• १२ साउन २०८१, शनिबार

पुनः सञ्चालनमा पिरामिड प्रयोगशाला

blog

काठमाडौँ, माघ २९ गते । सगरमाथाको फेदीमा एघार वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालन हुने भएको छ । बजेट अभावमा सन् २०१३ देखि बन्द रहेको प्रयोगशाला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान कूटनीतिको अवधारणा जागृत गर्दै बहुउपयोगी ढाँचामा पुनः सञ्चालन गर्न लागेको हो । 

केटु केन्द्रित अध्ययन अघि बढाउन बनेको सहमति र सिएनआरले बजेट दिने प्रतिबद्धता आएसँगै पिरामिड प्रयोगशालाको प्रयोग सुनिश्चित भएको हो । नेपाललाई विशिष्ट वैज्ञानिक अध्ययनको केन्द्र बनाउन प्रयोगशालाको सदुपयोगी रणनीतिको खाका बनिसकेको नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “उताबाट बजेट आउनेवित्तिकै अध्ययन अनुसन्धानको नयाँ बाटो खुल्छ ।” जसका लागि नास्टले सिएनआरसँगको सम्झौता पनि नवीकरण गरेर स्वामित्व लिएको छ । 

यो प्रयोगशाला सन् १९९० सर्वोच्च शिखर सगरमाथा र दोस्रो सर्वोच्च शिखर पाकिस्तानको केटु हिमालका नाममा एभरेस्ट–केटु–इटालियन राष्ट्रिय अनुसन्धान परिषद् (सिएनआर) परियोजना अन्तर्गत स्थापना भएको थियो । सोलुखुम्बुस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको लोम्बुचेमा स्थापना भएको प्रयोगशाला मातहतका अध्ययन अनुसन्धान बन्द हुँदा सगरमाथाबारे विश्वकै वैज्ञानिक गतिविधि ठप्प बनेको थियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालित प्रयोगशालाका लागि सन् २०१३ देखि बजेट आउन बन्द भएपछि यस अन्तर्गत हुने अध्ययन अनुसन्धानको गतिविधि ठप्प बनेको थियो । त्यसबेला सगरमाथाभन्दा केटु हिमाल अग्लो भन्ने भ्रम चिर्नकै लागि पनि विश्वकै उच्च हिमाली भेगमा प्रयोगशाला बनाएर रेकर्ड राखिएको थियो ।  

साथै नास्टको पहलमा सरकारले आफैँ स्वामित्व लिएर भविष्यका लागि समेत फलदायी हुने गरी पिरामिड प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको नास्ट सचिव ढकालले औँल्याउनुभयो । नयाँ सम्झौता अनुसार आगामी दिनमा अन्य मुलुकले पनि प्रयोगशालाका लागि आवश्यक बजेट दिन सक्ने छन् । त्यस्तै सम्झौताले अध्ययन गरेका वैज्ञानिकले पत्ता लगाएका तथ्य फर्कने बेलामा नेपालमै सार्वजनिक गरेर र नास्टलाई बुझाएर जानुपर्ने सुनिश्चिता गरेको छ । 

वैज्ञानिक आर्थिक विकासका लागि उच्च धरातलीय अनुसन्धानको महìव बढिरहेकाले पिरामिड प्रयोगशाला सहयोगी साबित हुने नास्टको दाबी छ । देशलाई फाइदा हुने गरी सञ्चालनका लागि थप बजेट उपलब्ध गराउन सरकारको ध्यानाकर्षण हुनै पर्ने नास्टका वैज्ञानिक बताउनु हुन्छ । 

सरकारले नीतिगत रूपमै उच्च धरातलीय अध्ययनलाई प्राथमिकता दिएको छ । विश्वका १४ वटा उच्च हिमालमध्ये आठ वटा नेपालमा छन् । सोही तथ्यका आधारमा इटली सरकारले मित्र राष्ट्रसँग द्विपक्षीय तथा बहुपक्षीय विज्ञान कूटनीतिक पहल गर्नुपर्ने वैज्ञानिकहरूले सुझाव दिनुभएको छ । प्रयोगशालामा अध्ययन गर्न इटालीबाट १९ र नेपालका १४ गरी ३३ वटा प्रस्ताव आइसकेका छन् । 

समन्वयकारी रूपमा ती अध्ययन गराइने नास्टका वैज्ञानिक डा. मदनलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुषुप्त बसेको प्रयोगशालामार्फत अध्ययन सुचारु हुने खबरले विदेशका वैज्ञानिकले खुसी व्यक्त गरेका छन् ।”

परियोजनाले नेपालका वैज्ञानिकको क्षमता अभिवृद्धि गर्न स्नताकोत्तर र विद्यावारिधि अध्ययनमा पनि सघाउने छ । उच्च धरातलीय क्षेत्रको अनुभव सिएनआरसँग बढी भएकाले उससँगको सहकार्य जारी राख्दै पिरामिड प्रयोगशाला सुचारु गर्ने बहुआयामिक ढोका खोल्ने रणनीति निर्माण गर्न नास्टले गृहकार्य गरिरहेको छ ।

सगरमाथादेखि तल करिब पाँच हजार ५० मिटरको उचाइमा नेपालको पुमोरी हिमाल जस्तै देखिने पिरामिड आकारमा यो प्रयोगशाला बनेको छ । प्रयोगशालाको पिरामिड शैलीको छानाभिर जडान गरिएका पाताबाट उत्पादित सौर्य ऊर्जाबाटै सबै प्राविधिक उपकरण सञ्चालन गरिएको छ । उच्च भूभागमा रहेको क्षेत्रमा दिनदिनै ढोका खोलेर चलाउन सकिने प्रयोगशाला बनाउन नसकिने भएकाले पनि बन्द ढाँचामा यसको काम हुने गरेको उहाँ बताउनुहुन्छ । 

प्रयोगशालाभित्र स्थायी मौसम स्टेसन, जमिनमा हुने गतिविधि पत्ता लगाउने जिएनएस प्रणाली र भूकम्पीय हलचल पत्ता लगाउन भूकम्प अध्ययन केन्द्र राखिएको छ । जुन अन्य गतिविधि बन्द हुँदा पनि निरन्तर चलिरहेका छन् । तीनतले प्रयोगशालाको एक पटकमा २० जनाभन्दा बढी वैज्ञानिक बसेर अध्ययन गर्न सक्ने क्षमता छ । 

यस प्रयोगशालामार्फत सन् २०१३ भित्र विश्वका एक हजार जना वैज्ञानिकले पाँच सयभन्दा बढी अध्ययन गरेर तथ्य सार्वजनिक गरेका छन् । नास्टका सचिव ढकालका अनुसार पिरामिडको भौतिक संरचनालाई बाहिरी तहबाटै सुधार गरेर बलियो बनाउँदै वातावरणीय प्रभावसमेत कम पार्ने गरी पुनः निर्माण गरिने छ ।