• ८ असार २०८१, शनिबार

ग्रासरुट फुटबल ट्रेनिङ गर्दै अन्नपूर्ण आरसीटी

blog

काठमाडौँ, माघ ६ गते । काठमाडौँ महानगरको सहयोगमा अन्नपूर्ण आरसीटीले ग्रासरुट फुटबल ट्रेनिङको आयोजना गर्ने भएको छ । अर्को सातादेखि सुरु हुने यस प्रशिक्षण कार्यक्रम कम्तीमा छ महिना चल्नेछ । 

प्रशिक्षण प्रत्येक शनिबार र बिदाका दिन सञ्चालन हुनेछ । यसमा आठ देखि १४ वर्षसम्मका बाल बालिकाले भाग लिन सक्नेछन् । यस प्रशिक्षणमा एक सय जनाको सहभागिता रहनेछ । 

प्रशिक्षण एनसेल फुटबल मैदान चैलचोर र बाँसबारी खेल मैदान बाँसबारी गरेर दुई स्थानमा हुनेछ ।  ‘‘हाम्रो उद्देश्य फुटबल खेलाडी उत्पादन गर्नु नै हो । कुनै पनि देशमा फुटबल विकासका लागि ग्रासरुट स्तरको प्रशिक्षणको ठूलो महत्त्व हुने सबैलाई थाहा नै छ,’’ अन्नपूर्ण आरसीटीका अध्यक्ष सुरेशकाजी शाक्यले भन्नुभयो । 

यस प्रशिक्षणले भविष्यमा नेपाली फुटबलकै लागि अब्बल दर्जाका खेलाडी उत्पादन गर्न सहयोग पुग्ने आरसीटीको विश्वास छ । प्रशिक्षण कार्यक्रमको नेतृत्व वरिष्ठ प्रशिक्षक विराटकृष्ण श्रेष्ठले गर्नुहुनेछ । श्रेष्ठको प्रशिक्षण समूहमा हरिओमन श्रेष्ठ, चेतनारायण श्रेष्ठ, अर्जुन लामा, प्रकाश बैद्य, सुरेश शाही र डामोदर सिल्पकार पनि रहनुहुनेछ ।

प्रशिक्षणमा सहभागी हुनेको बिमा पनि गरिने छ । घरेलु नेपाली फुटबलका सबैभन्दा सफल र लामो इतिहास भएको अन्नपूर्ण आरसीटीले औपचारिक रुपमा ग्रासरुट ट्रेनिङको आयोजना गर्न लागेको यो पहिलो पल्ट हो ।