्मचारीबीचको अन्तरक्रियामा बोल्दै मन्त्री न्यौपानेले सेवाप्रवाहमा कुनै पनि कमजोरी नगर्न निर्देशन दिनुभएको हो।
उहाँले भन्नुभयो, “जनतालाई सेवा गर्ने काममा कमी कमजोरी हुनु हुँदैन, तपाईंहरू जनतासँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ, त्यसैले जनताको मुहारमा खुसी ल्याउने गरी काम गर्नु जरुरी छ।”
मन्त्री न्यौपानेले स्थानीय तहलाई सरकारको सबैभन्दा नजिकको संरचना भएको भन्दै, जनतासँग प्रत्यक्ष सम्पर्कमा हुने भएकाले सेवाप्रवाह चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “सामिप्यता, एकता र सहकार्य नभए कुनै पनि काम सफल हुँदैन। जुनसुकै पार्टीबाट निर्वाचित भए पनि जनतालाई सर्वोपरि ठानेर अघि बढ्नुपर्छ।” उहाँले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई पारदर्शी, जिम्मेवार र जवाफदेही ढङ्गले काम गर्न सुझाव दिँदै सुशासन कायम गर्न सरकार गम्भीर रहेको जानकारी दिनुभयो।
“चुस्तदुरुस्त सेवाप्रवाह, पारदर्शी प्रणाली र सुशासन कस्तो हुन्छ भन्ने कुरा व्यवहारमै देखाउनुपर्छ। त्यसबाट मात्र जनता खुसी हुन्छन्,” मन्त्री न्यौपानेले भन्नुभयो।
सामाजिक सञ्जालमा पछिल्ला दिनमा नेपालमा केही भएन भन्ने धारणा फैलाइएकोप्रति असन्तोष व्यक्त गर्दै उहाँले वास्तविकता फरक रहेको स्पष्ट पार्नुभयो। “देशमा हिजो र आजको अवस्था एकै होइन। धेरै परिवर्तन भइसकेको छ। तर, सामाजिक सञ्जालमा नकारात्मक भाष्य निर्माण गरेर जनतालाई निराश बनाइन्छ। यस्तो प्रवृत्तिप्रति सजक रहनुपर्छ,” उहाँको भनाइ थियो।
उहाँले सामाजिक सञ्जाललाई मर्यादित र जिम्मेवार बनाउन आवश्यक कानुनी संरचना सरकारले तयार गर्दै गरेको समेत जानकारी दिनुभयो। मन्त्री न्यौपानेले भन्नुभयो, “सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, झुटा समाचार फैलाउनेलाई कारबाही गर्ने तयारी भइरहेको छ। त्यसको लागि राष्ट्रिय सभाबाट कानुन पारित हुन लागेको छ।’’
अभिव्यक्ति स्वतन्त्रता आडमा अरूको बदनाम गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने मन्त्री न्यौपानेले चेतावनी दिनुभयो।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले स्थानीय तहमा सेवा प्रवाह गर्दा भोग्नुपर्ने समस्या, चुनौती र अनुभव साट्नुभएको थियो। मन्त्री न्यौपानेले सहभागीको प्रश्न र सुझावलाई सम्बोधन गर्दै समस्या समाधानका लागि सङ्घीय सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो।