• १२ असार २०८१, बुधबार

मकै र धानको बीउको मूल्य निर्धारण

blog

रमेश विश्वकर्मा

गुल्मी, पुस २३ गते । गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको समन्वयमा जिल्लास्तर खाद्यान्न बाली बीउ उत्पादक कृषक सञ्जालको बैठकबाट मूल्य निर्धारण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख भण्डारीका अनुसार यस जिल्लामा मकैको उन्नत बीउ मनकामना(३, देउती र अरुण(२ उत्पादन हुँदै आएको छ । कृषक सञ्जालको बैठकले मनकामना(३ , देउती र अरूण(२ मुल बीउको प्रति किलोग्राम मूल्य निर्धारण गरिएको उहाँले बताउनुभयो ।

मुल बीउ मनकामना(३ र देउती मुल बीउको खरिद मूल्य १०५ रुपियाँ र बिक्री मूल्य १२५ रुपियाँ निर्धारण गरिएको छ । अरुण(२ को खरिद मूल्य १२० रुपियाँ र बिक्री मूल्य १४० रुपियाँ निर्धारण गरिएको छ । प्रमाणित बीउ देउती र मनकामनाको खरिद मूल्य ९५ रुपियाँ र बिक्री मूल्य १०० रुपियाँ निर्धाण गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, धानको बीउको पनि प्रति किलोग्राम मूल्य निर्धारण गरिएको छ । स्थानीय जात हंसराज धानको खरिद मूल्य १०० रुपियाँ र बिक्री मूल्य ११५ रुपियाँ निर्धारण गरिएको छ । चैते(५ र खुमल(१० को खरिद मूल्य ८० रुपियाँ र बिक्रि मूल्य ९० रुपियाँ निर्धारण गरिएको छ । मकवानपुर(१ को खरिद मूल्य ७० रुपियाँ र बिक्री मूल्य ८० रुपियाँ निर्धारण  गरिएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।

कृष ज्ञान केन्द्र गुल्मीले १५६ मेट्रिक टन मकैको बीउ उत्पादन हुने अपेक्षा गरेकोमा ३७.७ मेट्रिक टन बीउ उत्पादन भएको छ । यस जिल्लामा ५६१ मेट्रिक टन बीउ आवश्यक रहेको भन्दै  उत्पादनको अवस्था भने चिन्ताजनक देखिएको उहाँले बताउनुभयो ।

राज्यको लगानीभन्दा बीउ उत्पादन कम देखिएको छ । जिल्लामा उत्पादन भएको बीउ बाहिर निर्यात पनि गरिन्छ । यहाँ ७० प्रतिशत क्षेत्रमा मकैको हाइब्रेड बीउले ढाकेको बताउनुभयो । यस जिल्ला बीउ उत्पादनमा अझै पूर्ण रुपमा आत्मनिर्भर बन्न नसकेको उल्लेख गर्नुभयो ।

त्यसअवसरमा कार्यालय प्रमुख भण्डारीले रुपन्देहीको बुटवलमा आयोजना गरिएको कृषि प्रविधि प्रर्दशनी तथा बाली प्रतियोगितामा कृषि ज्ञान गुल्मी प्रथम भएको जानकारी गराउनुभयो । रुपन्देही व्यापार संघको आयोजनामा बुटवल मण्डपमा सञ्चालन भएको लुम्बिनी एक्पो २०८० अन्तर्राष्ट्रिय व्यापार मेला अन्तर्गत कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशद्वारा आयोजित प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट प्रतियोगी सहभागीमध्ये यस जिल्लाबाट दलहन तथा नगदेबाली विधामा कृषि ज्ञान केन्द्र गुल्मीको तर्फबाट सहभागी इन्दुबर  ज्ञवाली र फलफूल बाली विधातर्फ माधव पन्थ प्रथम हुनुभयो ।

त्यस्तै, फलफूल बाली विधातर्फ शिवलाल थापा र खाद्यान्न बाली विधातर्फ कृष्णप्रसाद घिमिरे द्वितीय हुनुभयो । प्रतियोगितामा सहभागी कृषकलाई कार्यालय प्रमुख भण्डारीले बधाईसहित शुभकामना व्यक्त गर्दै कृषितर्फ यहाँक कृषकहरु प्रथम भएर गौरव बढाएको बताउनुभयो ।