• १४ मंसिर २०८१, शुक्रबार

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने

blog

लुम्बिनीस्थित मायादेवी मन्दिर ।

लक्ष्मण पौडेल

भैरहवा, फागुन ९ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले लुम्बिनीमा तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुन लागेको हो ।

अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ (वाचन) हुने भएको हो । विकास कोषका अनुसार फागुन २०, २१ र २२ गते गरी तीन दिनसम्म त्रिपिटक पाठ हुनेछ । विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले भन्नुभयो, "यसपटकको त्रिपिटक पाठले लुम्बिनीमा विश्वकै ध्यान खिच्नेछ ।"

सदस्यसचिव शाक्यले बौद्ध दर्शनमा त्रिपिटकको विशिष्ट महत्व रहेकाले लुम्बिनीमा हुने यस कार्यक्रमले बुद्ध दर्शन र लुम्बिनीको प्रवर्धननमा टेवा पुर्‍याउने बताउनुभयो । "यसअघि आयोजना भएका तीनवटा त्रिपिटक वाचन भव्य रुपमा सफल भए, एक प्रकारले लुम्बिनीमा विश्वभरका बौद्ध धर्मावलम्बी र बौद्धमार्गीको ध्यान खिचेको थियो", शाक्यले भन्नुभयो, "यसपटक पनि सयौंको सहभागितामा पाठ हुन लागेको हो ।"

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवम् धर्मदेशनाको सङ्ग्रहित ग्रन्थ त्रिपिटक हो । अपिधम्म शुत्त पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी तीन ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ ।

अखिल नेपाल भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोधले अन्तर्राष्ट्रिय समुदायलाई बौद्ध तीर्थस्थल, बौद्ध शिक्षा, साहित्य तथा दर्शन, त्रिपिटकको महत्वबारे जानकारी गराउनुका साथै धार्मिक पर्यटनको प्रचारप्रसारका लागि त्रिपिटक वाचन कार्यक्रम राखिएको बताउनुभयो ।

त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलङ्का, म्यान्मार, थाइल्याण्ड, कोरिया, जापानलगायत एसियाली देशका भिक्षु, धर्मगुरु, अनुयायीको सहभागिता रहनेछ । कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधर्म पिटकको वाचन हुनेछ । सूत्रपिटक अन्तर्गतको दीर्घनिकायको बह्रमजालसूत्र, अभिधर्म पिटक वाचन र विनयपिटक वाचन गरिनेछ । त्रिपिटक वाचनका क्रममा शान्ति पदयात्राको कार्यक्रम समेत राखिएको छ । सर्वसाधारणसमेत सहभागी हुनसक्ने गरी कार्यक्रम आयोजना गरिएको छ ।

त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो । हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भए पनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ ।