• १६ भदौ २०८१, आइतबार

राम्रो कथा, न्यून दर्शक

blog

काठमाडौँ, माघ ४ गते । ‘बदलापुर’ र ‘अन्धाधुन’ जस्तो रोमाञ्चक चलचित्रबाट दर्शको मन जितेका निर्देशक श्रीराम राघवनले फेरि अर्को बिल्कुलै नयाँ धारको रोमाञ्चक चलचित्र ‘मेरी क्रिसमस’ दर्शकसामु पस्केका छन् । क्रिसमसको पूर्वसन्ध्यामा भएको अपराधको कथा चलचित्रभित्र देखाउने सक्दो प्रयास गरिएको छ तर धेरै ठाउँमा चलचित्रलाई लम्बेतान बनाइएको हो कि जस्तो दर्शकले महसुस गर्न सक्छन् ।  

चलचित्रको कथा क्रिसमसको दिनमा सुरु हुन्छ, जहाँ मारिया (कैटरिना कैफ) र अल्बर्ट (विजय सेतुपति) को भेट हुन्छ र त्यहीँबाट उनीहरूको प्रेमकथा सुरु हुन्छ तर त्यही राति एक अप्रत्याशित घटना घट्छ, जसले दुवैको जीवनको चकित बनाउने रहस्य खोतलिन्छन् । आखिर त्यो रात कस्तो घटना घट्छ, दुवैको रहस्य के हो र अन्त्यमा के हुन्छ ? चलचित्रको कथा यही प्रश्नहरूको जवाफ खोज्दा खोज्दै सकिन्छ । चलचित्रको पहिलो हाफमा मारिया र अल्बर्ट रमाउँदै, सहरमा घुम्दै, कुरा गर्दै, नृत्य गर्दै देखिएका छन् । यसले दर्शकलाई पनि यी दुईबिच खासै मनमुटाव भएको जस्तो भान हुन दिँदैन तर मध्यान्तरपछि चलचित्रले लय लिँदै जाँदा दर्शकलाई सोचमग्न बन्न बाध्य तुल्याउँछ । 

चलचित्रमा सेतुपतिको अभिनयको जति तारिफ गरे पनि कम हुन्छ । भारतीय चलचित्र उद्योगमा केही कलाकार यस्ता छन्, जसले आफ्नो आँखाबाट हरेक भावनालाई उत्कृष्ट रूपमा चित्रण गर्न सक्छन् । तीमध्ये एक हुन् सेतुपति । अभिनय जस्तोसुकै भए पनि शतप्रतिशत दिने सेतुपतिले यस चलचित्रमा पनि उत्कृष्ट काम गरेका छन् । कैटरिना पनि आफ्नो क्षेत्रमा विज्ञ छिन् । आफ्नो सुन्दर लुक्स र उत्कृष्ट अभिनयका कारण उनले पर्दामा आफ्नो स्थान बनाएकी छिन् । योभन्दा फरक पर्दैन कि उत्कृष्ट कथा र त्यसमाथि पात्रहरू जीवन्त अभिनयले चलचित्रलाई बलियो बनाउन सहयोग पु-याएको छ । चलचित्रमा सञ्जय कपुरले पनि अभिनय गरेका छन् । उनको अभिनय शैलीमा पहिलाभन्दा अहिले धेरै फरकपन देखिएको छ । उनले चलचित्रमा अविस्मरणीय भूमिका निर्वाह गरेका छन् । अन्य कलाकार राधिका आप्टे, विनय पाठक, अश्विनी कालसेकर, टिनु आनन्दले पनि सम्झनलायक अभिनय गरेका छन् ।

निर्देशक राघवनलाई चलचित्रमा रोमाञ्चक विधाको डाक्टरभन्दा अतिरञ्जन हुने छैन । उनले उत्कृष्ट लेखनका साथसाथै निर्देशन के हो भन्ने कुरा पनि चलचित्रमा प्रमाणित गरेका छन् । अभिनयका लागि उपयुक्त कलाकार खोज्न उनीसँग विशेषज्ञता छ । उनले चलचित्रको संवादलाई पर्दामा राम्रोसँग प्रस्तुत गरेका छन् । निर्देशक राघवन दर्शकलाई आफ्नो सिटमा कसरी बसिरहन बाध्य बनाउन सकिन्छ भन्ने कारणबारे राम्ररी जानकार छन् । चलचित्रको कथा कतै पनि कमजोर छैन, जुन उनको उत्कृष्ट सम्पादनको चमत्कार हो । चलचित्रभित्र समय र परिवेशको विशेष ध्यान राखिएको छ किनभने यसको कथा राजेश खन्ना सुपरस्टार भएको जमानाको जस्तो छ । त्यसैले पनि चलचित्र पुरानो जमानाको जस्तो लाग्छ । अहिले चलचित्र क्षेत्रमा मन्दी चलिरहेको समय प्रदर्शनमा आएको ‘मेरी क्रिसमस’ ले राम्रो कथा उठान गरे पनि दर्शक पाउन धौ धौ नै छ । चलचित्रभित्र दर्शकलाई धेरै उत्साह र कौतूहल बनाउने दृश्य छन् तर पनि जाडो मौसमले हो या अन्य कारण सिनेमाघरभित्र दर्शकको चाप एकदमै न्यून छ ।