• २४ वैशाख २०८१, सोमबार

पाठ्यपुस्तक छपाइ तीव्र,समयमै पुर्‍याउन ताकिता

blog

काठमाडौँ, माघ १२ गते । आउने शैक्षिक सत्रमा विद्यार्थीलाई भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यसाथ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइलाई तीव्र बनाएको छ । 

अहिलेकै गतिमा पुस्तक छपाइको कामलाई निरन्तरता दिन सकिए शैक्षिक सत्र सुरु हुनेबित्तिकै पुस्तक पुर्‍याउन कठिन नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयले समेत पुस्तक छपाइको जिम्मा पाएको केन्द्रको अनुगमन गर्दै भर्नाअघि नै पाठ्यपुस्तक छपाइ सक्ने गरी काम गर्न निर्देशन दिइसकेको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउने शैक्षिक सत्रका लागि विद्यालय तहको पाठ्यपुस्तक छपाइका लागि कक्षा एकदेखि चारसम्म निजी क्षेत्रका छापाखाना तथा कक्षा पाँचदेखि १२ सम्म जनक शिक्षालाई दिने निर्णय गरिसकेको छ । निजी क्षेत्रका छापाखानालाई समेत छनोट गर्न पाठ्यक्रम विकास केन्द्रले टेन्डर आह्वान गरिसकेको छ ।

गत वर्ष भने सरकारले निजी क्षेत्रका मुद्रण संस्थालाई कक्षा एकदेखि पाँचसम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिएको थियो । यस पटक उक्त दायरा घटाएर चारसम्म झारिएको हो । अन्य वर्षको तुलनामा गत वर्ष विद्यार्थीले शैक्षिक सत्र सुरु हुनेबित्तिकै पाठ्यपुस्तक पाएका थिए । 

यसले जनक शिक्षा सामग्री केन्द्रको प्रशंसासमेत भएको थियो । केन्द्रले यस पटक सरकारले दिने हो भने कक्षा एकदेखिकै पाठ्यपुस्तक छापेर वितरण गर्न तयार रहेको समेत जनाएको थियो तर एकै निकायलाई सबै जिम्मेवारी दिँदा फेरि छपाइ तथा वितरणमा समस्या आउन सक्ने जोखिम रहेको भन्दै सरकारले निजी मुद्रण संस्थालाई पनि सहभागी गराउने निर्णय गरेको हो । 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार कक्षा पाँचदेखि १२ सम्म करिब एक करोड ७० लाख पुस्तक आवश्यक पर्छ । जसमध्ये अब करिब ६५ लाख थान पुस्तक मात्र छाप्न बाँकी छ । माघ ७ गतेदेखि केन्द्रले आफ्नो छपाइ मेसिनमार्फत चौबिसै घण्टा पाठ्यपुस्तक छपाइको काम गरिरहेको छ । जसबाट दैनिक एक लाख थान पुस्तक छपाइ भइरहेको झाले बताउनुभयो । 

गत वर्ष पनि विद्यार्थीले धेरै वर्षको अन्तरालपछि केहीबाहेक अन्य विषयका पाठ्यपुस्तक भर्ना भएकै दिन पाएका थिए । यस वर्षको समग्र छपाइको अवस्थाबारे जानकारी दिँदै प्रबन्ध सञ्चालक झाले भन्नुभयो, “छपाइका लागि आवश्यक कागज खरिद भइसकेको र छाप्ने काम पनि दुई सिफ्टमा सातै दिन, चौबिसै घण्टा चलिरहेको छ ।”

पाठ्यपुस्तक छपाइसँगै विभिन्न डिपोमा ढुवानी कार्यसमेत सँगै चलिरहेको पनि झाले जानकारी दिनुभयो । गत वर्ष पुसपछि मात्र कागज आएको भए पनि आवश्यक पाठ्यपुस्तक समयमै छाप्न सफल भएको बताउँदै झाले यो वर्ष पर्याप्त कागज भएकाले सहज भएको बताउनुभयो । प्रधानमन्त्री कार्यालयबाट गएको अनुगमन टोलीका सदस्य गोकर्ण भट्टले पुस्तक छपाइको कार्य सन्तोषजनक भए पनि छपाइको गुणस्तरमा सुधार गर्नुपर्ने देखिएको बताउनुभयो । 

छापिएका पाठ्यपुस्तक सुरक्षित राख्न, कागज खेर नजाने गरी काम गर्न र छपाइमा गुणस्तर कायम गर्न केन्द्रलाई निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो ।    

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।