• ८ भदौ २०८२, आइतबार

साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ८ गते ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नयाँ पुस्तालाई साहित्य, संस्कृति, ज्ञानसँग जोड्दै लानुपर्नेमा जोड दिनुभएको छ । उहाँले साहित्य सन्ध्याद्वारा शनिबार आयोजित साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान समारोहलाई सम्बोधन गर्दै साहित्यमा नयाँ पुस्ताको संलग्नता नगण्य हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

मन्त्री पन्तले हरेक विषय, क्षेत्रको संरक्षण, प्रवर्धनका लागि पुस्तान्तरण हुन आवश्यक छ भन्दै हाल  साहित्यिक कार्यक्रममा बढी कपाल फुलेका वर्गको मात्र सहभागिता बाक्लो र नयाँ पुस्ताको कम उपस्थिति चिन्ताजनक विषय भएको बताउनुभयो । उहाँले पहिले विद्यार्थी राजनीतिशास्त्र, नेपाली, इतिहास, दर्शनशास्त्रलगायतका विषय रोजेर पढ्थे भने हाल प्राविधिक विषय र रोजगारी सिर्जना वा पढेपछि जागिर पाइहाल्ने विषय रोज्ने गरेको धारणा राख्नुभयो । यस्ता विषय पढेर धेरै जसो विदेश नै जाने समस्याले सबैतिर नयाँ पुस्ताको उपस्थिति न्यून हुनु साझा समस्या हो, मन्त्री पन्तले भन्नुभयो ।

सो अवसरमा भैरहवाका वरिष्ठ साहित्यकार प्राडा कपिल लामिछानेलाई २१ हजार एक सय रुपियाँ राशिको ‘साहित्य सन्ध्या पुरस्कार प्रदान गरिएको छ । यसै गरी नेपालको पहिलो महिला अकुपन्चरिस्ट चिकित्सक एवं ‘ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्रका प्राचार्यका डा. मञ्जु दाहाललाई १० हजार रुपियाँ राशिको ‘साहित्य सन्ध्या–मन’ पुरस्कार, काभ्रे दाप्चा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत जेहेनदार विद्यार्थी श्री सरोज अधिकारीलाई १० हजार रुपियाँ राशिको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार प्रदान गरिएको छ ।

नेपाली नियात्रा विधामा सशक्त रूपमा कलम चलाइरहेकी स्रष्टा भवानी खतिवडालाई १० हजार रुपियाँ राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार र धादिङका साहित्यकार नवराज श्रेष्ठलाई पाँच हजार रुपियाँ राशिको ‘साहित्य सन्ध्या’ सहभागिता पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कृत व्यक्तित्व प्राडा कपिल लामिछानेले प्राध्यापन पेसासँगै साहित्यको निरन्तर सेवा गरिरहँदा साहित्य सन्ध्या परिवारले मोफसलमा रहेका सर्जकलाई पनि पुरस्कारका लागि सम्झेको भन्दै खुसी व्यक्त गर्नुभयो । नियात्राकार भवानी खतिवडाले आफूले हिमाली, पहाडी क्षेत्रको भ्रमण गर्दा प्राप्त गरेको प्रेरणा, ऊर्जाले साहित्य सिर्जना गरेको  अनुभवबारे चर्चा गर्नुभयो ।

प्राचार्य डा. मञ्जु दाहालले शिक्षासँग सिपलाई जोड्नका लागि ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्रमा अकुपन्चरबारे विषयमा पढाउँदै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जापानबाट अकुपन्चर विषयमा पढेर फर्किंदा  नेपालमा यसबारे पढेका  विज्ञको निकै अभाव थियो, स्वास्थ्य उपचारका लागि प्रभावकारी अकुपन्चर विधाको नेपालमा पढाइ हुनुपर्ने आवश्यकता देखेपछि सिटिभिटीसँग सम्बन्धन लिएर अकुपन्चरबारे पढाउन थालेको र त्यहाँबाट उत्पादित जनशक्तिले बजारमा सजिलै काम पाएको छ । मेरो कामलाई साहित्य सन्ध्या परिवारले पुरस्कार दिन लायक सम्झेकोमा आफूमाथि अझै जिम्मेवारी थपिएको महसुस भएको छ ।”

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा आयोजित कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक वासुदेव अधिकारीले पुरस्कृत व्यक्तित्व साहित्य सन्ध्या पुरस्कारका लागि छनोट प्रक्रियाबारे चर्चा गर्नुभयो ।

साहित्य सन्ध्या परिवारले विगत ४३ वर्षदेखि  हरेक महिनाको पहिलो शनिबार समसामयिक विषयमा परिचर्चा एवं बहसका साथ कवि गोष्ठी गर्दै आएको छ ।