• १२ साउन २०८१, शनिबार

अव्यवस्थित सडक निर्माणले पहिरो बढ्ने

blog

वालिङ नगरपालिकाको विविध पक्ष समेटेर तयार पारिएको नक्सा तथा प्रतिवेदन पालिकालाई हस्तान्तरण गरिंदै ।

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर २२ गते । वालिङ नगरपालिकामा हुने बाढीपहिरोको मुख्य कारण अव्यवस्थित सडक निर्माण रहेको एक प्रतिवेदनले देखाएको छ । कुनै मापदण्ड पूरा नगरी खनिएका सडकका कारण ८६ प्रतिशत धेरै बाढीपहिरो बढेको हो । 

यो पछिल्लो पाँच वर्षको तुलनात्मक अवस्था भएको जोखिमविद् निरोज तिमिल्सिनाले जानकारी दिनुभयो । वालिङ नगरपालिकाको एकीकृत र समावेशी जोखिम संवेदनशील भू उपयोग योजना, भवन मापदण्ड तथा वातावरणीय अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । 

पालिकाले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) सहकार्यमा तयार पारेको प्रतिवेदन अनुसार वालिङका १३ प्रतिशत खेतीयोग्य जमिन पहिरोको उच्च जोखिममा छ । यस्तै चार प्रतिशत मानवबस्ती पनि पहिरोको उच्च जोखिममा छ ।  

भूबनोटको मूल्याङ्कन नगरी बनाइएका योजनाहरुले वातावरणमा धेरै नकारात्मक प्रभाव परिरहेको विज्ञ डाक्टर विजयकृष्ण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी योजना बिना काम गर्छाैं अनि फुसर्दमा पछुताउने गर्छाैं, यसतर्फ बेलैमा सचेत बनौं ।”

युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले जल, जमिन र जङ्गलको समुचित प्रयोग गर्दै हरित रोजगारी सिर्जनामा पालिकाको ध्यान जानुपर्नेमा जोड दिनुभयो । विपद् जाेखिममा मानवीय क्रियाकलाप सबैभन्दा धेरै रहेको भन्दै अर्यालले दिगो विकासको स्थानीयकरणका लागि दीर्घकालीन योजना अपरिहार्य रहेको बताउनुभयो । 

कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले नगरपालिकालाई वातावरणमैत्री बनाउने स्पष्ट पार्नुभयो । वातावरणीय अध्ययन बिनाका योजनाहरु अपूरा हुने प्रमुख खाँणको तर्क छ। उहाँले प्रतिवेदनमा उल्लेख भए अनुसार नयाँ नीति र नियम बनाएर व्यवस्थित बस्ती निर्माणमा पालिका तत्कालै लाग्ने प्रतिबद्धता गर्नुभयो । जोखिम न्यूनीकरण, उत्पादन वृद्धि तथा व्यवस्थित बस्ती निर्माणका लागि प्रतिवेदनले धेरै सहयोग गर्ने खाँणको भनाइ छ ।

गोष्ठीमा नगर उपप्रमुख कविता तिवारी गैह्लेले समृद्ध नगरका योजनाहरु तर्जुमा गर्दा भूबनोट, जोखिमका अवस्थाहरु लगायतका पक्षहरुलाई मूल्याङ्कन गरिने बताउनुभयो । उपप्रमुख तिवारीले भन्नुभयो, “प्राकृतिक सम्पदाको बचावट र तिनको उपयोगबाट नगरको आर्थिक, भौतिक लगायताका पक्षहरु सबल बनाउन हामी प्रतिबद्ध छौं ।”

यूुनडिपीको सहकार्यमा तीन वर्ष लगाएर तयार पारिएको प्रतिवेदनलाई वालिङले अक्षरसः पालना गर्न आवश्यक रहेको भन्दै निवर्तमान नगरप्रमुख दिलीपप्रताप खाँणले सबैको सहकार्य र जोडले मात्रै वालिङको समृद्धि सम्भव रहेको बताउनुभयो । प्रतिवेदनमा नगरपालिकाको १४ वटै वडाको विस्तृत विवरण समावेश गरिएको छ ।