• १५ कात्तिक २०८२, शनिबार

तिलिचो बेस क्याम्पमा फसेका ११ जना पर्यटकको उद्धार

blog

मनाङको तिलिचो बेश क्याम्पमा फसेका पर्यटकको उद्धार गरिँदै । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, कात्तिक १५ गते । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले उनीहरुको सफलतापूर्वक उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उद्धार गरिएका पर्यटकहरूमा एक जनाको खुट्टामा चोट लागेका, एक जना नौ वर्षीय बालक, एक जना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति रहेका छन् । सबैको अक्सिजन लेभल कम रहेको बताइएको छ ।

उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै नौ घण्टाको यात्रापछि सम्पन्न भएको हो । पर्वतीय उद्धार तालिम शिक्षालयबाट  एसपी टोपबहादुर डाँगीको कमान्डमा मेडिकल तथा माउन्टेन रेस्क्यू टिमले विशेष माउन्टेन रेस्क्यू गियर र उपकरणहरूको प्रयोग गरी यो जोखिमपूर्ण कार्य सम्पन्न गरेको छ । पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

उक्त शिक्षालयमा यो आर्थिक वर्षमा पहिलो पटक ‘हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यू तालिम सञ्चालन गरिएको थियो । यस तालिमका क्रममा पर्वतीय उद्धार तालिम शिक्षालयका प्रशिक्षक तथा प्रशिक्षार्थी गरी ३९ जनाले अश्विन महिनाको अन्तिम सातामा चुलु फार इस्ट (६,०३८ मिटर) को सफल आरोहण गरेका थिए । यसले सशस्त्र प्रहरी बल्को माउन्टेन रेस्क्यूको क्षमता अभिवृद्धि गरेको छ र भविष्यमा यस्ता घटनाहरूमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाएको छ ।

सशस्त्र प्रहरी बलले उच्च हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि यस्ता तालिम र अभ्यासहरूलाई निरन्तरता दिने छ । हिमाली क्षेत्रमा भएका यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रमा मौसमी जोखिमहरूको सामना गर्न आवश्यक पूर्वतयारीको महत्त्वलाई उजागर गरेको सशस्त्र प्रहरी बलको अनुभव रहेको छ ।