• १२ मंसिर २०८१, बुधबार

मदन भण्डारी फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु

blog

गोरखापत्र अनलाइन

काठमाडौ, माघ १४ गते । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आइतबारदेखि मदन भण्डारी खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु भएको छ । 

काठमाडौँको सामाखुसीमा आयोजित एक समारोहबिच काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा उपप्रमुख डंगोलले खेलकुद क्षेत्रको विकासले सबै क्षेत्रमा फाइदा पुग्ने बताउनुभयो । खेलकुदका माध्ययमबाट राष्ट्रलाई चिनाउन सकिने चर्चा गर्दै उहाँले खेलाडी उत्पादन र स्तरबृद्धिमा स्पोर्टस् एकडेमीले उल्लेखनीय योगदान गरिरहेको उल्लेख गर्नुभयो । 

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एकेडेमीका सल्लाहकार तथा पूर्व प्रदेश सभासद् मोहन रेग्मी, उपाध्यक्ष तेजविक्रम बस्नेत, उपमहासचिव सुवर्ण श्रेष्ठलगायतले बोल्नुभएको थियो । 

कार्यक्रम संयोजक सरिला श्रेष्ठका अनुसार माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १५ टिमको सहभागिता रहेको छ । एकेडेमीले वार्षिक कार्ययोजनाअनुसार देशभर विभिन्न खेल प्रतियोगिताहरू सञ्चालन गर्दैआएको छ । 

अध्यक्ष आचार्यका अनुसार यसलगत्तै मधेस प्रदेशका विभिन्न जिल्लामा कुस्ती, फुटसल, टग अफ वार, हक्की, बागमती प्रदेशको काठमाडौँमा अन्तर विश्व विद्यालयस्तरीय भलिबल, राष्ट्रिय फुल कन्ट्याक्ट कराँते, प्रदेशस्तरीय  तेक्वान्दोलगायतका प्रतियोगिताहरू आयोजना हुँदैछन् ।