• ५ वैशाख २०८१, बुधबार

खगेन्द्र नवजीवन केन्द्रको बेथिति : अपाङ्ग कल्याण कोषबाट पदाधिकारीलाई गाडी

blog

काठमाडौँ, फागुन २ गते । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आश्रित दृष्टिविहीन ५४ वर्षीय न्हुच्छेबहादुर माझी मुटुरोगसँग लडिरहनुभएको छ । दृष्टिविहीन हुँदा झेल्नुपरेको सङ्घर्ष छँदै थियो । त्यसमाथि मुटुको रोग पनि थपिएको छ । 

चिकित्सकले २०७७ सालमै मुटुको भल्भ फेर्नुपर्ने सल्लाह दिए पनि स्वास्थ्यमा सामान्य सुधार आएपछि उहाँ नियमित स्वास्थ्य परीक्षण र औषधी सेवन गरिरहनुभएको छ । २०३६ सालदेखि खगेन्द्र नवजीवन केन्द्रमै रहनुभएका माझीलाई अहिले स्वास्थ्योपचारमा निकै सकस बेहोर्नुपरिरहेको छ । 

दुई वर्षसम्म केन्द्रले गाडीको व्यवस्था गथ्र्यो । अहिले त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आउजाउ गर्न माइक्रोबस प्रयोग गर्नु पर्छ । उहाँले भन्नुभयो, “पहिले कार्यालयकै गाडीमा लाने गरेको थियो । अहिले अध्यक्षले माइक्रोबसमा जानु, गाडी छैन भन्नुहुन्छ । दुई वटा गाडी फेरेर जान साह्रै समस्या हुन्छ ।”

माझी मात्रै होइन, नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिले उपचारका लागि निकै सकस र तनाव झेलिरहनुपरेको गुनासो गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिका लागि बनाइएको अपाङ्ग सहायता कोषका लागि आएको रकम पदाधिकारीलाई महँगो गाडी किन्न खर्च गरिएपछि केन्द्रमा आश्रित नागरिकका लागि एम्बुलेन्स छैन । बा १६ च ६३४ नम्बरको महिन्द्रा स्कोर्पियो गाडी सङ्घका अध्यक्ष र महासचिवले प्रयोग गर्दै आउनुभएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा सङ्घका पदाधिकारीका लागि स्कोर्पियो गाडी खरिद गरिएको छ । सङ्घ परिसरमै रहेको नेपाल अर्थोपेडिक अस्पतालले वार्षिक रूपमा १२ लाख रुपियाँ दिने गरे पनि झन्डै चार वर्षको एकमुष्ट लिएर र अपुग २० लाख रुपियाँ सङ्घकै कर्मचारी उपदान कोषबाट लिएर उक्त गाडी खरिद गरिएको हो । 

सङ्घका तत्कालीन अध्यक्ष मोहन महर्जनले भन्नुभयो, “अर्थोपेडिक अस्पतालले कोषमा जम्मा गर्ने रकम गाडी किन्न चाहिएपछि दिएर स्कोर्पियो कार किनेका हौँ । ५८ लाख रुपियाँमा त्यो गाडी किनिएको हो ।”

उहाँ २०७१ सालदेखि पाँच वर्ष छ महिना सङ्घको अध्यक्ष हुनुहुन्थ्यो । उहाँले सङ्घको कर्मचारी उपदान कोषबाट १० लाख रुपियाँ निकालिएको बताए पनि त्यति बेलाको निर्णयमा २० लाख रुपियाँ निकासा भएको कागजातमा देखिएको छ । उक्त रकम हालसम्म पनि शोधभर्ना गरिएको छैन । 

धेरै भएकाले आफूले बिर्सेको बताउँदै केन्द्रका तत्कालीन अध्यक्ष महर्जनले भन्नुभयो, “केन्द्रका आश्रितका लागि एम्बुलेन्स आफ्नै अस्पतालको छ । हाडजोर्नीसँग सम्बन्धित रोगको उपचार त्यहीँ हुन्छ । हामीलाई बाहिर जान गाडी चाहियो । त्यसैले किनेका थियौँ ।” 

गैरनाफामूलक रूपमा प्रयोग गर्ने गरी कोष खडा गर्न र अपाङ्गता भएका र अशक्त व्यक्तिका लागि आएको अनुदानकै रकम दुरुपयोग गरी महँगो सवारीसाधन (स्कोर्पियो) खरिद गरिएको छ । 

उक्त गाडी सङ्घका अध्यक्ष साम्देन लामा र महासचिव शिवचन्द्र साहले प्रयोग गरिरहनुभएको छ । अपाङ्गता भएका व्यक्तिले बिरामी भएर अस्पताल जाँदा व्यक्तिगत खर्चमै अपाङ्गतामैत्री व्यवस्था नभएका सार्वजनिक यातायातमा जानुपर्ने बाध्यता छ । 

अध्यक्ष लामाले सबैलाई गाडी दिएर सम्भव नहुने जिकिर गर्दै भन्नुभयो, “मलाई केही थाहा छैन, म चढ्छु मात्रै । वास्तै गरेको छैन । व्यस्त छु, बुझेर खबर गर्छु । अध्यक्ष भएर मैले केही गरेकै छैन ।”

अध्यक्ष लामाले साह्रै अशक्त बिरामीलाई अर्थोपेडिक अस्पतालकै एम्बुलेन्समा लाने ल्याउने गरेको दाबी गर्नुभयो । उहाँले यस्तो दाबी गरिरहँदा केन्द्रमा आश्रित दृष्टिविहीन माझीसहित धेरैलाई एम्बुलेन्सको पहुँच उपलब्ध छैन । 

माझीले भन्नुभयो, “निकै गाह्रो नभई एम्बुलेन्स छुन पनि पाइँदैन । हामी समस्यामा छौँ ।” अध्यक्ष लामाले अर्थोपेडिक अस्पतालकै एम्बुलेन्समा बिरामी पठाउने गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पतालकै एम्बुलेन्स प्रयोग हुन्छ, हामीलाई त चाहियो नि, यत्रो काम गर्छौं ।”