• १२ साउन २०८१, शनिबार

कामविहीन द्वन्द्व निर्देशक

blog

काठमाडौँ, माघ १० गते । एक समय ख्याति कमाएका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई दर्शकले चलचित्रमा पहिले जसरी नदेखेको धेरै वर्ष भइसक्यो । पुराना पुस्ताका नायक भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, रमित ढुङ्गानालगायतका चलेका अभिनेतालाई द्वन्द्व सिकाइसक्नुभएको उहाँ अचेल फार्म हाउस (पाउलोनिया)को व्यवसायमा व्यस्त हुनुहुन्छ । अहिले चलचित्र जस्तै आफ्नै व्यवसाय गरेर पनि बाँच्न गाह्रो भएको द्वन्द्व निर्देशक खड्की गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबै समयको कुरा हो । अहिले नयाँ आएकाले राम्रो नै गरिरहेका छन् । हाम्रो पनि  फेरि एक पटक समय अवश्य आउला नि ।” अहिले चलेका दयाहाङ राई जस्तो कलाकारका लागि एक्सन चलचित्र थोरै आर्ट धेरै भएकाले पनि द्वन्द्वात्मक चलचित्र कम देखिएको खड्गी बताउनुहुन्छ । फेरि चलचित्रमा काम गरे पनि अहिले कमाइ खासै नहुने उहाँको अनुभव छ । 

कुनै बेला सिनेमा घरमा राजेश हमालको डायलग ‘हे’ देखि निखिल उप्रेतीको पाँचतले घरबाट छलाङ हानेको दृश्य हेर्न दर्शक लालायित हुन्थे तर विगत केही वर्षदेखि चलचित्रभित्र द्वन्द्व एकदमै कम देखिन थालेको द्वन्द्व निर्देशकहरू गुनासो पोख्छन् । अहिले अन्य विधाका चलचित्रमा पनि द्वन्द्वका दृश्य निकै कम प्रयोग हुन थालेको उनीहरू बताउँछन् । 

द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ भने आफू यस कुरामा खासै सहमत नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले पनि मेरो हातमा आधा दर्जन चलचित्र छन् । म कामविहीन  भएको छैन । केबल प्रचारमा मात्र आउन नखोजेको हो ।” अहिले प्रविधिले गर्दा पनि द्वन्द्व गर्ने कुरामा धेरै परिवर्तन आएको उहाँले बताउनुभयो । अहिले पहिलेको जस्तो मान्छे बटुल्न पर्दैन र सबै कुरा प्रविधिबाट नै हुन्छ । फेरि द्वन्द्वप्रदान चलचित्र पनि धेरै कम बन्न थालेका छन् । यसले गर्दा पनि द्वन्द्व निर्देशक कम देखिएका होलान् । 

अर्का द्वन्द्व निर्देशक एनबी महर्जन चलचित्रमा द्वन्द्व अन्यभन्दा गाह्रो विधा भएको बताउनुहुन्छ । महर्जनले भन्नुभयो, “द्वन्द्व जस्तो विधा जो पायो त्यसले गर्न पनि सक्दैन । यसमा अभिनेताको शारीरिक बनावट र राम्रो लुक हुनु पर्छ । यसले गर्दा पनि अहिले चलचित्रमा द्वन्द्व निर्देशकको आवश्यकता कम हुने गरेको उहाँको भनाइ छ । 

पुराना अभिनेता राजेश हमालदेखि चल्तीका कलाकार दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, खगेन्द्र लामिछानेलगायतसँग काम गरिरहनुभएका द्वन्द्व निर्देशक रोशन श्रेष्ठ चलचित्रमा द्वन्द्व कम प्रयोग हुन थालेकाले पनि द्वन्द्व निर्देशक हराएका हुन् कि भन्ने भान हुन थालेको बताउनुहुन्छ । अर्को कुरा अहिले चलचित्र विदेशमा पनि छायाङ्कन हुन थालेको र सबैलाई द्वन्द्व निर्देशकका रूपमा विदेशमा लिन सक्ने सम्भावना पनि कम भएको उहाँको भनाइ छ । 

अहिले द्वन्द्व निर्देशक यो क्षेत्रबाट पलायन हुनुको अर्को मुख्य कारण भनेको चलचित्रले सोचे जस्तो व्यापार नगरेर पनि भएको हुन सक्ने उहाँको ठम्याइ छ । चलचित्र प्रदर्शन भएर मात्र भएन, चलचित्रबाट राम्रो आम्दानी भएन भने त्यसको केही तुक हुँदैन । 

चलचित्रमा एउटा सानो द्वन्द्वको दृश्य गर्नका लागि कम्तीमा १० देखि १२ जना चाहिन्छ । अझ त्यही विधाकै चलचित्र बनाउने हो भने त ३० देखि ३५ जनाको समूह चाहिने श्रेष्ठ बताउनुहुन्छ । नेपाली चलचित्र क्षेत्रमा करिब ५० जना द्वन्द्व निर्देशक रहेका छन् । त्यस्तै चलचित्रमा एउटा साधारण द्वन्द्वको दृश्य छायाङ्कन गर्न मौसम अनुसार समय लाग्ने उहाँको भनाइ छ ।