• १ जेठ २०८१, मङ्गलबार

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

‘चलचित्र विकासका लागि राजनीतिक प्रतिबद्धता’

blog

काठमाडौँ, मङ्सिर २२ गते । काठमाडौँमा नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा मङ्सिर २३ देखि २६ सम्म हुने महोत्सवको ११ औँ संस्करण नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुने छ । 

विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलित वृत्तचित्र, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्र महोत्सवमा प्रदर्शन हुँदै छन् । नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटाली, आयरल्यान्ड, किर्गिस्तान, जर्जिया, पोल्यान्ड, ताजकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतबाट प्राप्त मानव अधिकारका विषयमा निर्मित चलचित्र तथा वृत्तचित्र महोत्सवमा प्रदर्शन गरिने छ ।

महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई रहनुभएको छ । जुरीबाट छनोट भएका उत्कृष्ट पाँच चलचित्रलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय सर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगदसहित पुरस्कृत गरिने छ । त्यस्तै एक उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिने छ । महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबिच बहस हुने छ । 

यस वर्ष ‘चलचित्र विकासका लागि राजनीतिक प्रतिबद्धता र सामूहिक अधिकार, अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीबिच छलफल पनि राखिएको छ । मानव अधिकारसँग सम्बन्धित तस्बिर प्रदर्शनी पनि हुने छ भने समापन समारोहमा बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘एल्लो’ प्रदर्शन गरिने छ । 

महोत्सवका निर्देशक तथा मानव अधिकार चलचित्र केन्द्रका कार्यकारी निर्देशक पाण्डव खत्रीले सामाजिक न्याय र मानव अधिकार प्रवर्धनको उद्देश्यले सुरु गरिएको महोत्सवको ११ औँ संस्करण आयोजना हुनु मुलुककै लागि गर्वको विषय भएको बताउनुभयो । “महोत्सवले स्वदेशी तथा विदेशी चलचित्रकर्मी र मानव अधिकारकर्मीबिच अन्तर्क्रियाको अवसर प्रदान गर्छ,” उहाँले भन्नुभयो । महोत्सवमा लैङ्गिकता, जातीय विभेद, द्वन्द्व, बासाइँसराइ, पर्यावरण, मानव अधिकार जस्ता विषयमा बनेका वृत्तचित्र, सर्ट र फिक्सन चिलचित्र प्राथमिकतामा परेका छन् ।