• १३ साउन २०८१, आइतबार

कृषि र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह

blog

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीसँग गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को टोली । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, माघ १२ गते । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई कृषि र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । 

आवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा मन्त्री शाहीले सो आग्रह गर्नुभएको हो । सुदूरपश्चिमको जीवनस्तर सुधार्न जरुरी रहेको बताउँदै एनआरएनएको सहयोग जरुरी रहेको मन्त्री शाहीको भनाइ छ । हाम्रो प्रदेशमा खानेपानी र जैतुनको तेल उत्पादनमा लगानी गरेर पनि आम्दानी बढाउन सक्ने सम्भावना भएकाले त्यसतर्फ सोच्न पनि मन्त्री शाहीले आग्रह गर्नुभयो । 

यहाँको पानी दिल्ली र लखनउजस्ता भारतका ठूला शहरमा पुगाउन सकिन्छ उहाँले भन्नुभयो, “जैतुनको तेल त विश्वभरि लैजान सकिन्छ ।” मन्त्री शाहीले विस्तारै नेपालका राजनीतिकर्मी र कर्मचारीको सोचमा परिवर्तन भइरहेकाले एनआरएनएले लगानी गर्ने वातावरण बन्ने दाबी गर्नुभयो । उहाँले जनतालाई आशा जगाउन, सकारात्मक सन्देश दिन सरकार र एनआरएनएले समेत नयाँ ढङ्गले सोचेर अघि बढ्नुपर्ने बताउनुभयो । 

सो अवसरमा एनआरएनएका अध्यक्ष डा. बद्री केसीले अझै ऐन, कानुनका कारण पनि लगानी गर्न समस्या रहेको बताउँदै त्यस्तो समस्या सङ्घ र प्रदेश दुवैतिर रहेको बताउनुभयो । यद्यपि आफूहरुको सुदूरपश्चिम प्रदेशलाई लगानी गर्ने हिसाबले प्राथमिकतामा राखेको बताउनुभयो । 

अहिले सांकेतिक रुपमा सेती–महाकाली अस्पताल र कञ्चनपुरको वैजनाथ क्याम्पसमा साङ्केतिक रुपमा सहयोग गरेको बताउदै अध्यक्ष केसीले धितोपत्र बोर्डमा चाँडै केही काम पूरा भएपछि १० अरबको लगानी कोष बन्ने र त्यसपछि धेरै काम गर्न सकिने बताउनुभयो । उहाँले सो कोषमा नेपाल सरकारको पाँच र एनआरएनएको ९५ प्रतिशत लगानी रहने बताउनुभयो । 

“हामी ८७ देशमा फैलिएका छौं, अहिले संसारभर ८० लाख नेपाली छन् । नेपालमा वातावरण बनेमा नेपालीको एनआरएनएको मात्र होइन, ती देशका व्यापारीलाई पनि यहाँ लगानी गराउन हामीले पुलको काम गर्छौं” अध्यक्ष केसीले भन्नुभयो ।  

हामी प्रदेश तहमा पनि फरक तरिकाले काम गर्न खोजिरहका छौं, उहाँले भन्नुभयो, “कोशी प्रदेशमा च्याउ उत्पादन निकै धेरै हुने रहेछ, त्यो च्याउ विश्व बजारमा लैजान त्यहाँका मुख्यमन्त्रीले आग्रह गर्नुभएको छ, हामी के गर्न सक्छौं, प्रयास गरिरहेका छौं ।”

हामी राजनीति, जात, धर्म, क्षेत्रभन्दा माथि उठेर सरकारमा जो हुन्छ उसको सहयोगी बनेर जान चाहन्छौं, उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य हामीले सिकेको, सीप, ज्ञान र पैसा खर्चिएर नेपाल बनाउने मात्र हो ।” 

छलफलका क्रममा बोल्दै एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले आफूहरुले दुःखले कमाएको पैसा नेपाल र त्यसमा पनि सुदूरपश्चिम प्रदेशमा खर्च गरेर नेपालसँग जोडिन वा सहकार्य गर्न लालायित रहेको बताउनुभयो । उहाँले एनआरएनए डे अक्टोम्बर ११ प्रदेश सरकारसँग जोडिएर मनाउन पाए झन राम्रो हुने सुझाव पनि दिनुभयो । 

एनआरएनएका सल्लाहकार टेकबहादुर कार्कीले सरकार कैयौं आग्रह र पूर्वाग्रहबाट मुक्त भएमा मिलेर धेरै काम गर्न सकिने बताउनुभयो । अर्थमन्त्रीसँगको छलफलमा एनआरएनएका पूर्व उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, माल्टाका सत्यनारायण श्रेष्ठ, एनआरएनए प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार रावतलगायतको उपस्थिति थियो ।