• २३ मंसिर २०८१, आइतबार

रेडियोथेरापीका अनेक रुप

blog

क्यान्सरको उपचारमा प्रयोग गरिने रेडियोथेरापीलाई नेपाली बोलीचालीमा बिजुलीले सेक्ने उपचार भनेर बुझिन्छ । खासमा यसमा बिजुलीको प्रयोग गर्ने नभई विकिरणको प्रयोग गरिन्छ । यो विकिरण थेरापीले क्यान्सर कोषलाई नष्ट वा यसको वृद्धिमा नियन्त्रण गर्दछ । 

रेडियोथेरापीको क्रममा प्रयोग गरिने विकिरणले क्यान्सरको डिएनएलाई नष्ट गरी कोषको विनाश गराउँछ । रेडियोथेरापी विधिमा क्यान्सर कोष वृद्धिलाई नियन्त्रणमा राख्ने क्षमता पनि हुने भएकाले क्यान्सरको उपचारमा रेडियोथेरापीको उपयोग गरिन्छ । 

रेडियोथेरापी धेरैजसो क्यान्सरको हकमा उपचारात्मक (क्यान्सर पूर्णतः वा सकेसम्म निको पार्ने वा क्यान्सर प्रताडित व्यक्तिको आयु लम्ब्याउने) उद्देश्यले दिइन्छ, जब क्यान्सर समस्या शरीरको कुनै अङ्ग विशेषमा अन्तरनिहित हुन्छ अर्थात् क्यान्सर शरीरको अन्य भागमा फैलिसकेको हँुदैन । 

एड्जुभेन्ट थेरापीका रूपमा पनि रेडियोथेरापी दिइन्छ । एड्जुभेन्ट थेरापीमा क्यान्सरले आक्रान्त अङ्ग (शारीरिक भाग) निकालेपछि क्यान्सर नदोहोरियोस् भन्नका लागि रेडियोथेरापी दिइन्छ, जस्तै स्तन क्यान्सरका सुरुवाती चरणमा । यसका साथै रेडियोथेरापीलाई केमोथेरापीसँगै अघि वा पछि पनि दिन सकिन्छ । प्यालियाटिभ उपचार (जुन क्यान्सरको समस्यालाई पूर्ण निको हुने सम्भावना छैन तर अङ्ग विशेषको क्यान्सर नियन्त्रणमा राख्ने एवं लाक्षणिक आराम दिने हिसाबले) का लागि पनि रेडियोथेरापी दिइन्छ ।

रेडियोथेरापीले अनियन्त्रित रूपमा निरन्तर वृद्धि हुने क्यान्सर कोषलाई मात्र नभई मानव शरीरको सामान्य अङ्ग वा छालालाई पनि छेडेर (वा बाटो भई) जाने हुनाले रेडियोथेरापीले नकारात्मक असर पनि पु-याउन सक्छ । त्यसैले पनि रेडियोथेरापीको क्रममा यसका विकिरणका तरङ्ग क्यान्सर आक्रान्त अङ्गमै बढ्ता केन्द्रीकृत हुने गरी दिइन्छ । 

क्लिनिकल जाँच एवं सिटिस्क्यान, एमआरआईलगायतका जाँचबाट नजिकैको लिम्फनोड पनि संलग्न भए नभएको भन्ने थाहा हुन्छ । यी जाँचबाट क्यान्सर सुषुप्त अवस्थामा छ र कुनै पनि बेला पैmलिन सक्छ भन्ने सङ्केत पनि मिल्छ । यस्तो परिस्थितिमा रेडियोथेरापी उपचारको क्रममा प्रभावित अङ्ग मात्र नभई त्यस अङ्गलाई दोहन गर्ने लिम्फनोड (ग्रन्थी वा गिर्खा) लाई पनि लक्षित गरी रेडियोथेरापी दिइन्छ । त्यसो भएर रेडियोथेरापी दिने क्रममा प्रभावित अङ्ग वरिपरिका सामान्य भागको अलिकति भागलाई पनि रेडियोथेरापीको विकिरणले लक्षित गरिन्छ ।

रेडियोथेरापी जस्तै शल्यक्रिया, केमोथेरापी, हर्मोनथेरापी वा इम्युनोथेरापी वा यीमध्ये कतिपय उपचार सँगसँगै संयुक्त रूपमा दिन सकिन्छ । अधिकतर क्यान्सरमा रेडियोथेरापी कुनै न कुनै हिसाबले प्रभावकारी साबित हुन्छ । क्यान्सरको समस्यामा रेडियोथेरापी कति प्रभावकारी हुन्छ भन्ने कुरा ट्युमर अर्थात् क्यान्सरको प्रकार, शरीरको कुन भागमा लागेको छ, क्यान्सरको स्टेज (चरण), यसको उपयोगको उद्देश्य (उपचारात्मक, एड्जुभेन्ट, निओ एड्जुभेन्ट वा प्यालियाटिभ) का साथै प्रताडित व्यक्तिको शारीरिक सबलतामा पनि भर पर्दछ ।

त्यसो त रेडियोथेरापी शरीर बाहिरबाट (इबिआरटी–एक्सटर्नल बिम रेडियोथेरापी), ब्राकिथेरापी (प्रभावित अङ्गमै वा नजिकै विकिरण सक्रिय पदार्थ राखेर), टार्गेट थेरापी (रेडियोथेरापी आइसोटोप) प्रयोग गरी दिइन्छ । यसको उदाहरणमा थाइरोइड ग्रन्थीले शरीरको अन्य भागले भन्दा रेडियोथेरापी आयोडिन सोस्ने क्षमता हुन्छ । यसरी अङ्ग विशेषको पृथक् शोषण क्षमतालाई विश्लेषण गरी रेडियोथेरापी ‘एक्टिभ’ पदार्थ दिई रेडियोथेरापी दिँदा निकै प्रभावकारी हुने गरेको छ ।

रेडियोथेरापीको क्रममा पूरै शरीर वा शरीरको कुनै भागलाई लक्षित गरी मात्र दिइन्छ । हड्डीभित्रको मासी प्रत्यारोपण (बोनम्यारो प्रत्यारोपण) अगाडि शरीरलाई तयार पार्न रेडियोथेरापी पूरै शरीरमा दिइन्छ । जसलाई मेडिकल भाषामा टोटल बडी इरेडियसन भनिन्छ तर ब्राकिथेरापीको क्रममा विकिरणयुक्त पदार्थ क्यान्सरबाट प्रभावित अङ्गमै वा त्यसको नजिकै राखिने हुनाले अन्य स्वस्थ भागलाई नकारात्मक असर पुग्दैन । स्तन, प्रोस्टेट, पाठेघरको मुखको क्यान्सर आदिको रेडियोथेरापीमा ब्राकिथेरापी दिइन्छ ।

रेडियोथेरापी क्यान्सरबाहेक कतिपय मेडिकल समस्यामा पनि दिइन्छ । ट्राइजेमिनल न्युरेल्जिया (अनुहारको नसा झमझमाउने समस्या), एकाउस्टिक न्युरोमा (कानको स्नायुसम्बन्धी ट्युमर), टेरिजियम (आँखाको सेतो भागमा मासु पलाउने समस्या), पिग्मेन्टेड भिलोनोडुलर साइनोभाइटिस (जोर्नीको सतहमा अधिक मासु पलाउने), नसा पटक पटक साँघुरिने एवं अधिक हड्डी पलाउने समस्याको रोकथामको लागि पनि रेडियोथेरापी दिइन्छ तर रेडियोथेरापीकै कारण क्यान्सर विकसित हुन सक्ने भएकाले क्यान्सरबेगरका माथि उल्लेखित मेडिकल समस्यामा रेडियोथेरापी लिन हिच्किचाउँछन् ।

विभिन्न क्यान्सरमा रेडियोथेरापीले अनेक तवरले काम गर्दछ । क्यान्सर विशेषमा क्यान्सरको प्रभावकारितालाई मेडिकल भाषामा रेडियो सेन्सिटिभिटीको रूपमा व्याख्या गरिन्छ । रक्त क्यान्सर (ल्युकेमिया), अधिकतर लिम्फोमा (रक्त क्यान्सरकै एक प्रकार), जर्म सेल ट्युमर रेडियोथेरापीबाट अधिक प्रभावित हुने क्यान्सर हुन् । अति प्रभावित भन्नाले रेडियोथेरापीको मध्यम ‘डोज’ (मात्रा) ले पनि क्यान्सरका कोषलाई निकै छिटो गतिमा नष्ट गर्दछ । 

इपिथेलियल कोषबाट सुरु हुने क्यान्सर रेडियोथेरापीबाट मध्यम तवरले प्रभावित हुन्छन् । कतिपय क्यान्सर रेडियोथेरापीको हिसाबले प्रतिरोधात्मक (रेजिस्टेन्ट) हुन्छन् । यस्तोमा क्यान्सरको उपचारका लागि निकै उच्च डोजमा रेडियोथेरापी दिनुपर्ने हुन्छ । मिर्गाैला र मेलानोमा खालको छालाको क्यान्सर रेडियोथेरापी रेजिस्टेन्ट खालको हुन्छ तर पनि यी क्यान्सरमा प्यालियाटिभ उद्देश्यका लागि रेडियोथेरापी दिने गरिन्छ ।

ठिकै मात्राको रेडियोथेरापीले मेलानोमा बाहेकको छालाको क्यान्सर, टाउको र घाँटीको क्यान्सर, स्तन क्यान्सर, ननस्मल सेल खालको फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, मलाशयको क्यान्सर र प्रोस्टेट क्यान्सरको उपचार गर्न सकिन्छ । यी क्यान्सरका साथै जुनसुकै अन्य क्यान्सर पनि ती निश्चित अङ्ग (स्थान) बाट अन्यत्र फैलिसकेको खण्डमा रेडियोथेरापी प्रभावकारी साबित हुँदैन किनकि पूरै शरीरमा रेडियोथेरापी दिन मिल्दैन ।

अचेल सिटिस्क्यानको मद्दतले क्यान्सर प्रभावित भाग, त्यस वरिपरिको सामान्य भाग, रेडियोथेरापीको ‘डोज’ हिसाब गर्न निकै मद्दत पुगेको छ । रेडियोथेरापीको प्रभावकारिता प्रभावित अङ्ग एवं क्यान्सरको आकारमा पनि निर्भर हुन्छ । त्यसैले पनि कतिपय अवस्थामा रेडियोथेरापी अगाडि शल्यक्रियामार्फत धेरैभन्दा धेरै  क्यान्सर प्रभावित अङ्ग (भाग) निकालिन्छ ।

दुष्प्रभाव

रेडियोथेरापी आफैँमा पीडारहित उपचार विधि हो । न्यून ‘डोज’ को रेडियोथेरापीले खासै समस्या गराउँदैन तर पनि रेडियोथेरापीको प्रभावले गराउने सुजनका कारण उपचार क्षेत्रको नसा थिचिन गई दुखाई बढ्न सक्छ । 

उच्च ‘डोज’ को रेडियोथेरापीले भने तत्कालै वा दूरगामी खालका नकारात्मक असर निम्त्याउन सक्छ तर दुष्प्रभावको प्रकृति, गाम्भीर्य र अवधि रेडियोथेरापी गरिएको अङ्ग (भाग) वा रेडियोथेरापी कुन उद्देश्यले (उपचारात्मक, एड्जुभेन्ट, निओ एड्जुभेन्ट वा प्यालियाटिभ) गरिएको हो, त्यसलाई कति भागमा बाँडेको छ भन्नेमा भर पर्दछ ।

रेडियोथेरापी अनुसार आउन सक्ने दुष्प्रभाव अनुमान लगाउन सकिन्छ । जस्तै टाउको, घाँटीको क्यान्सरमा दिइने उच्च ‘डोज’ को रेडियोथेरापीले मुटु, रक्तनली, थाइरोइड एवं पिट्युटरी ग्रन्थीमा असर पु-याउँछ तर पनि थकान महसुस हुने, छाला पोल्ने समस्या पनि रेडियोथेरापी गरिएको धेरै बिरामीमा देखिन्छ । वाकवाकी आउने, उल्टी आउने, छालाको सतहमा चोट पुुग्ने, मुख घाँटी पेट पोल्ने वा घाउ आउने, पाचन नलीमा असहज हुने, पखाला लाग्ने, सुजन हुने, निःसन्तान हुने आदि रेडियोथेरापीबाट तत्कालै देखिने दुष्प्रभाव हुन् ।

दीर्घकालमा छालाको लचकता घट्ने, कपाल झर्ने, मुख सुक्खा हुने, लिम्फ ग्रन्थी सुन्निने, रेडियोथेरापीकै कारण अन्य भागमा क्यान्सर विकसित हुने, मुटुमा रक्तनलीको समस्या थालनी हुने, स्मरण शक्ति घट्ने, आन्द्रा एवं पाचन नली साँघुरिने, नसा झमझमाउने, रेडियोथेरापी गरिएको भाग कुहिन थाल्ने हुन्छ । 

रेडियोथेरापीले दीर्घकालमा पाचन प्रणाली, सन्तान उत्पादन, पिट्युटरी प्रणालीलाई पनि नकारात्मक असर पु¥याउँछ । रेडियोथेरापी लगत्तै शल्यव्रिmया गर्नुप¥यो भने पनि शल्यक्रियाको क्रममा विभिन्न समस्या आइलाग्छ ।   

Author

प्राडा सुमनराज ताम्राकार