काठमाडौँ, मङ्सिर ४ गते । नेपाली फुटबलको कमजोर संरचना र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारकिो खिचातानीका कारण नेपालको फिफा वरीयता खस्कने क्रम जारी छ ।
विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान खस्किएर एक सय ८२औँ स्थानमा पुगेको छ ।
नेपालले अन्तर्राष्ट्रिय फुटबलमा गरेको कमजोर प्रदर्शनका कारण वरीयता खस्किएको हो । नेपाल मङ्गलबार मात्र एएफसी एसियन कप छनोट खेलमा मलेसियासँग १–० गोलले पराजित भएको थियो ।
दक्षिण एसियाली देशको भारत शीर्षस्थानमा छ । ६ स्थान खस्किए पनि भारत समग्रमा एक सय ४२औँ स्थानमा छ । यस्तै माल्दिभ्स एक सय ७३औँ, बङ्गलादेश एक सय ८०औँ, भुटान एक सय ९२औँ, श्रीलङ्का एक सय ९४औँ र पाकिस्तान एक सय ९९औँ स्थानमा छ ।
यस्तै विश्व वरीयताको शीर्षस्थानमा स्पेन छ । अर्जेन्टिना, फ्रान्स, इङ्ल्यान्ड, ब्राजिल, पोर्चुगल, नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र क्रोएसिया शीर्ष १० मा अटाएका छन् ।