• १७ कात्तिक २०८२, सोमबार

‘जेन्जीका माग अनुचित थिएनन्, अरुले प्रयोग गरे’

blog

प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा महासचिव शङ्कर पोखरेल ।

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १७ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जेन्जी पुस्ताले अघि सारेको माग उचित भएको तर त्यसको आवरणमा अरुले खेलेर युवा पुस्तालाई बदनाम गरेको बताउनुभएको छ । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको संवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। 

जेन्जीका माग अनुचित नभएको र सो माग सरकारले पनि पूरा गर्न सक्ने रहेको पत्रकार सम्मेलनमा बताउनुभयो । साथै उहाँले उनीहरूले राखेका माग तत्कालीन सरकारसमक्ष प्रस्तुत नै नभएको उहाँको भनाइ छ । जेनजी पुस्ताको आन्दोलनमा नेतृत्व कसले गरेको भन्ने विषय नै प्रष्ट नभएको उहाँले बताउनुभयो । 

महासचिव पोखरेलले भदौ २३ र २४ मा भएको आन्दोलनमा मोबाइलको लत बसेका युवाहरूलाई गलत तत्वले प्रयोग गरेको दाबी गर्नुभयो । उहाँले ‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने युवालाई गलत तत्वले प्रयोग गरे’ उहाँले भन्नुभयो,  “सूचना प्रविधिप्रतिको आशक्ति, लत कस्तो तहमा पुगेको छ भन्ने कुरालाई गलत तत्वले प्रयोग गरेको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ ।”

साथै, उहाँले पूर्ववर्ती सरकारले कनै पनि चासो देखाएन भन्ने जबरजस्त भाष्य स्थापना गर्न खोजेको गुनासो गर्नुभयो । ‘सामान्य कुरामा पनि सरकारले किन चासो राखेन भन्ने जबरजस्त भाष्य स्थापित गर्न खोजिदै छ । अहिले जसरी चर्चा गर्न खोजिएको छ त्यो उचित थिएन’ पोखरेलले भन्नुभयो, “परिस्थितिलाई आफ्नो स्वार्थ अनुकूल अघि बढाउन घटना बढाइएको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरिरहेको छ ।’

संसद् पुनर्स्थापना हुनुपर्छ

एमालेका महासचिव शंकर पोखरेलले विगतको नजिरको आधारमा संसद् पुनर्स्थापना हुने दावी गर्नुभएको छ । पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले भन्नुभयो, ‘सुशीला कार्की नेतृत्वको सरकारलाई जनता र संसद्ले चिनेको छैन ।’

उहाँले बहुमत प्राप्त गरेको सरकारले विघटन गर्दा समेत विघटन गर्न पाइँदैन भन्ने सर्वोच्च अदालतले जनता, प्रतिनिधिसभा र संविधानले चिन्दै नचिनेको सरकारले गरेको विघटनलाई सदर गर्ला भनेर विश्वास नभएको बताउनुभयो ।