• ४ मंसिर २०८२, बिहिबार

बालबालिकालाई अनलाइन हिं‌साबाट जोगाउन डिजिटल सुरक्षा

blog

काठमाडौँ, मङ्सिर ५ गते । बालबालिकालाई अनलाइन हिंसाबाट जोगाउन डिजिटल सुरक्षामा ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन्। 

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को संयोजनमा कन्सोर्टियम नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च र जागृति बाल तथा युवा सरोकार नेपालको सहकार्यमा आयोजना गरिएको ‘बालबालिकाको विद्यामान अवस्था र हाम्रो दायित्व’ विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरूले त्यस्तो बताएका हुन्। 

‘मेरो दिन मेरो अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘बालबालिकाको लागि लगानी सुनिश्चित भविष्यकी थालनीु भन्ने राष्ट्रिय नारासहित नोभेम्बर २५ का दिन (आज) अन्तर्राष्ट्रिय बाल अधिकार दिवस–२०२५ मनाइँदै छ। सोही अवसरमा बुधबार बेलुकी आयोजना गरिएको जुम छलफलमा बोल्ने वक्ताहरूले पारिवारिक विचलनको असर पनि बालबालिकामा पर्न गएको बताएका थिए। 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव गीता दाहालले बाल अधिकारको संरक्षण र संवर्द्धन तथा बालअधिकार अनुगमनमा आयोग प्रतिबद्ध रहेको बताउनुभएको थियो। त्यसैगरी गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले बालअधिकार संरक्षण समग्र नागरिक संघसंस्थाको मुख्य एजेन्डा भएको हुनाले यो विषयमा संवेदनशील भएको बताउँदै बालबालिकाको सुरक्षामा ध्यान दिन सरकारलाई अपिल गर्नुभएको थियो।

आशुतोष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कन्सोर्टियम नेपालका अध्यक्ष प्रदीप लामिछानेले गर्नुभएको थियो। कार्यक्रममा संस्थाको तर्फबाट बोल्दै सेभ द चिल्ड्रेनका अर्जुन थापाले बालअधिकारको विषय सबैको साझा विषय भएको हुनाले उनीहरूको संरक्षण र संवर्द्धनमा तिनै तहको सरकार र नागरिक संघसंस्था र निजी क्षेत्र मिलेर अगाडि बढ्न जरुरी भएको बताउनुभएको थियो।

 कार्यक्रममा विद्यमान परिस्थितिमा बालबालिकाको अवस्था र हाम्रो दायित्वको विषयमा केन्द्रीय बाल कल्याण समितिका पूर्व कार्यकारी निर्देशक तथा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका पूर्व अध्यक्ष तारक धितालले प्रस्तुतिकरण गर्नुभएको थियो।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान(सिजप) तथा जागृति बाल तथा युवा सरकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले विद्यालय र बालबालिका शान्ति क्षेत्र भएकाले कुनैपनि बहानामा बालबालिकाको अधिकार हनन हुन नहुने कुरामा जोड दिँदै बालबालिकामा लगानी वृद्धि गर्न बाल संरक्षण प्रणालीलाई व्यवस्थित गर्न बालमैत्री, पोषणमैत्री, लैङ्गिकमैत्री जस्ता शासनलाई प्रवर्द्धन गर्दै बालबालिकामा लगानी वृद्धि गर्ने कुरामा जोड दिनुभएको थियो। 

राष्ट्रिय बालअधिकार परिषद्का सदस्य(सचिव इन्द्रादेवी ढकालले निराशा नभएर आशा जगाउनुपर्ने भन्दै अहिले भइरहेको लगानी पर्याप्त नभएको बताउनुभएको थियो। 

कार्यक्रमका सहभागीले बालबालिकाको डिम्ब निकाल्ने नाममा हिंसा भएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताउँदै पछिल्ला घटनाक्रमले बालबालिकाको शिक्षा र दैनिकीमा असर परेको बताएका थिए। 

कार्यक्रममा शालिग्राम पाण्डे, लीला भुजेल, रामकृष्ण रोय, प्रमिल जयर, पिंकी सिंह राणालगायतले बालबालिकाको विभिन्न राजनीतिक दलको प्रचारप्रसार, आन्दोलन तथा निर्वाचनमा बालबालिका प्रयोग हुनसक्ने घटनामा समेत हुनुपर्ने बताएका थिए। उक्त कार्यक्रम विभिन्न ५० जिल्लाका ११४ जनाको सहभागितामा जुमको माध्यमबाट सम्पन्न भएको छ।