• २१ वैशाख २०८१, शुक्रबार

बान्ता हुँदैमा आत्तिनु पर्दैन

blog

बालबाललिकाले बिनाकारण वाकवाक र बान्ता गरेको हामीले देखेको हुनु पर्छ । विशेषगरी खाना खाने बेलामा वा खाना खाएपछि बच्चाले वाकवाक र बान्ता गर्छन् । हामीले बुझ्नु पर्ने कुरा के हो भने धेरै बालबालिकामा यो समस्या कुनै रोगले उत्पन्न भएको हुँदैन ।

सामान्य होसियारीले यो समस्याको समाधान घरमै हुन सक्छ र समस्या बल्झिएन भने औषधि खुवाउनु जरुरी पनि छैन ।

पेटमा भाइरसको सङ्क्रमणले बालबालिकालाई वाकवाकी लाग्न सक्छ । बच्चामा वाकवाकी लाग्नुको यो एउटा प्रमुख कारण हुन्छ । साथै पेटमा समस्या ल्याउने केही समस्या तथा श्वासप्रश्वास प्रणाली, कान, छातीमा सङ्क्रमण, ज्वरो र पिसाबको सङ्क्रमणले पनि बच्चालाई वाकवाकी लाग्ने गर्छ ।

बच्चालाई वाकवाकी नलागोस् र बान्ता नहोस् भनी विभिन्न पक्षमा ध्यान दिनु पर्दछ । धूमपान, खाना पकाउँदाको गन्ध, सेन्ट, आर्दता, तातो र गुम्सिएको कोठाले बच्चालाई वाकवाकी हुन सक्छ । बच्चाको कोठा न्यानो बनाइराख्नुका अतिरिक्त त्यहाँ स्वच्छ हावा प्रवाह हुने व्यवस्था पनि मिलाउनु पर्दछ ।

बच्चालाई बान्ता आउँदा त्यसलाई रोकाउने प्रयास गर्नु हुँदैन, बान्ता हुन दिनुपर्छ । बान्ता रोकाउँदा कहिलेकाहीँ ज्यान जोखिममा पर्न सक्छ ।


घरेलु उपचार

खाना घटाउने– बारम्बार बान्ता हुँदा आमाशयको भित्ता भबाउँछ र खानाप्रति बढी संवेदनशील बन्छ । यसैले धेरै खानु र पिउनुले आमाशयको भित्तामा झनै समस्या आउँछ । बान्ता रोकिएको लगभग १२ घण्टा भएपछि बच्चालाई हल्का ठोस आहारा दिनुपर्दछ तर बच्चाले खान मन गरिरहेको छैन भने जबरजस्ती पिउन र खान दिनु हुँदैन ।

जलवियोजन हुन नदिने– बान्ता हुँदा शरीरमा पानीको मात्र कम हुन्छ । त्यसले बच्चाको शरीर कमजोर पर्छ । लामो समय जलवियोजनको अवस्था भए ज्यान जोखिममा पर्न सक्ने भएकाले बच्चाको शरीरमा पानीको मात्रा कम नहोस् भन्नेतर्फ चनाखो रहनु जरुरी छ ।

अदुवा– बच्चालाई मात्र होइन ठूला मानिसमा समेत वाकवाकीको उपचारमा अदुवाको उपयोगिता धेरै पहिलेदेखि स्थापित छ । अदुवाले पेटमा पाचक रस उत्पादन गर्न सहयोग गरी पेटमा अम्लको मात्रा नियन्त्रण गर्छ । सफा गरेको अदुवा पानीमा उमालेपछि सो पानीलाई मनतातो पारेर नियमित रूपमा बच्चालाई पानी पिउन दिए फाइदा पुग्छ ।

पुदिना– पेटमा गडबडी भए पुदिना खाएमा राहत मिल्छ । यसैले पेटमा समस्या भएको अवस्थामा पुदिनाका केही पात चपाउन दिएमा बच्चालाई राहत मिल्न सक्छ । बच्चाले पात चपाउन सकेन वा चाहेन भने पुदिना र अदुवाको रस मिसाएर त्यसलाई महसँगै खान दिए बच्चाको पेटलाई राम्रो हुन्छ ।

मिचेको खाना खुवाउने– बान्ता गरिरहेको बच्चालाई भातमा केरा र स्याउ मिचेर खुवाउने गरेमा फाइदा पुग्छ । उमालेको आलु पनि खुवाउन सकिन्छ तर लामो समय यस्तै खाना खुवाउनु हुँदैन ।

कागती– कागतीको रस मिसाइएको मनतातो पानीले पनि वाकवाकी रोक्न मद्दत पुग्छ । थोरै नुन, एक चम्चा चिनीलाई एक कप तातोपानीमा मिसाएपछि त्यसमा आधा चम्चा कागतीको रस हालेर बच्चालाई खुवाउने जुस तयार पार्न सकिन्छ । 

– युवामञ्च