• १५ कात्तिक २०८२, शनिबार

ठेकेदारले बुझाएनन् पाँच करोड राजस्व

blog

भजनी नगरपालिकामा रहेको झलझलिया ताल । तस्बिर : नीराजन परियार

चौमाला समाचारदाता

चौमाला (कैलाली), कात्तिक १५ गते । कैलालीको भजनी नगरपालिकाले ताल र पोखरी ठेक्का लिएका ठेकेदारले ठेक्का अवधि सकिएको लामो समय भइसक्दासमेत ठेक्का रकम बुझाउन अटेरी गरेका छन् । नगरपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा रहेका ताल ठेक्काको रकम नउठ्दा विकासको काम प्रभावित भएको गाउँपालिकाले जनाएको छ । सम्झौता अनुसार ठेक्का रकम बुझाउन आउनुको साटो ठेकेदारका तर्फबाट अदालतमा विभिन्न मुद्दामामिला गरेर उल्टै गाउँपालिकालाई नै अनेक उल्झनमा पार्ने काम भएको नगरप्रमुख केवल चौधरीले बताउनुभयो । 

एकै व्यक्तिले न्यूनतम एक लाखदेखि अधिकतम एक करोडमाथिसम्म रकम नगरपालिकालाई तिर्न बाँकी रहेको उहाँले बताउनुभयो । नगरपालिकाले २०७० देखि २०८२ साल जेठ मसान्तसम्म उठाउन पर्ने राजस्वबापतको रकम अझै नउठेको भजनी नगरपालिकाका राजस्व शाखाका प्रमुख चिरञ्जीवी उपाध्यायले बताउनुभयो । ठेक्का रकम बुझाउन बाँकी ठेकेदारलाई पटक पटक लिखित ताकिता नै गर्दा पनि बेवास्ता गरेको उहाँको भनाइ छ ।  नगरपालिकाले ठेक्कामा दिएका ३२ मध्ये २८ वटा तालबाट हालसम्म पाँच करोड ६८ लाख ६५ हजार रुपियाँ उठ्न बाँकी छ ।

ढोगरवा तालका ठेकेदार मोहन गिरीले राजस्व तिर्न ढिलो भएको र आफूसँग बाँकी रहेको १४ लाख २५ हजार पाँच सय राजस्व तिर्न तयार रहेको बताउनुभयो । कतिपय ठेक्का लिएका व्यक्तिले ताल छाडिसकेका छन् तर नगरपालिकालाई सम्झौता अनुसारको रकम भने बुझाएका छैनन् । नगरपालिकाले पटक पटक ताल ठेक्काबापतको रकम उठाउन पहल गरेको भए पनि अहिलेसम्म ठेकेदारहरू अटेर गरेको भन्दै अब कानुनी उपचार खोजेर भए पनि रकम असुल गर्ने नगरपालिकाले जनाएको छ । सम्झौता अवधि गुज्रिसकेका घोर ताल, गिदनिया ताल र सोनिया नुक्ली तालका ठेकेदार प्रेमबहादुर भुलले तीन करोड ४२ लाख ७२ हजार ५२७ रुपियाँ राजस्व तिर्न बाँकी रहेको छ ।

घोर ताल र ढाङ्ग्राहावा तालका ठेकेदार फुलराम चौधरीले १४ लाख ६६ हजार ६४२ रुपियाँ, गुरुदहुवा ताल र पिपरहुवा तालका ठेकेदार विनोद लामाले एक लाख १७ हजार आठ सय, चट्टीहवा ताल र गिदनिया तालका ठेकेदार गगन ओलीले ४० हजार ७७२ रुपियाँ, सोसुवा तालका ठेकेदार मोहने राजीले तीन लाख ३४ हजार ६६४ रुपियाँ, झलझलिया तालका ठेकेदार सर्पसिंह धामीले ७१ हजार २७५ रुपियाँ, लौकहभौकाहा तालका ठेकेदार प्रदीपकुमार शाहले २३ लाख ७५ हजार ८३५ रुपियाँ, लखराया तालका ठेकेदार कुस्माकर चौधरीले ५१ हजार ५६१ रुपियाँ, मोहना नयाँ छोरालैया तालका ठेकेदार सत्यनारायण सहनीबाट ८९ हजार ३३९ रुपियाँ राजस्व उठाउन बाँकी रहेको नगरपालिकाले जनाएको छ । 

त्यस्तै १५ नम्बर पिल्लरनजिकको ताल ठेकेदार दिलीप लामाले ४३ हजार ३२४ रुपियाँ, खोल्टी मट्यारी ताल काठ ठेकेदार तिलकराज खत्रीले एक लाख २९ हजार ४८७ रुपियाँ, दिदीबहिनी तालका ठेकेदार प्रेमबहादुर चौधरीले १० लाख २६ हजार १२५ रुपियाँ, भखारी तालका ठेकेदार रमेशकुमार चौधरीले १४ लाख ४१ हजार ८३६ रुपियाँ, चुट्टीहवा तालका ठेकेदार रामसागर चौधरीले १४ हजार ७७१ रुपियाँ, ढोगरवा तालका ठेकेदार मोहन गिरीले १४ लाख २५ हजार पाँच सय, पहलाचगान तालका ठेकेदार दलबहादुर चौधरीले १४ लाख ११ हजार ५६० रुपियाँ,  लोटीहुवा सोरहवा तालका ठेकेदार कञ्चनकुश्मी चौधरीको २२ लाख ९७ हजार २९५ रुपियाँ उठ्न बाँकी रहेको छ ।