• २२ वैशाख २०८१, शनिबार

रङ्गीन काउलीप्रति किसानको आकर्षण: नेपालमा छैन अनुसन्धान

blog

काठमाडौँ, माघ २५ गते । सिराहाको लहानका किसान रतन साह रङ्गीन काउली बेच्दा उपभोक्ताको चित्त बुझाउनमै हैरान हुनुहुन्छ । उहाँले आफ्नो पाँच धुर बारीमा लगाउनुभएको रङ्गीन काउली लहान बजारमा बेच्न लैजाँदा हेर्नेको भिड हुन्छ भने खरिद गर्न उपभोक्ता हिचकिचाउने गरेका छन् । 

कसैले स्प्रे गरेर रङ्गीन गरेको भनेका हुन्छन् भने कसैले रङ लगाएर यस्तो बनाइएको आशङ्का गर्छन् । कतिपयले त धारामा लगेर काउली धुन पनि लगाएका छन् । सबै जाँच गरेपछि मात्र उपभोक्ताले रङ्गीन काउली किनेको अनुभव साहसँग छ ।  

उहाँले अनलाइनमार्फत भारतको महाराष्ट्रबाट ‘भेलेनटेना’ र ‘कारोटेना’ जातको रङ्गीन काउलीको बिउ मगाएर रोप्नुभएको थियो । राम्रोसँग स्यहारसुसार गर्दा पहेँलो र बैजनी रङको काउलीको  उत्पादन राम्रै भए पनि बेच्न भने मुस्किल भइरहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “उपभोक्ताले विभिन्न शङ्का गर्दै ओल्टाइपल्टाई हेर्छन् अनि चित्त बुझेपछि मात्र खरिद गर्छन् ।” उपभोक्ताले बिस्तारै बुझ्दै गएपछि भने बिक्रीमा सहज हुँदै गएको छ । आगामी वर्ष थप आठ कट्ठा क्षेत्रफलमा रङ्गीन काउली खेती गर्ने साहले बताउनुभयो ।


उपभोक्ताले दुई सयदेखि २५० रुपियाँ प्रतिकेजीका दरले काउली खरिद गरेको उहाँको भनाइ छ । स्वाद थाहा पाइसकेपछि पुनः खरिद गर्न आएको पनि भेटिएको उहाँले बताउनुभयो । बजारीकरणमा ध्यान दिए रङ्गीन काउलीको सम्भावना देखेको साहले बताउनुभयो । 

यो काउलीको बिउ महँगो भएकाले मूल्य पनि यस्तो राखेको उहाँले बताउनुभयो । “एउटा बिउको १४ रुपियाँ पर्छ । लोकल सेतो काउलीको एउटा बिउको आठ/नौ रुपियाँ मात्र पर्छ । सेतो काउलीभन्दा यो काउलीको स्वाद फरक हुनुका साथै प्रोटिन पनि उच्च हुन्छ । उत्पादन गर्ने विधि भने एउटै हो,” उहाँले भन्नुभयो । 

वैदेशिक रोजगारीका क्रममा साउदी गएका बेला यो काउलीका बारेमा थाहा पाएको बताउँदै साहले भन्नुभयो, “नेपाल आएपछि यसको बिउ खोज्दा पाइनँ । त्यसपछि अनलाइनमार्फत भारतको महाराष्ट्रबाट मगाएर लगाएको हुँ ।”

भोजपुरको साल्पासिलिछो गाउँपालिकाका सुरेन्द्र तामाङले पनि आफ्नो बारीमा रङ्गीन काउली लगाउनुभएको छ । उहाँले पनि वैदेशिक रोजगारीमा गएका बेला यो काउलीका बारेमा थाहा पाएको बताउनुभयो । एक साथीबाट पाएको रङ्गीन काउलीको बिउबाट उहाँले यही वर्षदेखि उत्पादन थाल्नुभएको छ । रङ्गीन काउलीका लागि बजार भने अभाव रहेको उहाँले बताउनुभयो । 

नेपालमा रङ्गीन काउलीका बारेमा हालसम्म कुनै अनुसन्धान नभएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी अध्यक्ष डा. ध्रुवराज भट्टराईले बताउनुभयो । “अरू काउलीभन्दा रङ्गीन काउलीमा पोषक तत्व बढी हुन्छ । यसमा ‘एन्टिओक्साइडेन्ट’ पनि उच्च हुन्छ,” उहाँले भन्नुभयो, “रङ्गीन काउली क्यान्सरका बिरामीका लागि निकै उपयोगी हुन्छ ।” ठुला तारे होटलमा कहिलेकाहीँ यस्तो काउली देखिन्छ तर बजारमा भने भेटिँदैन । कतिपय देशमा यसको उत्पादन र बजार राम्रो रहेको आफूले पाएको उहाँले बताउनुभयो । 


राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत नवीनगोपाल प्रधानले पनि नेपालमा रङ्गीन काउलीबारे कुनै अध्ययन अनुसन्धान नभएको बताउनुभयो । “धेरैपहिले जर्मनीबाट एक विदेशीले बिउ ल्याएर दिएका थिए । त्यसलाई फार्ममा लगाए पनि हाइब्रिड भएकाले बिउ बनाउन सकिएन,” उहाँले भन्नुभयो । त्यसपछि यसबारे कुनै अध्ययन अनुसन्धान नभएको उहाँले बताउनुभयो । 

नेपालको हावापानीमा रङ्गीन काउली राम्रोसँग उत्पादन गर्न सकिने तर उपभोक्ताले रुचाउँछन् कि रुचाउँदैनन् भन्नेमा आशङ्का रहेको उहाँले बताउनुभयो । काउलीमै पिएचडी गरिरहेका अधिकृत प्रधानले अहिलेसम्म उपभोक्ताले सेतो काउली नै खोजी खोजी खाने भएकाले रङ्गीन काउली रुचाउँछन् कि रुचाउँदैनन् भनी ‘मार्केट ट्राई’ नै गर्नुपर्ने बताउनुभयो । 

अनुसन्धान केन्द्रका प्रमुख अमर पुनले पनि रङ्गीन काउलीबारे कुनै अध्ययन नभएको बताउनुभयो । हालै सुपरी अर्ली जातका काउली, तराई १, २ गरी तीन वटा काउलीको अनुसन्धान भएको तर रङ्गीन काउलीका लागि स्रोत नै नभेट्टाएपछि अनुसन्धानतिर ध्यान नगएको उहाँले बताउनुभयो । हाल नेपालमा ३५ जातका काउली सिफारिस भएका छन् । तीमध्ये सबैभन्दा बढी ‘खुमल ज्यापू’ र ‘काठमाडौँ लोकल’ चलेका छन् ।