काठमाडौँ, असोज २७ गते । सञ्चार तथा सूचनामन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिहरूसँगको छलफलमा उहाँले फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी गरिरहेको भन्दै निर्वाचनको वातावरणका निम्ति भूमिका खेल्न आग्रह गर्नुभएको हो ।
“निर्वाचन निर्धारित समयमै हुन्छ, त्यसको वातावरण बनाउन तपाईं मिडियाकर्मीले भूमिका खेलिदिनुुस्”, सञ्चारमन्त्री खरेलले भन्नुभयो,“मुलुकलाई अगाडि बढाउनका लागि निर्वाचनको अर्को विकल्प छैन ।”
मन्त्री खरेलले निर्वाचनको सम्पूर्ण तयारी भइरहेको र राजनीतिक दलहरू पनि निर्वाचनका लागि प्रतिबद्ध रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुुभयो, “निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरू पनि जिम्मेवार भएर लाग्नुुपर्छ, त्यसको व्यवस्थापकीय पाटोमा सरकारले कुनै कसुर बाँकी राख्दैन ।”
सञ्चारमन्त्री खरेलले राजनीतिक दल र जेनजी समूहलाई संवादमा ल्याएर संवादहीनताको अन्त्य भएको भन्दै यसले निर्वाचनको वातावरण बनिरहेको उल्लेख गर्नुभयो ।
मन्त्री खरेलले निर्वाचन सफल गराई मुलुकमा सुशासन प्रवर्धन, पुनःनिर्माण विकास सरकारको मूल दायित्व भएको बताउनुुभयो । उहाँले जेनजी आन्दोलनको जगमा बनेको सरकारप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको समर्थन रहेको स्पष्ट पार्नुभयो ।
छलफलमा सहभागीहरूले निर्वाचनमार्फत मुलुकमा पद्दत्ति र प्रणाली स्थापित गर्दै देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउन सुझाव दिनुभयो । साथै उहाँहरूले निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरूसँगको संवादलाई निरन्तरता दिनुपर्ने, सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाईनुपर्नेमा जोड दिनुभयो ।