परापूर्व कालदेखि नै वेद, उपनिषद्, जातक र पुराणहरूमा समेत अपूर्व तालले गन्यमान्य महर्षिमा मानिएका सिद्ध पुरुष उनै अगस्ति ऋषि जति खाए पिए पनि नअघाउने हन्तकाली बाजेका रूपमा पनि प्रसिद्ध थिए । किन त भन्दा एक पटक स्वर्गका राजा इन्द्रको दानवराज वृत्रासुरसँग भीषण लडाइँ पर्दा दानवसेना समुद्रभित्र लुक्दै थकाइ मारेर फर्की फर्की आउँदै देवसेनालाई मार्दै फेरि भाग्दै लुक्दै गर्दा रहेछन् । देवसेनातिर त्यो खुराफाती छिर्के दाऊ हान्ने कलाकौशल थिएन । फलतः देवतातिरको सैन्यशक्ति व्रmमशः घट्दै गयो । जो बाँकी रहेका पनि लडाइँ छोडेर भाग्ने सम्भावना देखियो । युद्धमा सन्तुलन कायम न भएपछि देवराज इन्द्रलाई आच्छु आच्छु परेछ । आजित परेका इन्द्र महाराजले उनै अगस्ति ऋषिलाई बोलाएर सबै कुरा बेलीबिस्तारसँग विन्ती बिसाएछन् । निकट भविष्यमै देवलोक खाली हुने विकट अवस्था देखेपछि अगस्तिले पनि आफ्नो ब्रह्मतेज देखाउँदै मूले समुद्रलाई स्वाट्टै पिएर खङ्ग्रङ्गै सुकाइदिएछन् । डङ्ग्रङ्गै सुक्खा बगरमा परिणत भएछ समुद्र त ! पानीबिनाका माछा जस्तै लुक्न पल्किएका दानवसेना पनि छटपटिँदै भागाभाग ! अनि पारेछन् देवसेनाले तिनेरुलाई राफसाफ ! त्यति मात्र पनि होइन, अगस्ति बाबालाई देवताहरूलाई लुट्तै मार्दै हिँड्ने बातापी नामक दैत्य र उसका भाइ इलबाललाई आफ्नो तन्त्रमन्त्रद्वारा बोको बनाएर छ्याप्पै काटेछन् अनि भुटुवा बनाएर चपाइदिएछन् र अपान वायुको अत्यधिक उत्सर्जनद्वारा त्यो लौहपुरुष दानवलाई ठाडै पचाएछन् पनि । त्यसपछिका दिनमा अगस्ति ऋषिको नाम धेरै खान पिउन र पचाउन पनि सक्ने महाबलिमा रूढ भएर दुनियाँदारको मथिङ्गलमा आरूढ बन्न आइपुगेको छ । यो त भयो हिजोको कुरो !
अब कुरो चलाउँ हिजोआजको ।
जिउज्यान, चालढाल देख्तै भयावह लाग्ने तिनै वयोवृद्ध अगस्ति बाजे अहिलेसम्म सप्तर्षिका साक्खै सँधियार, वंशियार अनि अंशियारसमेत मानिँदै आएका छन् । सनातन धर्मावलम्बीका गौरापर्व, तीज, जन्मोत्सव विवाह व्रतबन्ध आदि धार्मिक पर्वमा पुजिँदै आएका पनि छन् । धेरै बाँच्ने अभिलाषाको वर माग्ने प्रयोजनमा अश्वत्थामा जस्तै उनी पनि विशेष पूजनीय रहँदै आएका पनि हुन् । विन्ध्याचल पर्वतलाई घरि होच्याउने घरि अग्ल्याउने खेल तमासा देखाउँदै आएका तिनै बाहुबली ऋषि बाजेको यायावर जिन्दगीको फिरन्ते मनले एक दिन मत्र्य लोकको धुरी कहलिएको नेपाल लोकको अमरावती पुरीमा यात्रा तय गर्ने मुड बनाएछ । याने कि अमरावती कान्तिपुरी नगरी ! कुरो पनि हालैको रहेछ ।
त उनी एक दिन लागेछन् ऋषिलोकबाट नेपालतर्फ । हिमाल पहाड, तराईको देश अनि कोशी, गण्डकी, महाकाली जस्ता अजस्र सलिलाहरूले कतै सिँचाइ र कतै कटान, डुबान गर्दै ऊर्वर बनेको पवित्र माटो । पहाड, हिमाल, तराईका विविधताले भरिएका ठाउँठहर अनि देख्तै रहर लाग्दो गोरेटो बाटो ! वेदव्यास वाल्मीकिलगायत अरू ऋषि महर्षिलाई जस्तै उनलाई पनि मन नपर्ने कुरै भएन । बेतालकै तालले हुत्त हुत्तिएर कैलाश पर्वतमाथि चडेका मुनिवरले उडिल्लो डाँडाकिनार डिलकै चौतारोमा सुबन्त प्रसाद र तिङन्त प्रसाद नामका दुई जना युवावृद्धहरू आपसमा भलाकुसारी गर्दै गरेको देखेपछि एकछिन मनमनै गमे । विस्तारै सम्झिँदै जाँदा कुनै दिन आफैँले गुरुकुलमा पढाएका बटु त होइनन् ? भन्ने प्रश्नले तिरिखिरी पारेछ । दुविधा लागेर मनमा असुविधाको अनुभव भएपछि उनका पाइला पनि त्यतै बढे । छाँटकाँट देख्तै दुवै प्रसादले पनि आफ्नै गुरुदेव भन्ने परैबाट चिनिहाले । जो मन लागेको पाउलागी दर्शन र एकसरो चिनापर्ची रिन्यु गरिसकेपछि नेपालको हालखबरबारे गुरु ऋषिले सुध्याए ।
“हाल, के हालखबर छ नेपालको ?” सुवन्त प्रसादले हत्तपत्त भनिहाले, “यो सरहदमा हाल हजुरका चेला र अनुयायीहरू दिन दोब्बर रात चौबर बढिराखेका छन् । यो खुसी र गौरवको कुरा पनि हो । त्यसमा पनि हजुरका अल्पसङ्ख्यक अनुयायी रहिआएका पुराना पञ्चमार्गीका ठाउँमा नयाँ लोकका नयाँ तन्त्रीय थरी द्वारे जिम्मल आएपछि त खाने खुवाउने, पिउने पिलाउनेकै झ्याम्टा दमाहा बजेर तिरिमिरी झ्याइँ भएको छ । नयाँ रथ, नयाँ रथी अनि नयाँ सारथि पनि । उसमाथि नयाँ योजना, नौलो सुनौलो भ्रान्तिपथ । तपाईको हंसले पहिले यिनै वंशका मन, मुटु, बुद्धि, विवेक आदि सबै अंशमा प्रवेश गरेर रष्ट्रनिर्माताको पुरानो दिव्य उपदेशको आदर्श, सिद्धान्त, विचार आदि कुराको विध्वंस गरिदिएपछि के चाहियो र अरू ? पहिलेका नायक जति अहिले सब खलनायक । आआफ्ना धोजे गच्छे अनुसार नै पायक पर्ने किसिमले कोही सिउपुरी त कोही बालाजुतिर गायब ।
दल बदल्ने छौँडा खेल चलेपछि महाभारतको कौडा खेल पनि उसै हरायो । भोर्जुवाको दाउ पारेर मार्रा मार्रा भन्दाभन्दै अनेकथरी माराहरूको सङ्ख्या बढ्दै गयो । पानीमारा, भातमारा, खोला, टार, बगर बाटादेखि बजेटमारासम्म जन्मिए । साउने चिप्लेकीरा देखिन छोडे । यिनै माराहरूले लाब्रेकीरामा रूपान्तरित भएर गाउँ सहर ढाके । माउरीको भुनभुन आवाज हरायो यिनै अरिङ्गालहरू हुइँ हुइँ भुनभुनाएर टोक्न आइलागे । बिस्तारै पोलेका साङ्ला, उडुस, उपियाँ र मच्छडको मात्रै स्वाद लिन थालेछ यिनीहरूका जिब्राले पनि । अनि भएन त उल्का उटाम्बर ?
तिङन्त प्रसादको पनि मुख चिलाइसकेको थियो । सुवन्त प्रसादकै बोलीमाथि लोली खप्टिँदै उनी पनि मुखका कीरा मार्न अघि सरे । “खानुपर्ने, खाइरहनुपर्ने, सबै आफैँ खानुपर्ने अशक्त, वृद्ध आदि सबैको भाग पनि खोसेर, लुटेर, कुटेर, टोकेर, धोकेर जेजसरी भए पनि आफैँ मात्र खानुपर्ने, खाँदाखाँदै बेहोस हुँदा पनि खानुपर्ने । खाइरहनुपर्ने । धन्य हाम्रा अगुवा ! धन्य अगस्ति बा, हजुरको खानेपिउने बानीलाई पनि उछिन्दै खरानी पारेर लागू भयो वरप्रसाद !
खाइखेल्ने बानी पव्रिmएर डुरेमुसा बनेका जन्तुजनावर पनि रातो घर पस्दै भित्रभित्र खोस्रिँदै कोतर्दै अपत्तो भएपछि छुचुन्द्रो बनेर गनाउँदै बहिरिने गरेका छन् । सानो झुसिल्किरा भएर पस्ने अनि हेमानको अरिमोठे गोमन सर्प बनेर निस्कने छन् कोही । आफैँ दिन्छन् आदेश, खौरिन्छन् आफैँ परमादेश । दोष जति अनुचर परिचरका थाप्लोमा हालेर आपूm बनेका छन् नारायणी नदीको गोही । विदेशी वाइनको तुजुकमा वाइड बडीमा चढेर उपचारखर्चको नाममा ढुकुटी खलाँस पार्दै दैत्याकार बनेका छन् कोही । रोबोट युगमा ठेलगाडा चलाउनेका कुरा भो न भनौँ ! बेलाबखत चिट चपाउने हराम विद्यार्थीको मेख मार्दै कानुन चपाउने र ठाडै पचाउने उटाम्बरको खेला देखाउँदै गर्ने यिनको दैनिकचर्या भएको छ । भक्कुको राँगो बिर्साउनेगरी उन्मत्त छाडा भएर प्राकृतिक सम्पदा मानव स्रोत साधन भजाउने खलनायक मात्रै भेटिन थालेका छन् यहाँ ।”
फिलहालको कुरा । ठेलगाडाको अगाडि आएर भोका, नाङ्गा, लुला, लङ्गडा, बाल, वृद्ध अशक्तखाले मनुवाको जमात जम्मा भएर जमजमाउँदै दयाको भीख माग्न थालेको छ–“गरिब प्रवर’ हामी कोशीपीडित हौँ । हामी सेती, कर्णाली र महाकालीका बाढीपीडित हौँ । हामी तिनाउ, रातु, बागमती पीडित हौँ, हामीले राहत पाएनौँ ।” कुरा सुन्दा लाग्दथ्यो, बाढीपीडित अझै सहायता पाइन्छ भन्ने भ्रममा रहेछन् । विवशताभित्र जालो लागेको अज्ञानताको हद ! यता गुड्डी हाँक्न खप्पिस गाडापतिको कन्सिरी नतात्ने कुरै भएन तर एकछिन शान्त भएर आफैँ संयमित बन्दै भनेछन् उनले पनि– “बाबु हो जुवाघर जैलेतैले अवरुद्ध भए पनि जुवाडेहरूको बेकामे भत्ता, यातायात खर्च बाँड्नु छ । उपचार खर्च भैपरी डेराभाडा, पत्रिका, टेलिफोन, अझ त्यतिले नपुगेर कोटी कोटी परिमाणमा विकास खर्च नाउँको दाइजो पनि दिनै छ । भन्सार फ्रीमा प्राडो, पजेरो झिकाउने व्यवस्था गर्नु त अझै बाँकी छ । उनीहरूको विदेश भ्रमण, कौडातास, डान्सबार यी सबैको व्यवस्था गर्नै छ । सर्वसञ्चित कोष, अर्धसञ्चित कोष, आपत्विपत् कोष, वैदेशिक रेमिट्यान्स, भन्सार कर केही बाँकी रहेन । भए जति ढुकुटी खलास भइसक्यो । बाँड्दिने कुरै बाँकी छैन । तिमीहरू थपक्क फर्क आआफ्नै ठाउँमा ।” आश्वासनको साटो सास फुलाउने कासन पाएपछि एकै स्वरले मुखरित भए पीडित पनि– “हामी भोकै छौँ, नाङ्गा र आश्रयहीन पनि छौँ । कहाँ जाने ?” विवशता र याचनाको शैलीमा माग अन्मरियो । अगाडि सिटमा गजधम्म परेर बसेको गाडावालको आश्वासन पनि छिमेकी दादाकै शैलीमा तत्काल फुरिहाल्यो– “बाबु हो, तिमीहरूका घरघरमा कोशी पनि नभनौँ अझ कौशिकी माता भव्य स्वरूप लिएर आएकी छन् । कर्णाली महाकाली गण्डकी त झन् टोल छिमेकमै धाएकी छन् । अभ्यर्थना गर गङ्गा माताको । अनि उनीहरूसँगै सहकार्यमा सामूहिक माछाखेती गर । माछासँगै सहायक खेतीको रूपमा पाहा, भ्यागुता, सर्प, गँगटा आदि पानीकीरा पनि थप्न सक्छौ । यो ठाउँका हेभी वेट अगुवाले समेत सर्पखेती गरेर देशलाई मुरी मुरी गुन लगाएका छन् । कतिले खसी खेती गरेर सारा नेपालीलाई बसी बसी मासुभात खाने खुसीको जोहो गरिदिएका छन् । हामीले जापानको मैत्रीपूर्ण भ्रमण गर्दा समुद्रभित्रै माछाखेती गरेको देखेका थियौँ । कर भन्सार र अन्य दैदस्तुर पनि माफी मिनाहा गरी दिउँला । सित्तँै पाइने र सस्तो पानीमा फल्ने प्रोटिनको भरपूर उपयोग गर । नाङ्गै छौ त सर्पखेती गरेर त्यसैको छालाबाट गतिला आवरण र परिधान तयार गर । चरा पालन गरेर भुवाको पस्मिना बनाऊ । कीरा खेती गरेर रेशमको सिरक डसना सिलाऊ, हेर त विदेशका फेसन बजारमा गोही सर्पको छाला र रेशमी सामान कति महँगो छ ! खेतीका फलिफाप पर्खिंदासम्म अप्ठ्यारै परिहाले हालका लागि धुनी जगाऊ रातभरी । घमाइलो ठाउँमा जाऊ र आफ्नै घाँटीमा दाम्लो बाँधेर पगाहा लगाऊ । घामको न्यानो खाएर दिनभरीको सातुसामल जोगाऊ ।”
“उहिलेका ऋषिमुनि पनि भित्री आचरणमा जोड दिन्थे, बाहिरी आवरणको त्यति वास्ता गर्दैनथे । जिउभरी खरानी घस्थे । शीत वात प्रकोपबाट बच्न धुनी जगाएर बस्थे । एक दिन डढिजाने नाशवान कायाको केको माया, होइन र ? दाउराका लागि समस्या त छैन होला । बाढीमा बगेर तिम्रा टोलछिमेक र बस्तीछेऊ आएका ठुटामुढाको जोहो गरेकै हौला ! नगरेकै भए पनि अव गर्नू । दिनभरी न्यानो घामको भरपुर उपयोग गर । शरीरका लागि चाहिने जति भिटामिन डीको सञ्चय गर । यसपालि चैत नलाग्दासम्म हाम्रो सुपरफास्ट प्रशासनले कुहिरो लाग्न नदिने भरपर्दो योजना बनाएको छ । ढँुडी हुस्सु नलाग्दै दोहोलो काडेको छ । जाडो ल्याउने झरी देखापर्ने छैन । नगीचपुँडो चउर नभए करेसा छानोतिर निस्किएर तातो घाममा न्याकेड बडीलाई विश्राम देऊ । त्यसबाट मिल्ने भिटामिन डीले तिमीहरूको बडीभित्र रोगव्याधिले कुनै गडबडी पैदा गर्न सक्ने छैन । ठुलठुला नामी दामी समुद्री किनारका पर्यटन क्षेत्रलाई आफैँ उदाहरण बन्दै नेपालभित्र तानेर ल्याऊ । नाङ्गै नाच, एक्लाएक्लै गाऊ । माछाले नभ्याए झ्याउ, लेउ, घाँसपात मुसा, गँगटा, पाहा जेजे पाइन्छ आहार बनाऊ । विकसित देशमा सिफुडभन्दा पनि ग्रासफुड पपुलर हुँदै छ । यहाँ पनि रिभरफुड र गल्फफुडलाई मुख्य आहार बनाऊ । विदेशका कुनाकाप्चासम्म यो नयाँ अभियानको प्रचार गरेर प्रसिद्धि कमाऊ । आहारको विविधतालाई बाढीले दिएको अमूल्य वरदान सम्झिएर मन बुझाऊ, चित्त नदुखाऊ ! ’
दुवै चेलासाथ बसेर गाडावान्को आश्वासन सुन्दै गरेका अगस्ति बाबाले पनि अरू धैर्य गर्न सकेनन् । भनिहाले “कोरानाका अनेकथरी भेरिएन्ट बढे जस्तै यहाँका अगुवा पछुवा सबैलाई भेरिएन्टले गाँजिसकेछ । अब तत्काल यसको निदान देखिँदैन । खोज्नुपर्छ ।” यति भन्दै अगस्ति बाबा पनि आपूmभन्दा कता हो कता मापाका मनुवाहरूको चर्तिकलाले हाँस्दै खुरुक्क कैलाशतिरको बाटो लागे ।