• १८ असार २०८१, मङ्गलबार

हिउँ नपर्दा घाँसकै समस्या

blog

यदुप्रसाद भट्ट

मनाङ, माघ २२ गते । मलका रूपमा लिइने हिउँ नपर्दा मनाङका किसान चिन्तित बनेका छन् । एकातिर समयमै हिउँ नपर्दा सिँचाइको समस्या भएर स्याउको बोट सार्न समस्या हुने, फूल नलाग्ने, रोग र किराको सङ्क्रमण बढ्ने, दाना राम्रो नहुनेजस्ता समस्या देखा परेको छ भने अर्कोतिर पशुचौपायाका लागि घाँस उपलब्ध नहुँदा किसान चिन्तित बनेका हुन् । 

विगतको तुलनामा यसपालि मनाङको माथिल्लो भेगमा हल्का मात्र हिमपात भयो । तल्लो भेगमा अहिलेसम्म हिमपात हुन सकेको छैन । जसले गर्दा राम्रोसँग घाँस पलाउने तथा बालीनाली, फलफूलका लागि सिँचाइ हुने अवस्था नरहेको स्थानीयले बताएका छन् । ८४ वर्षीय चौँरीपालक किसान याङ्डु गुरुङले तल्लो भेगमा हिउँ नपर्दा आफ्ना तीन दर्जन याकचौँरीलाई घाँसको समस्या भएको बताउनुभयो ।

त्यसै गरी एग्रो मनाङका प्रमुख युवराज गुरुङले हिउँ नपरेपछि यो वर्ष स्याउ खेती विस्तार गर्न समस्या हुने देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँ पर्‍यो भने स्याउको बोट सार्न पाइन्थ्यो, राम्रोसँग सथ्र्यो पनि तर यसपालि स्याउलाई सिँचाइको अभाव हुने भएको छ ।” त्यसो त उहाँको फार्ममा सिँचाइको सुविधा पनि छ । सबै ठाउँमा भने छैन । उहाँले भन्नुभयो, “बोट सार्नका लागि खाल्डो खन्दै छौँ, हिउँ परेपछि एकै पटक नपग्लेर एकदेखि साढे एक महिनासम्म बिस्तारै हिउँ पग्लन्छ । यसले स्याउको बिरुवामा सिँचाइ गर्नु पर्दैन । यो वर्ष हिउँ परेन भने सिँचाइ गर्न समस्या हुन्छ ।” उहाँले हिउँ नपर्दा स्याउ खेतमा पानी कम भएर फूल झर्ने, स्याउका दाना राम्रो नलाग्ने र रोग, किराको सङ्क्रमण बढ्ने बताउनुभयो ।

यता मनास्लु संरक्षण क्षेत्रका आयोजनाका प्रमुख सन्तोष शेरचनले पनि हिउँ नपर्दा हिमाली भेगको खेतीपाती, पशुपालनमा नकारात्मक असर परेको सुनाउनुहुन्छ । “यो आलु, स्याउ, ओखर लगाउने याम हो,” उहाँले भन्नुभयो, “हिउँ नपर्दा सिँचाइका लागि समस्या हुन्छ । यसले उत्पादनदेखि बजारीकरणमा प्रत्यक्ष असर पर्छ ।”

हिउँ नपर्दा पानीको मुहान सुक्ने हुनाले माथिल्लो मनाङमा कृषि, पर्यटन, वन्यजन्तुलगायत सबैतिर असर परेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङ प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । हिमाली क्षेत्रमा पशुपालनको क्षेत्र बसाइँसराइ (मौसमी) हुन्छ । वर्षा र हिउँदको पशुचरन क्षेत्र फरक फरक हुने गर्दछ । “समयमा हिउँ परेन भने गाईबस्तुले घाँस खाँदा एकदमै सुक्खा हुन्छ,” उहाँले भन्नुभयो, “पशुचौपायाले घाँस खाँदा केही मुखमा पर्ने, केही उडेर जाने हुन्छ, त्यसकारण पशु आहारामा पनि समस्या देखिन्छ ।”