• १२ साउन २०८१, शनिबार

फड्को मार्दै चित्रकला

blog

सिन्धुली, पुस २० गते । एउटा समय थियो, जुन बेला कलाकारलाई आफूले सिर्जना गरेको चित्रकलाबाट जीविकोपार्जन गर्न निकै गाह्रो हुने गथ्र्याे । आफ्नो कलाको प्रचारप्रसार गर्न उपयुक्त माध्यमको अभाव, कला चेतनाको कमी र यसको प्रवर्धनका लागि सङ्गठित निकायको अभावले कलाकार आफ्ना सिर्जना सिरानीमा थन्क्याउन बाध्य हुन्थे । अहिले भने समय बदलिएको छ । चित्रकलाले राम्रो बाटो समातेको छ । अहिले चित्रकला हजारौँ मात्र होइन, लाखौँ रुपियाँमा बिक्री हुन थालेका छन् । कुनै पनि कार्यशालामा होस् या ग्यालरीमा; चित्र किन्न र हेर्न आउनेको जमात ह्वातै बढेको छ, बढ्दै छ । चित्रकला प्रदर्शनीमा ढिला गरी जाँदा धेरै जसो चित्रकला बिक्री भइसकेका हुन्छन् । 

नेपालको चित्रकारिता ठिक ढङ्गमा अघि बढिरहेको दाबी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको छ । उहाँ भन्नुहुन्छ, “अहिले जुन किसिमले विभिन्न क्षेत्रमा बसेर साथीहरूले आआफ्ना विधामा काम गरिरहनुभएको छ; उहाँहरूको त्यो क्रियाशीलता हेर्दा कलाकारहरू यसबाट धेरै सन्तुष्ट हुनुहुन्छ जस्तो लाग्छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कलाकार अगाडि बढिरहेका देख्दा यसले ठिक दिशा लिइरहेको लाग्छ ।”

कलाकार कला लिम्बू भन्नुहुन्छ, “पहिला चित्र भनेको मान्छेको फोटोलाई चित्रमा उतार्नेमा मात्र सीमित हुन्थ्यो भने अहिले त्यसको स्तर बढेको छ । अहिले अन्तर्राष्ट्रियस्तरमै चित्रकला प्रस्फुटन भएको छ तर एउटा कलाकारलाई यसबाट जीविकोपार्जन गर्न अहिले पनि धेरै समस्या छ । यस्तो हुनुमा कसको दोष भन्दा पनि नीतिनियमकै अभाव र कमीले गर्दा यस्तो भएको हो ।”

“अहिले पनि हामीले सिर्जना गरेको कलाले बजार पाएन, प्रवर्धन भएन, सरोकारवाला निकायले ध्यान दिएन भन्ने चलन छ तर आज जति भएको छ; त्यो हाम्रा लागि राम्रो कुरा हो,” लिम्बूले भन्नुभयो ।

कलाकार तथा प्रतिष्ठानका लोक कला विभाग प्रमुख प्रदीप अधिकारीका भनाइमा कुनै समय चित्रकला के हो भनेर सोध्ने आममानिसले अहिले चित्रकलाको रङ संयोजन, बनाउने तरिका र यसले दिन खोजेको सन्देशबारे चासो दिई सोध्ने गरेका छन् । उहाँ भन्नुहुन्छ, “अहिले आममानिसमा कलासम्बन्धी चेतनाको विकास भएको छ । कलाको क्षेत्रमा केही न केही काम त भएको छ तर अझ पनि धेरै परिवर्तन गर्न बाँकी छ ।” 

सिन्धुली कलाघरका अध्यक्ष सुमन थापामगर अहिले पनि चित्रकलाको अवस्था सन्तोषजनक हुने महोल भइनसकेको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “देशलाई पर्यटन प्रवर्धनसँगसँगै कलासंस्कृतिले भरिपूर्ण बनाएर देशभित्रै केही गर्ने वातावरण सिर्जना गर्नु पर्छ भन्ने माध्यम बन्न खोजिरहेका छौँ ।” पछिल्लो समय चित्रकला प्रदर्शन हुने क्रम बढ्दो छ तर यसको बजार कस्तो छ भन्ने अझै पनि प्रस्ट छैन । महँगो मूल्य र चित्रकलालाई नबुझ्नाले पनि यसको मौलिकता हराउँदै गएको छ । चित्रकलासहितको कलामा देखिएको आकर्षण तथा प्रदर्शनीमा आएको व्यापकताले यसमा केही विकास भएको देखिए पनि जति हुनुपर्ने हो त्यति भएको देखिँदैन ।