• २० वैशाख २०८१, बिहिबार

दार्चुलाका किसान ओखर खेतीतर्फ आकर्षित

blog

ओखर । फाइल तस्बिर

खलङ्गा (दार्चुला), पुस १७ गते । दार्चुला ओखर खेतीका लागि परिचित छ । ओखर खेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन् । सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि यहाँका किसान उक्त खेतीतर्फ थप आकर्षित भएका हुन् । 

विगतदेखि नै ओखर खेती गर्दै आएका शैल्यशिखर नगरपालिका-६ का विष्णुसिंह धामीले ओखर खेतीलाई थप विस्तार गर्दै आउनु भएको छ । बुवा र बाजेले लगाएका पाँच दस बोटबाट खेती सुरु गर्नुभएका धामीको बारीमा अहिले साना र ठुलो गरेर एक सय ७५ ओखरका बोट छन् । 

हाल उहाँको बारीमा भएका ६५ बोटले उत्पादन दिइरहेका र बारीबाटै बेर्नासमेत बिक्री हुँदै आएको छ । धमीले भन्नुभयो,“बेर्ना कम उत्पादन भयो एक हजार बेर्नाको अर्डर थियो आवश्यकभन्दा कम बेर्ना उत्पादन भए । बेर्ना बनाएर बोट उमार्न निकै कठिन हुने उहाँको भनाइ थियो । धामीले आफ्नो उत्पादन दार्चुलाको गोकुलेश्वर, डडेलधुराको स्याउलेदेखि धनगढी महेन्द्रनगरसम्म निर्यात गर्दै आउनुभएको छ ।

यहाँ उत्पादन भएका र गाउँघरबाट पनि उत्पादित ओखर सङ्कलन गरेर पनि बजारसम्म पुर्‍याउने काम पनि गर्दै आउनुभएका धामीले आफ्नो मात्रै ओखर बेचेर वार्षिक दुई लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । ओखर खेतीले पछिल्लो समय  राम्रो बजार लिइरहे पनि स्थानीय सरकारले यसका लागि कुनैपनि पहल नगरेको अर्का किसान शिवसिंह धामीले बताउनुभयो । उक्त वडामा मात्र बर्सेनि  २५लाखदेखि ३० लाखभन्दा माथिको ओखर बाहिर निर्यात हुने गरेको छ भने मालिकार्जुन गाउँपालिकाको केही भू-भागमा पनि ओखर निक्कै फल्ने गर्दछ ।  

सरकारले ओखरखेतीमा केही सहयोग गरे आफूहरू झन् आकर्षित हुने सम्बद्ध किसानको भनाइ थियो । सरकारले वि.सं.२०७८देखि  दार्चुलालाई ओखर पकेटक्षेत्रका रुपमासमेत घोषणा गरेपछि धामीसहित यहाँका किसान ओखर खेतीतर्फ थप आकर्षित भएका हुन् । ओखरको बेर्ना सार्न माघ महिनामा उत्तम हुने कृषि ज्ञानकेन्द्रका कृषि अधिकृत शिशिर आचार्यले बताउनुभयो । 

दार्चुलामा एक सय ७५ हेक्टर जमिनमा ओखरखेती गरिए पनि हाल एक सय ५० हेक्टर जमिनमा उत्पादन भइरहेको उहाँको भनाइ थियो । यस वर्षमा जिल्लामा एक हजार पाँच सय ५५ मेट्रिकटन ओखर उत्पादन भएको थियो । रासस