• २८ वैशाख २०८१, शुक्रबार

जलवायु विश्व सम्मेलन

हिमाली क्षेत्रमा सुकुम्वासी हुने दर बढ्न थालेकोप्रति चिन्ता

blog

दुबई, मङ्सिर २४ गते । संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भइरहेको जलवायु विश्व सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा सुकुम्वासी हुने दर बढेको भएको भन्दै विश्वको ध्यानाकर्षण गरिएको छ । 

नेपाललगायतका हिन्दकुश हिमालय पर्वत शृङ्खलाका मुलुकले विश्व तापमान वृद्धिले हिमाली जनजीवनमा प्रत्यक्ष प्रभाव परिरहेको भन्दै इतिहासमा पहिलो पटक हिमाली क्षेत्रमा सुकुम्वासी हुने क्रमको सुरुवात भएको बताएका छन् । 

सम्मेलनमा जलवायु परिवर्तन र हिमाली क्षेत्र विषयमा गरिएको विशेष कार्यक्रममा विभिन्न हिमाली मुलुकका प्रतिनिधिहरूले हिमाली समुदायमाथि यो असर परिरहने हो भने भविष्यमा हरेक मुलुकले विस्थापित व्यक्तिको पुनर्स्थापनामा मात्रै अर्बौँ डलर रकम खर्च गर्नुपर्ने चिन्ता पनि व्यक्त गरेका छन् । 

पछिल्ला दिनमा हिमालको हिउँ पग्लेर नयाँ हिमताल बन्ने र फुट्ने गर्दा हिमाली बस्ती बाढी, पहिरोको चपेटामा पर्दा कष्टकर जीवन निर्वाह गरिरहेका हिमाली समुदायले थप कष्ट व्यहोनु परिरहेकाले विश्वका ठुला अर्थतन्त्र भएका मुलुकले जलवायु न्याय गर्न सक्नुपर्नेमा नेपालका प्रतिनिधि यशोकान्ता भट्टचनले बताउनुभयो । 

उहाँले भन्नुभयो, हिमाल जनजीवन बाह्रैमास कष्टपूर्ण हुने गर्छ । त्यसमा पनि पछिल्ला दिनमा भइरहेका मौसमी उथलपुथल र विश्व तापमान वृद्धिले धेरैको उठिबास हुन थालेको छ । यो विश्व मानव समुदायका लागि न्यायको विषय होइन । 

उहाँले केही महिना अघि मुस्ताङको कागबेनीमा आएको अकस्मात्को बाढीले दैनिक जीवनगुजरा चलाउन पनि धौ धौ परेको स्थानीय समुदायको घरबास बगाएर सुकुम्वासी बनाएको घटनालाई विश्व समुदायले जलवायु परिवर्तनको असरको ‘नकारात्मक सङ्केत’को रूपमा लिनुपर्ने बताउनुभयो । 

म्यानमारका सेह खुदाहाले हिमाली मुलुकमा जलवायु परिवर्तनको प्रत्यक्ष असर पर्दासमेत विकसित तथा ठुला अर्थतन्त्र भएका मुलुकले खासै चिन्ता व्यक्त नगरेकोप्रति आलोचना गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘एउटै धर्तीमा बस्ने एउटा व्यक्तिले अर्को व्यक्तिमाथि अन्याय गर्न हुँदैन । हिमाली समुदायको पीडा, कष्ट र वेदनामा साथ दिन विश्व समुदायलाई आग्रह गर्दछु । कार्बन उत्सर्जन गर्ने ठुला मुलुकले यदि त्यसो हुन सकेन भने यो आलोचना र भर्त्सना गर्ने काम हुनेछ । 

जलवायु परिवर्तनको असरबारे लामो समयदेखि अध्ययन र अनुसन्धानमा संलग्न हेलेन मागालीले हिमाली अर्थतन्त्र बिग्रेकोमा विश्व समुदायले अहिले पनि आँखा चिम्लेर बसेको जस्तै आभास हुन थालेको बताउनुभयो । 

उहाँले भन्नुभयो, विशेष गरी हिमाली समुदायको आदिवासी जनजातिका महिला, युवा बढी प्रभावित हुन थालेका छन् । विश्व तापमान वृद्धिले खेतीपाती, रहन, सहनलगायतका विषयमा देखिएको असरले मानिसहरू बसाई सराई हुन बाध्य भइरहेका छन् भने बाढी, पहिरोले गर्दा हजारौँ व्यक्ति हरेक वर्ष सुकुम्वासी हुन थालेका छन् । 

उहाँले हिमाली क्षेत्रमा सुकुम्वासी हुने क्रम नौलो भएको र पछिल्ला दिनमा यसको असर व्यापक बन्दै गएकाले तत्कालै हिमाली अर्थतन्त्रका बारेमा सोच्न विश्व समुदायलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयका सचिव केबलप्रसाद भण्डारीले नेपालको हिमाली तथा पहाडी क्षेत्रबाट बसाई सराई सर्ने दर हरेक वर्ष वृद्धि भइरहेको बताउनुभयो । 

उहाँले २०६८ देखि २०७८ सालको जनगणनाको अध्ययनले ५० लाख व्यक्ति हिमाल र पहाडबाट बसाई सराई सरेको देखाएको तथ्याङ्कले हिमाल र पहाडबाट मानिसहरू बाहिरिने क्रम बढेको देखिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, गरिबी, बेरोजगारीका साथै जलवायु परिवर्तनको असरले सिर्जित समस्याले नै यो क्रम बढिरहेको छ । प्राकृतिक प्रकोपसँग जुध्न मानिसलाई निकै गाह्रो हुन्छ अनि ऊ आफ्नो थातथलो छाड्न बाध्य हुन्छ, यो जटिल समस्या हुँदै गएको छ । 

जलवायु परिवर्तनको असरले हिमाली मुलुकमा हरेक वर्ष बाढी, पहिरोलगायतका घटनाबाट अर्बौँ रुपियाँ बराबरको हानि नोक्सानी हुने गरेको तथ्याङ्क विभिन्न अध्ययनले देखाएको छ भने बर्सेनि हजारौँ मानिस विस्थापित भइरहेका छन् ।