• १४ असार २०८१, शुक्रबार

राष्ट्रिय सभा निर्वाचन: गण्डकीमा दुई सय ३० मतदाता

blog

फडिन्द्र अधिकारी

लेखनाथ, पुस २१ गते । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न दुई दिन बाँकी छ । शुक्रबार मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ । गण्डकीमा दुई सय तीस मतदाता छन् ।

उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै जाँदा दलहरू आन्तरिक तयारीमा छन् । गण्डकी प्रदेशमा तीन सिटमा निर्वाचन हुँदै छ । अन्य, महिला र अपाङ्गता-अल्पसङ्ख्यकमा १-१ गरी तीन पद माघ २० गते रिक्त हुँदै छन् । राष्ट्रिय सभाका अध्यक्षसमेत रहनुभएका गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेको हो । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

केन्द्रमा हुने दलहरूबिचको गठबन्धनले निर्वाचनको परिणाम निक्राेल गर्ने भए पनि प्रदेशका केही दलले उम्मेदवार सिफारिस गरिसकेका छन् । केही दल सिफारिस गर्न छलफलमा छन् । नेपाली कांग्रेस गण्डकीले पुस १० गते एक सय अठहत्तर जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । काङ्ग्रेस गण्डकी प्रवक्ता माधव बास्तोला “मधु’ले अपाङ्गमा २८, अन्यमा एक सय सात र महिलामा ४३ जनाको नाम सिफारिस भएको जानकारी दिनुभयो । 

सिफारिस भएकामा युवा नेताहरूसहित पुराना नेताहरू शुक्रराज शर्मा, तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ, कृष्णचन्द्र नेपाली लगायत छन् । “वर्णानुक्रम अनुसार सबै जिल्लाबाट आएका नाम पठाएका छौँ,” बास्तोला भन्नुहुन्छ, “केन्द्रले सिफारिसै नभएकालाई पनि उम्मेदवार बनाउन सक्ने भएकाले जिल्लाका सिफारिस रोकेनौँ । पटक-पटक अवसर पाएकालाई भन्दा अवसरै नपाएका र योग्यलाई उम्मेदवार बनाउन अनुरोध गरेका छौँ ।”

नेकपा एमाले गण्डकी प्रदेशले सबै क्लस्टरमा तीन जनाको दरले नौ जनाको नाम सिफारिस गरेको छ । एमाले गण्डकीले बुधवार अन्यतर्फ चक्रबहादुर पराजुली, मोहनलाल शर्मा र ममतादेवी शर्मा उपाध्याय सिफारिस गरेको हो ।

एमालेबाट अपाङ्गता-अल्पसङ्ख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी मिना बराम सिफारिसमा पर्नुभएको छ भने महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी  सिग्देल अर्याल उम्मेदवार सिफारिस हुनुभएको छ । एमाले गण्डकी अध्यक्ष नवराज शर्माले बुधबार भएको प्रदेश कमिटीको बैठकले सर्वसम्मत उम्मेदवारहरू सिफारिस गरेको जानकारी दिनुभयो । “पन्ध्र-सोह्र जनाको नाम आएको थियो । बैठकबाट सर्वसम्मत तीन-तीन जनाको नाम सिफारिस गरी पठाएका छौँ ।”

यता, माओवादी केन्द्र भने आन्तरिक छलफलमै छ । माओवादी प्रदेश अध्यक्ष गायत्री गुरुङ आजभोलिमै नाम सिफारिस गरिने बताउनुहुन्छ । सत्ता गठबन्धनबिच भागबन्डा हुँदा माओवादीले एक सिट पाउने र जुन क्लस्टरको सिट पाइन्छ, सोही अनुसार उम्मेदवार तय हुने नेताहरू बताउँछन् ।

माओवादीबाट राष्ट्रिय सभामा पूर्व मन्त्री दिननाथ शर्मादेखि बाबुराम कार्की, झलकपाणि तिवारी, कोमल नाथ बराल, गोविन्द पौडेल, सोमती तमु, सन्तोषी आले, पूर्णकुमारी राना गौतम लगायतको चर्चा छ । प्रदेश सभामा दुई समानुपातिक सांसद रहेको राप्रपा गण्डकी पनि उम्मेदवार छान्न छलफलमै छ ।

सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रीनाथ बराल पार्टीले प्रदेशमा कमसेकम एक सिट पाउनुपर्ने दाबी गर्नुहुन्छ । सिट पक्का भएपछि उम्मेदवार छानिने उहाँको भनाइ छ । 

यस्तो छ दलहरूको अवस्था 

गण्डकीमा एक्ला एक्लै चुनाव लड्ने हो भने कांग्रेस सबैभन्दा बलियो छ । प्रदेशको पहिलो पार्टी कांग्रेसमा आकाङ्क्षीको हानथाप छ । 

यस पटक प्रदेश सभा सदस्यको ५३ र स्थानीय तह प्रमुख-उपप्रमुखको मत भार १९ तोकिएको छ । गण्डकीमा प्रदेश सभामा ६० सदस्य र ८५ पालिकाबाट एक सय ७० मतदाता छन् । प्रदेश सभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० मत भार छ । प्रदेशमा कुल मत भार छ हजार चार सय १० छ ।

गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सदस्य छन् भने स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ जना छन् । यसरी प्रदेशमा कांग्रेसको मत भार दुई हजार तीन सय २४ छ । नेकपा एमालेका २२ प्रदेश सभा सदस्य, पालिका प्रमुख ३५ र उपप्रमुख ३३ जना छन् । एमालेको कुल मत भार दुई हजार चार सय ५८ हुन आउँछ । तीमध्ये ढोरपाटन नगरपालिकाका प्रमुख देवबहादुर नेपाली सरकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन हुनुहुन्छ ।

प्रदेशमा माओवादीसँग आठ प्रदेश सभा सदस्य, पालिका प्रमुख ११ र उपप्रमुख १९ जना छन् । माओवादी केन्द्रसँग नौ सय ९४ मत भार देखिन्छ । प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्य र एक नगर प्रमुख छन् । यहाँ समाजवादीसँग ७२ मत भार छ । प्रदेश सभामा प्रतिनिधित्व नरहेको राष्ट्रिय जनमोर्चाका पालिका प्रमुख दुई र उपप्रमुख एक हुँदा मत भार ५७ छ । दुई प्रदेश सभा सदस्य रहेको राप्रपाको एक सय छ मत भार छ ।  मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जित्नुभएको हो ।

अहिले सत्ता गठबन्धनमा रहेका दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मिल्दा गठबन्धनको मत तीन हजार आठ सय २७ हुन्छ । यसरी गठबन्धनकै साझा उम्मेदवार मैदानमा आएमा उनीहरू सबै विजयी हुने अङ्कगणित देखिन्छ ।