गोविन्द शर्मा
बाँके, कात्तिक १७ गते । नेकपा (एमाले) बाँकेले जेन्जी आन्दोलनपछि युवा पुस्ताका नेतृत्वसँगको संवाद र छलफललाई सक्रियता दिने निर्णय गरेको छ । जेन्जी आन्दोलन लगत्तै पार्टीका भेला र बैठक आयोजना गरिएकोमा अब जनप्रदर्शन लगायतका कार्यक्रम गरिने एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो।
गुरुङले भन्नुभयो, “जेन्जी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माण गरी सोही भवनमा बसेको जिल्ला कमिटीको बैठकले जनपरिचालनको निर्णय गरेको हो ।” शनिबार र आइतबार भएको जिल्ला कमिटीको बैठकले नयाँ युवाहरुसँग सार्थक संवाद चलाउने निर्णय गरेको हो । कात्तिक २२ गते ८१ वडामा र २४ गते आठवटा पालिकामा नवयुवासँग सार्थक संवाद र जनभेला गरिनेछ ।
जिल्ला कमिटीका इन्चार्ज तथा केन्द्रीय सदस्य शान्ति ढकाल र केन्द्रीय सदस्य सूर्य ढकाल र दीपा शर्माले एमालेले बाँकेमा पार्टी गतिविधि बढाउँदै पार्टीलाई पहिलो शक्ति बनाउन लागिपरेको बताउनुभयो।
एमाले बाँकेका उपाध्यक्ष तथा भवन पुनर्निर्माण समितिका संयोजक रत्न खत्रीले कार्यकर्ता र शुभेच्छुकको सहयोगमा पार्टी कार्यालय पुनर्निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले बाँकेले निर्णय सार्वजनिक गरेको छ ।
एमालेको निर्णयअनुसार कात्तिक २९ गते जिल्लास्तरीय जनभेला र मङ्सिर १ गते जेन्जी आन्दोलनको नाममा आपराधिक कार्यमा संलग्नलाई कार्बाहीका लागि दबाब दिन धर्ना दिइने भएको छ । एमालेले कांग्रेस र माओवादी केन्द्र लगायत राजनीतिक दलसँग मिलेर पुष्पलाल, गणेशमान र बिपीका ढालिएका शालिक पुनःस्थापना गर्न पहल भइरहेको जनाएको छ ।