• १२ साउन २०८१, शनिबार

हुम्डे विमानस्थल अलपत्र

blog

यदुप्रसाद भट्ट

मनाङ, फागुन १२ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले २०६९ सालमा नौ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरेको मनाङको हुम्डे विमानस्थल अलपत्र परेको छ । विकट हिमाली क्षेत्रमा यातायातको भरपर्दो साधनका रूपमा रहेको विमानस्थल सञ्चालनमा नआउँदा हेलिकोप्टरमा लाखौँ रुपियाँ तिरेर बिरामीलाई उपचारका निम्ति लैजानुपर्ने बाध्यताबाट मनाङी मुक्त हुन सकेका छैनन् । 

 कालोपत्रे गरेको केही दिनमै परीक्षण उडान भने भएको थियो तर नियमित उडान हुन सकेन । एकातिर लामो समयदेखि बन्द भएको विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाउँदा गौचरनमा परिणत भएको छ भने सरकारको करोडौँ लगानी खेर गएको छ । परीक्षण उडानपछि पूर्ण रूपमा बन्द रहेको हुम्डे विमानस्थलको छ सय मिटर रहेको धावनमार्ग कालोपत्रे गरिएसँगै बढाएर नौ सय मिटर बनाइएको छ । 

कालोपत्रे हुनुअघि पोखराबाट सातामा दुई दिन नेपाल वायुसेवा निगमले उडान भर्दै आएको थियो । केही वर्ष मात्रै सञ्चालन भएको यस विमानस्थल २०७० सालबाट पूर्ण रूपमा बन्द छ ।  गण्डकी प्रदेश सरकारले पुनः उडान सुरु गर्ने भन्दै परीक्षण उडान गरे पनि नियमित उडान हुन सकेको छैन । तीन हजार ३३० मिटर उचाइमा रहेको हुम्डे विमानस्थलमा २०३९ साल असोजदेखि उडान सुरु गरिएको थियो । 

 विमानस्थल कालोपत्रे गरिए पनि अवतरण गर्नमा भौगोलिक विकटताले गर्दा समस्या रहेको पूर्वप्रदेशमन्त्री तथा प्रदेश सभा सदस्य राजीव गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, “दुरीको हिसाबले तीन हजार रुपियाँ भाडा पर्ने भए पनि एकातर्फी मात्रै उडान भर्नुपर्ने बाध्यता हुम्डेमा देखिन्छ, फर्कंदा यात्रु पाइँदैन अनि भाडा बढाउनुपर्ने अवस्था आउँदा १२ हजारको हाराहारीमा आउँछ । महँगो भाडामा पर्यटक उड्न चाहँदैनन् ।” उहाँले सिङ्गल इन्जिन भएको विमान नेपालमा दुई वटा मात्रै रहेकाले सबैतिर भ्याउन नसक्ने तर्क गर्नुभयो । 

 नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा विमानस्थल निर्माण गर्दा हिमाली क्षेत्रमा न्यूनतम ४५ करोड, पहाडमा ३५ करोड र तराईमा ५० करोड रुपियाँ खर्च गरिएको छ । विमानस्थलमा कति खर्च हुन्छ भन्ने यकिन नभए क्षेत्रफल र घनत्वका आधारमा खर्च निर्धारण हुन्छ । 

 होटल व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले गम्भीर चोटपटक वा रोग लागेर अचानक अस्पतालसम्म पुग्नुपर्ने अवस्थामा भने हेलिकोप्टर मगाउनुपर्ने अवस्था रहेको बताउनुभयो । हिमाली क्षेत्र भएकाले यहाँको हावापानीमा परिवर्तन आइरहने तथा निर्माण भएको विमानस्थल नचल्दा स्वास्थ्यको पहुँचमा पुग्न सकस हुने गरेको स्थानीय बताउँछन् ।  मनाङ बढी पर्यटकको आवतजावत हुने स्थान भएकाले यहाँको विमानस्थल निरन्तर उडान भर्ने उद्देश्यले २०७६ साल भदौ २७ देखि पुनः सञ्चालनमा ल्याइयो । 

गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्रीले यस विमानस्थललाई पुनः सञ्चालनमा ल्याउने जमर्को गर्नुभयो तर निरन्तरता भने पाउन सकेन । यहाँको विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीयका साथै पर्यटकले सास्ती भोग्नु परेको छ । हुम्डे विमानस्थल उच्च स्थानमा रहेकाले अक्सिजनको कमीले लेक लाग्ने बिरामी तथा पर्यटकलाई भने समस्या हुने गरेको छ । अचानक बिरामी वा दुर्घटना भएमा यातायातको समस्या रहेको यस स्थानमा हवाई मार्ग मात्रै वैकल्पिक तथा उपचारको पहुँचमा पुग्ने आधार हो तर लामो समयदेखि यहाँ निर्माण भएको विमानस्थल सञ्चालन हुन नसक्दा समस्या रहेको छ ।