• १४ असार २०८२, शनिबार

मुलुकभर पन्ध्र प्रतिशत रोपाइँ

blog

मस्र्याङ्दी गाउँपालिका–५, घेर्मुका किसान धानको बिउ काढ्दै । तस्बिर : नवीनराज कुइँकेल

काठमाडौँ, असार १४ गते । मुलुकभर १५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास निर्देशनालयका अनुसार शक्रबारसम्म १५.६ प्रतिशत अर्थात् दुई लाख १७ हजार २८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । 

गत वर्ष सो अवधिमा १७.२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत आवको तुलनामा यस वर्ष असारको दुई साता बित्न लाग्दा रोपाइँ भने ढिला भएको तथ्याङ्कले देखाएको छ । निर्देशनालयका अनुसार शुक्रबारसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४५.५ प्रतिशत, कर्णाली प्रदेशमा ३९.१ प्रतिशत, बागमती प्रदेशमा २० प्रतिशत र कोशी प्रदेशमा १४.३ प्रतिशत रोपाइँ भएको छ ।

यस्तै गण्डकी प्रदेशमा १३.८ प्रतिशत, लुम्बिनी ९.७ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा ३.९ प्रतिशत रोपाइँ भएको छ । 

यस वर्ष समयमा वर्षा सुरु भए पनि पहाडको तुलनामा तराईका जिल्लामा ढिलो धान रोपाइँ भएकाले धान रोपाइँमा थोरै प्रतिशत देखिएको हो । मुलुकभर १३ लाख ९१ हजार  ३२१ हेक्टर क्षेत्रफलमा धान रोपिने अनुमान छ ।