• १२ साउन २०८१, शनिबार

सहयोगी संस्था गएदेखि पढ्न नपाएका सन्देश र रमेश

blog

सहयात्रा परियोजना सकिएसँगै पढ्नबाट वञ्चित तिलागुफा-७ का सन्देश र रमेश ।

प्रेमराज सिम्खडा  

कालीकोट, माघ २८ गते । कालीकोटको तिलागुफा नगरपालिका-७ का छिता शाहीका दुवै छोरा जन्मजात अपाङ्ग छन् । राम्रोसँग बोल्न र हिँड्न पनि नसक्ने उहाँका दुई छोरा रमेश शाही र सन्देश शाहीले विद्यालय देख्ने त कुरै भएन । 

पढ्नबाट वञ्चित सन्देशका दाजुभाइलाई कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल कालीकोटद्वारा सञ्चालित सहयात्रा परियोजनाले घरमै शिक्षक राखेर पढाइरहेको थियो । तर संस्थाको कार्यक्रम सकिएसँगै रमेश र सन्देशको पढ्ने अधिकार पनि सकिएको छ । 

सहयात्रा परियोजनाले सुरुवात गर्ने र अपाङ्गता भएका बालबालिकाको पढाइलाई स्थानीय सरकारले निरन्तरता दिने भनिएको थियो । तर स्थानीय सरकारले अपाङ्गता भएका बालबालिकाको पढाइमा ध्यान नदिँदा सन्देश र रमेश जस्तो सयौँ बालबालिका कखरा पढ्नबाट वञ्चित भएका छन् । 

किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले आफ्नो कार्यक्रम केही समयका लागि मात्र भएकाले यसको सबै जिम्मेवारी स्थानीय सरकारलाई दिन खोजेपनि सफल नभएको बताउनुभयो । सुरुवाती गर्दा हामीले स्थानीय सरकारसँग सल्लाह गरेका थियौँ, सुरुवात हामी गर्छौँ, हामी हुँदासम्म बालबालिकालाई पढाउने शिक्षकको तलब सबै हामीबाट हुन्छ, हाम्रो कार्यक्रम सकिएपछि स्थानीय सरकारले जिम्मा लिनुपर्छ भन्ने थियो । 

तर हाम्रो काम गर्ने अवधि सकिएपछि स्थानीय सरकारले चासो नदिएका कारणले अपाङ्गता भएका बालबालिकालाई पढाई निरन्तरता दिन नसकिएको बताउनुभयो । सहयात्रा परियोजनाले आधारभूत विद्यालयको पढाइमा सहयोग पुगाउन अतिरिक्त कक्षा पनि सञ्चालन गदै आएको थियो । कालिका माध्यमिक विद्यालय राँचुलीमा कक्षा एकदेखि पाँच सम्म पढ्न विद्यार्थीका लागि बिहान र बेलका गरेर दुई समय थप कक्षा सञ्चालन गर्दै आएको भएपनि अहिले भने बन्द भएका छन् । 

विद्यालयका प्रअ खगेन्द्रबहादुर शाहीले किर्डाकले बजेट दिने भएकाले अतिरिक्त कक्षा सञ्चालनका लागि शिक्षकलाई जिम्मा दिएका थियौँ । अहिले न स्थानीय सरकारले केही व्यवस्था गरेन, विद्यालयमा पनि श्रोत नभएकाले आधा सिकेका बालबालिकाको पढाई रोकिएको सुनाउनुभयो । प्रअ शाहीले पढाइमा राम्रो विकास भइरहेको थियो । तर निरन्तरता नभएकाले फेरी पुरानै अवस्था सृजना हुने हुँदा स्थानीय सरकारले यसमा चासो दिनुपर्ने बताउनुभयो । 

तिलागुफा नगरपालिकासँगै शुभकालिका गाउँपालिका लगायत स्थानीय तहमा अहिले (होम स्कुल) घरमै सञ्चालित विद्यालयमा पढ्ने बालबालिकाले पढ्न पाएका छैनन् । तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले अपाङ्गता भएका बालबालिकाको पढाइलाई निरन्तरता दिने बिषयमा शिक्षा शाखालाई प्रस्ताव ल्याउन भनेको र अब आगामी आर्थिक वर्षवाट निरन्तरता दिने प्रतिक्रिया दिनुभयो । गैरसरकरी संस्थाले सुरु गरेका राम्रो अभ्यासहरू स्थानीय सरकारले निरन्तरता नदिँदा प्रतिफल शून्य हुँदै गएका छन् ।