• ९ मंसिर २०८१, आइतबार

सरकारको एक वर्ष

पूर्वाधार विकासमा फड्को

blog

सुशासन, समृद्वि र सामाजिक न्याय’ भन्ने मूल नारासहित एक वर्षअघि पुस १० गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठन भएको वर्तमान सरकारले भौतिक पूर्वाधार विकास तथा यातायात सुधारको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ । गत वर्ष पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका उहाँले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

साढे आठ सय किलोमिटर कालोपत्रे

एक वर्षको अवधिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ८३१.१ किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण गरिएको छ । २०७९ पुस १० गतेदेखि २०८० पुस ८ गतेसम्मको अवधिमा सो सडक निर्माण गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामहरि पोखरेलका अनुसार सो अवधिमा कालोपत्रे सडक पुनर्निर्माण २३३ किलोमिटर, खण्डास्मित (ग्राभेल) सडक ६२६.५ किलोमिटर, नयाँ ट्र्याक निर्माण १८६.०९ किलोमिटर, आवधिक रूपमा ५७७.२५ किलोमिटर सडक मर्मत गरिएको छ । एक वर्षको अवधिमा हुलाकी राजमार्ग अन्तर्गत १४४ किलोमिटर कालोपत्रे, मध्यपहाडी राजमार्ग अन्तर्गत १२७ किलोमिटर कालोपत्रे, कालीगण्डकी कोरिडोर अन्तर्गत गैँडाकोट–रामदी–मालढुङ्गा खण्डमा ६६ किलोमिटर कालोपत्रे, सोही कोरिडोर अन्तर्गत बेनी–जोमसोन–कोरला खण्डमा छ किलोमिटर सडक कालोपत्रे गरिएको हो ।  त्यसै गरी सो अवधिमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल खण्डमा ३२.५ किलोमिटर कालोपत्रे, मदन भण्डारी राजमार्ग अन्तर्गत १८.५ किलोमिटर कालोपत्रे, मुग्लिन–पोखरा खण्डमा १२ किलोमिटर कालोपत्रे र गल्छी–त्रिशूली खण्डमा सात किलोमिटर सडक कालोपत्रे गरिएको छ । सो अवधिमा कोशी कोरिडोर अन्तर्गत १७ किलोमिटर सडक खण्डास्मित (ग्राभेल) र कर्णाली कोरिडोर अन्तर्गत ५.५ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको हो ।

पुल निर्माण तीव्र

आवश्यक ठाउँमा पुल निर्माणबिना राजमार्ग तथा सडक निर्माणको खास सार्थकता हुन नसक्ने कुरालाई मनन गर्दै सरकारले सडकसँगै पुल निर्माणलाई समेत तीव्रता दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार वर्तमान सरकारको एक वर्षको अवधिमा २२९ वटा नयाँ पुल निर्माण सम्पन्न भएका छन् । 

मन्त्रालयका प्रवक्ता पोखरेलले सरकारको एक वर्षको अवधिमा मदन भण्डारी राजमार्ग अन्तर्गत २३ वटा, हुलाकी राजमार्ग अन्तर्गत १९ वटा, मध्यपहाडी राजमार्ग अन्तर्गत आठ वटा, गल्छी–त्रिशूली सडकखण्डमा तीन वटा नयाँ पुल निर्माण भएको बताउनुभयो । बाँकी पुलहरू मुलुकको अन्य विभिन्न राजमार्ग तथा सडकखण्डमा निर्माण गरिएका छन् ।

‘सिग्नेचर ब्रिज’ को स्थान पहिचान 

सडक विभागको पुल महाशाखाका अनुसार ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि मुलुकभरि १० उपयुक्त स्थान पहिचान गरिएको छ । नारायणी नदी (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछिया खोला (मोरङ), तमोर नदी (धनकुटा), बागमती नदी (काठमाडौँ र रौतहट), तिनाउ नदी (बुटवल), रोहिणी नदी (भैरहवा) र बकैया (मकवानपुर) को स्थान पहिचान गरिएको महाशाखाले जनाएको छ । नारायणी नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि ठेक्का सम्झौतासमेत भइसकेको छ ।

सरकारको एक वर्षको अवधिमा हुम्लाको दक्षिणी क्षेत्रका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । जिल्लाको चङ्गेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लाको कर्णाली नदीमाथि नयाँ बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै ती गाउँपालिका सडक सञ्जालमा जोडिएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यही पुस ६ गते उक्त पुलको उद्घाटन गर्नुभएको थियो । यसअघि अदानचुली र ताँजाकोट गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिसकेका छन् । यसअघि सलीसल्लाको कर्णाली नदीपारिसम्म मात्र यातायातका साधन आउने गर्थे । उक्त बेलिब्रिजको लम्बाइ ४८.७६८ मिटर र चौडाइ ४.२० मिटर छ । 

एक वर्षको अवधिमा २२९ वटा नयाँ पुल निर्माण सम्पन्न भएका छन् भने ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि मुलुकभरि १० उपयुक्त स्थान पहिचान गरिएको छ । यस्तै जनकपुरधाम–कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन भइरहेको रेल सेवा महोत्तरीको भङ्गहा (बिजुलपुरा) सम्म विस्तार गरिएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गसहित विभिन्न स्थानमा सुरुङमार्ग निर्माणले तीव्रता पाएको छ ।

बेलिब्रिज उद्घाटनपछि मन्त्री ज्वालाले समयमै पुल निर्माण भएका कारण नेपाल सरकारको यसै आर्थिक वर्षमा हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यलाई सघाउ पु-याएको बताउनुभयो । वर्तमान सरकारले विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँदै उहाँले  सदरमुकाम सिमकोट सडक जोड्नका लागि चट्टानी भिर छारे क्षेत्रमा नेपाली सेनाले काम गरिरहेको र खार्पुमा रहेको दोजाम कर्णाली नदीमा एउटा बेलिब्रिज निर्माण अगाडि बढेको बताउनुभयो । 

द्रुत बस सेवा सुरु

वर्तमान सरकारले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन, जाम कम गर्ने तथा निजी सवारीसाधन नभएका नागरिकलाई सार्वजनिक सवारीसाधनमा आकर्षित गर्ने उद्देश्यसहित पहिलो पटक द्रुत बस सेवा सुरु गरेको हो । संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा सञ्चालनमा आएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले असोज ३ गते काठमाडौँको रत्नपार्कस्थित सो बस सेवाको उद्घाटन गर्नुुभएको थियो ।

सरकारको यस अवधिमा जनकपुरधाम–कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन भइरहेको रेल सेवा महोत्तरीको भङ्गहा (बिजुलपुरा) सम्म विस्तार गरिएको छ । सङ्घीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले यस वर्षको असार ३१ गते विस्तारित रेल सेवाको उद्घाटन गर्नुभएको थियो । कुर्था–बिजलापुराको दुरी १७ किलोमिटर छ । त्यस क्रममा मन्त्री ज्वालाले यसअघि न्यारोगेज रेल सेवा सञ्चालन भएको ठाउँमा अब ब्रोडगेज सेवा सुरु भएकाले यसले यातायात क्षेत्रमा ‘ब्रेकथ्रु’ को काम गर्ने बताउनुभयो ।   यसअघि यस वर्षको जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उच्चस्तरीय भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री प्रचण्डले संयुक्त रूपमा यो खण्डको भर्चुअल उद्घाटन गर्नुभएको थियो । पहिलो चरणमा ३५ किलोमिटरमा सञ्चालन भएको नेपालको एक मात्र रेल सेवा अहिले भङ्गहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटर सञ्चालन भइरहेको छ ।  भारतको सरकारी कम्पनी कोकान रेलवेज कर्पोरेसन लिमिटेडसँग खरिद गरिएको दुई सेट रेल पहिलो चरणमा जनकपुर–जयनगर २०७८ चैत २० गतेदेखि नियमित सञ्चालनमा आएको थियो । २०७८ चैत १९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देउवाले हैदराबाद हाउसबाट भर्चुअल रूपमा संयुक्त उद्घाटन गर्नुभएको थियो ।

मुलुक सुरुङमार्ग युगमा प्रवेश 

सरकारको एक वर्षको अवधिमा निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आपत्कालीन सुरुङ छिचोलिएको छ । सुरुङ छिचोलिएसँगै मुलुक सुरुङमार्ग युगमा प्रवेश गरेको हो । यसै वर्षको साउन २२ गते सो आपत्कालीन सुरुङ छिचोलिएको थियो । एक वर्षको अवधिमा सो सुरुङमार्ग अन्तर्गत एक हजार ४३१ मिटर सुरुङ खनिएको छ । मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउने उद्देश्यसहित वर्तमान सरकारले सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखी सुरुङमार्ग निर्माणसम्बन्धी कार्यलाई तीव्रता दिइएको छ ।

त्यसै गरी ‘मृत्यु मार्ग’ को रूपमा चिनिने बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौता भई निर्माण सुरु भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता पोखरेलका अनुसार अहिलेसम्म अन्य छ वटा सुरुङमार्गको अध्ययन सकिएको छ । थानकोट–चित्लाङ, टोखा–छहरे, बिपी नगर–खुटिया–दिपायल, सिन्धुलीको खुर्कोट–चियाबारी, ललितपुरको गोदावरीकुण्ड–मानेचोर खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन जारी रहेको सडक विभागले जनाएको छ । त्यसै गरी नवलपरासीको दाउन्ने, सिन्धुलीको खुर्कोट, दोलखाको लामाबगर, कास्कीको हेम्जा, मकवानपुरको भीमफेदी–कुलेखानी, सूर्यविनायक–धुलिखेल सडकखण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको छ ।

प्रदेश प्रमुख र मुख्यमन्त्री निवास निर्माण

वर्तमान सरकारको यस अवधिमा ललितपुरको भैँसेपाटीस्थित मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको सम्पर्क कार्यालय तथा निवास निर्माण गरी हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ १० गते ती भवनहरूको उद्घाटन गरी सात वटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई साँचो दिई भवन हस्तान्तरण गर्नुभएको थियो । 

प्रत्येक प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बेग्ला बेग्लै ब्लकमा भवन तयार पारिएका छन् । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू काठमाडौँ आउँदा ती भवन आवास तथा सम्पर्क कार्यालयका रूपमा प्रयोग गरिने जनाइएको छ । 

कुल २७ रोपनी १२ आनामा निर्माण गरिएका सात वटा भवनमा १४ वटा ब्लक रहेका छन् । प्रत्येक ब्लकमा दुई वटा एकाइ छन्, तीमध्ये एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीका लागि हो । सबै भवन तीन तलाका छन् । जहाँ स्वागत कक्ष, बैठक कक्ष, योग अभ्यास कक्षदेखि भान्सा कोठासम्मको व्यवस्था छ । करिब ८५ करोड रुपियाँको लागतमा ती भवनको निर्माण गरिएको हो ।

सिंहदरबार र बबरमहलको प्रबलीकरण

सरकारको एक वर्षको अवधिमा वि.सं २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार र बबरमहलको प्रबलीकरण सम्पन्न भएको छ । प्रबलीकरण भएसँगै ती दुवै भवन अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्ने क्षमताको रहेको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख कोषनाथ अधिकारीले बताउनुभयो । भवनको पहिलो तलामा प्रधानमन्त्रीको कार्यालय रहने क्षेत्रलाई आधुनिकीकरण तथा सुरक्षाको दृष्टिकोणले ‘स्पेसल जोन’ का रूपमा विकास गरिएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले स्वदेशी र विदेशी पाहुनासँग भेट्न छुट्टाछुट्टै कक्ष, क्याबिनेट हल, एक्सन रुम, उद्घाटन तथा सम्बोधन कक्ष, स्टुडियो र आराम कक्ष निर्माण गरिएका छन् । १२० वर्ष पुरानो सिंहदरबारको मुख्य भवनको प्रबलीकरण पूर्वी र पश्चिमी मोहडा गरी दुई भागमा गरिएको हो । 

त्यसै गरी यस अवधिमा मुलुकको इतिहाससँग जोडिएको बबरमहलको प्रबलीकरण सम्पन्न भएको छ । प्रबलीकरणसँगै सो भवन अहिले पुरानैस्वरूपमा फर्काइएको छ । करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको बबरमहल भवनमा करिब तीन सय कोठा छन् । यसअघि १९९० सालको भूकम्पले पनि बबरमहलमा क्षति पु¥याएको थियो । त्यसबेला पनि सो भवनको पुनर्निर्माण गरिएको थियो । भवनको उचाइ तीन तला छ ।