• १४ असार २०८२, शनिबार

प्रदेश सभामा महिलाको भूमिका बढाउन आवश्यक

blog

कार्यक्रमका सहभागी सुदूरपश्चिम प्रदेशका महिला सदस्य । तस्बिर : निराजन परियार

चौमाला समाचारदाता

चौमाला, असार १४ गते । सुदूरपश्चिम प्रदेश सभाका महिला सदस्यले प्रदेश सभामा आफ्नो भूमिका थप प्रभावकारी बनाएर लैजाने बताउनुभएको छ ।  संविधान निर्माण हुनुभन्दा अगाडि र अहिलेको अवस्थामा फरक छ । अब प्रदेश सभा वा अन्य ठाउँ महिला सदस्यले आफ्नो भूमिका प्रभावकारी बनाएर अघि बढ्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो । सुदूरपश्चिम प्रदेशमा १८ जना महिला प्रदेश सभा सदस्य हुनुहुन्छ । सबै जना समानुपातिकबाट आउनुभएको छ । सरकारमा दुई जना महिला राज्यमन्त्री हुनुहुन्छ भने एक जना उपसभामुख हुनुहुन्छ । 

प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मी विकले महिला सदस्यको निर्णय प्रक्रिया र संसदीय गतिविधिमा महत्वपूर्ण सहभागी हुने भएकाले त्यसमा चुक्न नहुने उल्लेख गर्नुभयो । संयक्त राष्ट्र सङ्घको संसद् सहयोग परियोजनाको सहयोगमा शुक्रबार फाया नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेश सभामा रहेका महिला तथा सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने महिला सदस्यको क्षमता अभिवृद्धि तालिममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । 

प्रदेश सभा सदस्य सन्तोष थापा शर्माले कहिलेकाहीँ ससाना कमजोरी र प्रस्तुतिमा महिला सदस्य चुकिरहेको उल्लेख गर्दै शून्य समय, विशेष समयका विषय र शैलीलाई अधिकतम प्रयोग र सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले महिलाका सवालमा समान धारण बनाएर सबै महिला प्रदेश सभा सदस्य एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।  

संसद्मा महिलाको सङ्ख्या उल्लेख्य रहे पनि प्रस्तुतिका दृष्टिले उपस्थिति कमजोर रहने गरेका टिप्पणी हुने गरेको बताउँदै उहाँले प्रदेश सभामा बोल्ने अधिकांश महिला सदस्यले आफ्नो क्षेत्रका विकासनिर्माणका विषयदेखि समसामयिक राजनीतिक तथा सामाजिक विषय समेटेर बोल्नुपर्ने प्रशिक्षक इन्द्रराज भट्टाईले बताउनुभयो । 

प्रदेश सभामा पुरुष प्रदेश सभा सदस्यको वर्चस्व रहने गरेको गुनासो गर्दै यहाँको प्रदेश सभामा दलका तर्फबाट पनि कतिपय महिला प्रदेश सभा सदस्यले बोल्ने गरेको प्रदेश सभा सदस्य जुना दानीले बताउनुभयो । उहाँले बजेट वितरणदेखि कार्यान्वयनको पाटोमा महिला प्रदेश सभा सदस्यले गम्भीरताका साथ ध्यान दिनुपर्ने बताउनुभयो । 

त्यस्तै अर्का प्रदेश सभा सदस्य जानकी ऐर बमले महिला सदस्य दलीय मान्यतासँगै आफ्नो क्षेत्रको सरोकार र जनजीविकाका विषयमा केन्द्रित हुने गरेको बताउनुभयो । उहाँको विचारमा महिलाको बोल्ने शैली र विषयवस्तुको गहनतामा थप प्रभावकारिताका लागि मेहनत गर्नुपर्ने खाँचो देखिएको बताउनुभयो । यद्यपि निरन्तर सव्रिmयताले पहिलेको तुलनामा थप परिपक्वता हासिल भएको अनुभव उहाँले सुनाउनुभयो । दलीय मान्यता राख्ने औपचारिक सन्दर्भबाहेक अन्य विषयमा बोल्ने क्रममा भने प्रायः महिला सदस्यले प्रदेशको विकासनिर्माणका साथै सामाजिक विषयलाई नै प्राथमिकता दिने गर्नुभएको छ । 

उहाँहरूको चासोका विषयमा सामाजिक विषय पनि उत्तिकै पर्ने गर्छ । महिला सशक्तीकरणका विषयमा पनि अधिकांश महिला सदस्यले विभिन्न कोणबाट विषय उठाउने गरेका छन् । कार्यक्रमका सहभागी सुदूरपश्चिमका महिला सदस्यले नेतृत्वका माध्यमबाट प्रदेशका समस्यामा समाधान खोज्नका लागि काम गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउन समावेशी नीति र कार्यक्रमको आवश्यकता रहेको बताएका थिए ।