• २३ वैशाख २०८१, आइतबार

ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट

blog

काठमाडौँ, मङ्सिर २० गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ग्राउन्ड ह्यान्डलिङको बोलपत्र प्रयोजनको तयारीका लागि प्राधिकरणका इलेक्ट्रोमेकानिकल विभाग प्रमुख सुनीलकुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राधिकरणले पहिलो पटक विश्वका ठुला एयरलाइन्सले समेत भाग लिन पाउने गरी खुला प्रतिस्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने तयारी गरेको छ । ग्राउन्ड ह्यान्डलिङमा दिँदा प्राविधिक र आर्थिक ढाँचा कस्तो हुने भन्नेबारे समितिले अध्ययन गर्ने छ ।” समितिले खुला प्रतिस्पर्धाका माध्यमबाट ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउन सेवा प्रदायक संस्थाको छनोट गर्ने प्रयोजनका लागि बोलपत्रसम्बन्धी कागजातसमेत तयार पार्ने उहाँले बताउनुभयो ।

प्राधिकरणले विमानस्थल सेवा शुल्क, २०७८ नियम ५(२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धामा छनोट गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको निगमले व्यावसायिक उडानभन्दा ग्राउन्ड ह्यान्डलिङलाई मात्रै आम्दानीको मुख्य स्रोत बनाएपछि प्राधिकरणले प्रतिस्पर्धा गराउने निर्णय गरेको बताइएको छ । हाल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत निगमले ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको छ । 

निगम र प्राधिकरणबिच सन् २०२० को जनवरीमा भएको सहमतिअनुसार सन् २०२५ को जनवरी अन्त्यसम्म निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको छ । हाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हकमा उक्त निर्णय गरिएको र पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भने हाललाई निगमले नै जिम्मेवारी दिइने प्राधिकरणले जनाएको छ । निगमले सन् २०१६ देखि आफ्नो सेवालाई अन्तर्रष्ट्रियस्तरको सेवामा मापन गर्दै आएको छ । निगमले भने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आयटा) को मापदण्ड अनुसारको ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको दाबी गर्दै आएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै हाल निगमका ग्राउन्ड ह्यान्डलिङ, इन्जिनियरिङ, क्यास र क्वालिटी फ्लाइट सेफ्टी विभागमा झन्डै एक हजार कर्मचारी कार्यरत छन् ।  विमानस्थलमा उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ गरेको भन्दै निगमले २०७४ सालमै अन्तर्राष्ट्रियस्तरको आइएटिएच सेफ्टी अडिट फर ग्राउन्ड अप्रेसन (आइसागो) प्रमाणपत्रसमेत प्राप्त गरेको थियो । आइसागो विश्वका ग्राउन्ड ह्यान्डलिङ गर्ने उत्कृष्ट एयरलाइन्सलाई दिइने सर्टिफिकेट हो ।

   

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।