विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक १० गते । मिथिलाञ्चलका महापर्व छठ सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिई मिथिलाका साथै देशभरि मनाइँदै छ ।
हिन्दू धर्मावलम्बी बाहेकका विभिन्न धर्मावलम्वीहरू समेतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस पर्वलाई मनाउन थालेका कारण छठलाई लोकतान्त्रिक र समावेशी पर्वको रूपमा पनि व्याख्या हुन थालेको हो।
छठ पर्वमा सूर्यदेवको पूजाआजा, अराधना, प्रार्थना र अर्चना मुख्य रूपमा गरिन्छ र सूर्यले पनि मानिसको अस्तित्व र अस्मितालाई स्वीकारी गरिब, धनी, सम्पन्न विपन्न सबैलाई सामान रूपबाट हेर्ने भएकाले पनि यसलाई समावेशीहरूको पर्व पनि भन्न थालेका छन् समाजका अगुवावर्गहरूले ।
पारिवारिक सुख समृद्धि र शान्तिको कामनाका लागि मनाइने महापर्व छठको तेश्रोदिन सोमबार अस्ताउदो सूर्यलाई अर्घ दिइँदै छ । श्रद्धालुहरू सूर्य देवतासँग प्रार्थना गर्नुको साथै आफ्नो दुःख, कष्ट र रोग व्याधीको नास होस् भन्ने कामना समेतका लागि यो पर्व मनाउँछन् ।
पूजा सामग्री, ढाकी, डाला, माटोको हात्ती, केरा, नैवेद्यका रूपमा भातीभातीका परिकार तथा फलफूलहरू समावेश गरिने यस पर्वमा मिथिलावासी मात्र होइन पहाडी तथा मुस्लिम समुदायका व्यक्तिहरूले पनि श्रद्धापूर्ण रूपमा मनाउन थालेका छन् । सक्नेले व्रतमा बस्ने, नसक्नेले फलफूल व्रतालुलाई दिएर सूर्यको आराधना गर्दै आएका छन् ।
भकक्तजनहरूले आआफ्नै इच्छा आङ्काक्षा मनोकामना राखेर छठपर्व मनाउँदै आएको मैथिली साहित्य परिषद सप्तरीका पूर्व अध्यक्ष सतिशकुमार दत्त बताउनुहुन्छ । कसैले सन्तानका लागि त कसैले विभिन्न प्रकारको रोगबाट मुक्त हुने, श्री सम्पतिमा वृद्धी हुने लगायतका मान्याताका साथ छठपर्व मनाउने गरेको दत्तको भनाइ छ ।
धार्मिक ग्रन्थहरूमा सृष्टिको उषाकालदेखि नै छठ पर्वको सुरुवात भएको उल्लेख छ । सूर्यको उपासनाबाट सबै प्रकारका बिरामीहरूबाट मुक्त हुन्छन् । मनमा कामना राखेर छठपर्व गर्नाले छालाको तथा चर्मरोग निको र पुत्रलाभ हुने तथा सबै मनोकामना पुरा हुने आस्था र जनविश्वास रहिआएको बताउनुहुन्छ ममता कर्ण ।
सूर्यपुराणमा उल्लेख भए अनुसार सर्वप्रथम अत्रिमुनीकी धर्मपत्नी अनसुइया देवीले सफल दाम्पत्य जीवन र सन्तान सुखका लागि कात्तिक शुक्लपक्ष षष्ठिका दिन यो पर्व गर्नुभएको थियो । सोही समय देखि छठ पर्वको शुरुवात भएको मानिन्छ । अनसुइयाले गर्नुभएकै विधी, परम्परा र सूर्य उपासना पछि चल्दै गएर मिथिला तथा आर्यावर्त क्षेत्रमा छठ पर्वको रूपमा मनाउन थालिएको हो ।
छठमा महिलाहरूले सूर्यदेव र उषा देवी (छठी मइया) लाई अर्घ दिई सन्तान र परिवारको दीर्घायुको कामना गर्छन्, जसको आदर्श अनसूया देवीको पतिव्रता धर्म र अत्रि मुनीको सूर्य आराधनासँग गहिरो सम्बन्ध रहेको पंडित कमलकान्त झाले बताउनुभयो ।
छठपर्व मनाउने श्रद्धालुहरूले कात्तिक महिनाको प्रारम्भदेखि छठ नहुन्जेलसम्म तामेसी भोजन त्याग्ने गर्दछन् । उहाँहरुले माछा, मासु, अण्डा, लसुन, प्याज जस्ता तामेसी भोजन त्यागी शाकाहारी हुन थाल्छन् ।
छठको व्रत बस्ने व्रतालुहरू छठको शुरुवातमा पहिलो दिन स्नान गरेर शाकाहारी भोजन ग्रहण गर्दछन्, जसलाई अरवा अरवाइन’ वा नहाइ खाय’ भनिन्छ । यसको अर्थ नुहाएर खानु हो । त्यस्तै पञ्चमीतिथी अर्थात दोस्रो दिन ुखरनाु का दिन व्रती दिनभरि उपवास बसी नुहाई धुवाई गरी नयाँ वस्त्र धारण गरेर आआफ्नो इष्ट देवता भएको कोठामा पकाएको पुरी, गुँड, दुध र अरवा चामलको खीर र केरा अनिवार्य हुनुपर्दछ । देउता घरमा पकाएको प्रसाद पूजापछि ढोगेर घरपरिवारका सबै सदस्यमा वितरण गरिन्छ ।
छठको तेस्रो दिन षष्ठीको दिन दुलही जस्तै पोखरी, नदी, तलाउ, तथा अन्य जलाशयलाई सजाएर गङ्गाजल छर्की शुद्ध पारी अर्घका लागि त्यस स्थानमा पूजा सामग्री राखिन्छ । छठ अर्थात षष्ठीको दिन गहुँ, चामलको पिठोबाट बनाएको ठकुआ, भुसवा, केरा, ऊखु, मेवा, मिष्ठान, कन्दमूल, नरिवल, अम्वा, विभिन्न हरियो सागसब्जी, फलफूल सहित ढाकी, कोनिया र नाङ्गलोमा सजाएर जलाशयमा गएर अस्ताउँदो सूर्यलाई प्रथम अर्घ अर्पित गरिन्छ । जसलाई स्थानीय भाषामा सझिया घाट वा अरक भनिन्छ ।
षष्ठीको साँझ अर्घपछि पूजा सामग्री सहित जलाशयमा जागराम बसी मनोरञ्जन पनि गरिन्छ । जलाशय किनारमा अधिकांश श्रद्धालुभक्तजन पाल टाङ्गेर जाग्राम बसी भजनकीर्तन गर्दछन् ।
रातभरि जाग्राम नबस्ने श्रद्धालुहरू पूजा सामग्री घर ल्याई पुनः सप्तमीको बिहान चौथो दिन छठगाट लग्छन् । सूर्यको प्रकासबाट कुनै किसिमको घात नहुने भनेर अस्ताउँदो र उदाउदो सूर्य लाई अर्घ दिइन्छ र प्राकृति स्रोतका सम्पन्नताका लागी कोनिया नाङलो छिटामा कृषि उपजका झारपात राख्ने चलन रहेको छ ।
सप्तमीको बिहान षष्टीका दिन दिइएका अर्घका सामग्रीहरूलाई पुनः उदाउँदो सूर्यलाई अर्घ्य अरपित गरेर छठ पर्व समापन गरिन्छ । यस पर्वमा सूर्यको अर्चना एवं आराधना र पूजा आजा गरिएता पनि यसको लोकप्रियता एवं व्यापकता छठ परमेश्वरी’ वा छठ माताको पूजाको रूपमा प्रचलित रहेको छ । वेदमा उल्लेख भए अनुसार उषालाई छठ परमेश्वरीको साक्षात् रूपमा पूजा आजा गर्ने मान्यता रहेको छ ।
व्रतालु महिलासँगै परिवारका सदस्यहरू नयाँ लुगा र गरगहनामा सजिएका हुन्छन् । बिगतमा महिला मात्र व्रतमा बस्ने चलन रहेकोमा केही वर्ष यता पुरुषहरू समेत व्रत लिने गरेकाले यसलाई समावेशी पर्वको रूपमा पनि सामाजिक अगुवाहरूले व्याख्या गर्न थालेका छन् ।