• १२ साउन २०८१, शनिबार

गाउँपालिका पुग्न एक दिनको यात्रा

blog

बैतडी समाचारदाता 

बैतडी, फागुन १ गते । सिगास गाउँपालिका–१ का स्थानीयवासीलाई जिल्ला सदरमुकाम पुग्न तीन घण्टा लाग्छ तर आफ्नै गाउँपालिका केन्द्र पुग्न भने एक दिन लाग्ने गरेको छ । गाउँपालिका केन्द्र जाने सडक नहुँदा सिगास गाउँपालिकाका–१ का दाब, बल्लेकाना, जुकेपानी, सुङ्रखाल, बेसरा, अङ्डेगाडा, भौनी, गोलेधार, खन्तड, विन्द्रावन, दुदिलाखान, टकरे, डोबा, माणैं, गिवाडी खोला, बजकोट, इरानालगायतका गाउँका स्थानीयलाई पालिका केन्द्रमा सेवा लिन एक दिन पैदल हिँड्नुपर्ने बाध्यता छ ।  

उक्त वडालार्ई बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्गको पक्की सडकले छोएको छ । वडालाई पक्की सडकले छोएका छिमेकी पालिका पाटन पुग्न डेढ घण्टामा लाग्छ भने सदरमुकाम पुग्न तीन घण्टा लाग्ने गरेको छ । वडालाई पक्की सडकले छोए पनि यहाँबाट गाउँपालिका केन्द्र गर्जे जान सडक नहुँदा यस्तो समस्या देखिएको हो । 

स्थानीय तहको पुनर्संरचनापछि लगातार छ वर्षसम्म एक दिनको पैदल बाटो हिँड्नु पर्दा सिगास–१ का स्थानीयवासी असन्तुष्ट बनेको वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । पालिका जाने सडक नहुँदा स्थानीयले सडकका लागि आन्दोलन गरिरहेको उहाँले बताउनुभयो । वडाध्यक्ष ऐरीले भन्नुभयो, “स्थानीय तहको पुनर्संरचना भएको सात वर्ष बितिसक्यो, हामीले झोलामा सातुसामल बोकेर एक दिन पैदल हिँडेर गाउँपालिक जानु परेको छ । संरक्षित वनमा पर्ने दुई वटा सामुदायिक वनले सडक खन्न दिएको छैन । अब कि त हामीलाई सडक सुविधा चाहियो, कि त नजिकको पाटन नगरपालिकामा गाभिदिनु पर्‍यो ।” सडकका लागि स्थानीयले आन्दोलन गरेपछि स्थालगत अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । स्थलगत अनुगमन गरेर प्राविधिक टोली गठन गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो, “गाउँपालिका केन्द्रसम्म सडक लैजाने कुरामा वनको विवाद देखिएको छ । सिगास–१ को दुदिलाखानबाट गाँजरी बजारबाट एक थरीले कुर्चेनेटा सडक र अर्कोले धौलाडी सडकको माग गरेको देखिएको छ । 

“कुर्चेनेटा सडक र गाँजरीबाट १२ किलोमिटर धौलाडीको काठासम्म खनिएको सडकको अनुगमन गरेका छौँ,” उहाँले भन्नुभयो । गाउँपालिका केन्द्र जाने सडक धौलाडीको काठासम्म निर्माण भएकाले सोही सडकलाई प्राथमिकता दिनुपर्ने स्थानीय गोपालसिंह धामीले बताउनुभयो । स्थानीय सामुदायिक वनका अध्यक्षसमेत रहनुभएका धामीले कुर्चेनेटाबाट सडक खने वन क्षेत्र मासिएर पानीका मुहान सुक्ने बताउनुभयो । सरकारले घोषणा गरेको संरक्षित वनमा ६५ भन्दा बढी बहुमूल्य जडीबुटी रहेकाले सडक निर्माण भएमा असर पर्ने उहाँले दाबी गर्नुभयो । 

धौलाडीबाट अघि बढेको सडक भिरका कारण अघि बढाउन नसकिने सिगास गाउँपालिका–६ का वडाध्यक्ष एवं सडक वार्ता समितिका संयोजक तेजबहादुर साउदले बताउनुभयो । डिभिजन वन कार्यालयका अधिकृत हेम सहनीले संरक्षित वन क्षेत्रमा महत्वपूर्ण जडीबुटी भएकाले सडक निर्माण गर्न नपाइने बताउनुभयो । संरक्षित वनमा सडक निर्माण रोक्न स्थानीय उपभोक्ताले निवेदन दिएको जानकारी उहाँले दिनुभयो ।