• १२ चैत २०८२, बिहिबार

रसुवामा कन्टेनर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

blog

रसुवा, चैत ११ गते । जिल्लाको कालिका गाउँपालिका–१ ग्राङजुङ डाँडास्थित पासाङल्हामु मार्गमा आज साँझ कन्टेनर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

चिनियाँ सामग्री लिनका लागि केरुङतर्फ जाँदै गरेको ना६ख ५४९८ नम्बरको कन्टेनर दक्षिणी रसुवाको कालिकास्थानबाट धुन्चेतर्फ जाने क्रममा अनियन्त्रित भई करिब एक सय ५० मिटर तल खसेको थियो ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको टोलीले चालकसहित दुई जनालाई उद्धार गरी उपचारका लागि नुवाकोटको त्रिशूली अस्पताल पठाएको थियो । उपचारका क्रममा कालिका गाउँपालिका–१ निवासी अन्दाजी ३९ वर्षीय चालक पासाङनुर्पु थोक्रा (पासाङ) को मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी रमेश रायले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका सोही स्थानका पेम्बाछिरिङ तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस