हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर ४ गते । उपल्लो मुस्ताङ लोघेकर दामोदरकुण्ड गाउँपालिका–५, ध्येगाउँका छिरिङ ढुक्के गुरूङ जलवायु परिवर्तनले पानीको मुहान सुकेपछि बसाइसराइ गर्नुभयो ।
कृषि र च्याङग्रा पालन पेसामा सक्रिय गुरूङजस्तै झवाङ वाङचुक, डिन्डु गुरुङ लगायत २८ घर परिवारले थाङचुङमा बसाइसराइ गरेका छन् । कृषि र पशुपालनमा निर्भर जलवायु परिवर्तनका परम्परागत मुहान सुकेर सिँचाइका लागि आवश्यक पानी नभएपछि कृषिमा निर्भर ध्येगाउँका बासिन्दाले आन्तरिक बसाइसराइ गर्न बाध्य भएका हुन् ।
हाल ६ परिवारले पानीको स्रोत खोज्दै आफ्नो व्यवसायलाई निरन्तरता दिन थाङचुङमा बसाइसराइ गरेको स्थानीय डिन्डु गुरूङले बताउनुभयो । गुरूङले भन्नुभयो, ‘‘खानेपानी र सिँचाइको अभावले गाउँ छोड्नपर्छ, जलवायु परिवर्तनले गाउँलेलाई उठिबास लगायो ।’’
हिउँदमा हिउँ नपर्ने र बर्खामा धेरै पानी पर्ने समस्या रहेको गुरूङको भनाइ छ । पर्याप्त खेती योग्य जमिन भए पनि सिँचाइ कुलोमा बग्ने पानी सुकेपछि खेती योग्य जमिन बाँझो रहेको छ ।
समुद्री सतहदेखि ४ हजार मिटर उचाइँमा रहेको ध्येगाउँ साविक सुर्खाङ गाविस–९ मा पर्छ । यस क्षेत्रमा करिब डेढ दशकदेखि स्थानीयले खानेपानीको समस्या भोग्दै आएका थिए । हाल बर्खाको समयमा आफ्नो पूरानो घरजग्गामा रहेको ध्ये गाउँमा पशुचौपायासहित गोठमा जाने गरेका छन् । तत्कालीन समयमा जिल्ला विकास समितिमार्फत गाविसको पहलमा बस्ती स्थानान्तरण गरिएकोमा आर्थिक अभावका कारण सरकारी र दातृ निकायको सहयोगमा नयाँ बस्तीमा बनाइएको पासाङ गुरूङले बताउनुभयो ।
वडाध्यक्ष गुरूङ भन्नुहुन्छ, ‘‘जलवायु परिवर्तनले बस्ती छोड्न परेको छ, पीडितलाई क्षर्तीपूर्ति माग्दामाग्दै वर्षौ बितिसक्यो ।’’ विसं. २०६४ सालदेखि गाउँ छोडेका स्थानीयलाई करिब ५ सय रोपनी क्षेत्रफलमा बस्ती विस्तार गरिएको थियो । स्थानीयलाई स्याउलगायत अन्य फलफूल खेती, पशुचौपायाका लागि चरन क्षेत्रका लागि समेत पर्याप्त जमिन रहेकाले नयाँ बस्तीमा रमाइरहेको वडाध्यक्ष गुरूङको भनाइ छ ।

३ हजार ७ सय मिटर उचाइमा नदी किनारमा रहेको थाङचुङ बस्तीमा आवश्यक पर्ने पूर्वाधारसहितका संरचनाका लागि वडामार्फत बर्सेनि बजेट विनियोजन समेत हुने गरेको छ । पाँच सय ७४ वर्ग किलोमिटरमा रहेको यस वडामा ताङ्ग्या, धेखोला गाउँ र पुरानो धेगाउँमा कुल ५० घरधुरी रहेको छ ।
पछिल्लो समय मुस्ताङमा नियमित वर्षा हुने, उपल्लो मुस्ताङ क्षेत्रका बाढी पहिरोको समेत प्रकोपका साथै जल, जमिन, जङ्गल र हावाले असर गर्ने गरेको छ । जलवायु परिवर्तनका कारण मुस्ताङले भोगेको पीडा सुनाउन विभिन्न कार्यक्रम गरिए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासो देखाउने गरिएको छैन ।