• ८ जेठ २०८१, मङ्गलबार

पर्यटकीय पोखरी दुई वर्षदेखि सुक्खा

blog

दोलखा समाचारदाता

दोलखा, मङ्सिर १६ गते । भीमेश्वर नगरपालिका–६ को पर्यटकीय क्षेत्र सिमपानीमा निर्माण गरिएको पोखरीलगायतका पर्यटकीय संरचना साढे दुई वर्षदेखि बेवारिसे बनेको छ । दोलखाको सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिकाको लाखौँ रुपियाँको लगानीमा निर्माण भएको पोखरीलगायतका संरचना अहिले भत्किनुका साथै टुटफुट भएर बेवारिसे बन्न पुगेको छ । कुनै बेला सिमपानी क्षेत्रको भ्रमणमा जानेहरू डुङ्गा चढेर रमाउने गरेको यो ठाउँ अहिले बेवारिसे बन्न पुगेको छ । यो पोखरी लेउ र झारले ढाकिएको छ । बालबालिकाको मनोरञ्जनका लागि पोखरी आसपास राखिएका खेल सामग्री र कुर्चीहरू टुुटफुट भएका छन् । पर्यटकीय संरचना बेवारिसे बनेपछि पछिल्लो समय सिमपानी क्षेत्रको भ्रमणमा जाने आन्तरिक पर्यटकको सङ्ख्यासमेत शून्य भएको छ ।

संरचना निर्माणमा भीमेश्वर नगरपालिकाको ६० लाख रुपियाँभन्दा बढी बजेट खर्च भएको छ । थापा समुदायको गैराश्वाँरा समाज सेवा उपभोक्ता समिति र नगरपालिकाले पोखरीलगायत संरचना निर्माण गरेर सो क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्न सुरु गरेको थियो । पर्यटकलाई आकर्षित गर्न र सिमपानी क्षेत्रमा चहलपहल बढाउन २०६९ सालमा पोखरी निर्माण सुरु गरिएकोमा २०७० सालमा निर्माण सम्पन्न भएको थियो । नगरपालिकाको नियम अनुसार सम्पन्न भएपछि स्थानीयलाई हस्तान्तरण गरिएको नगरले जनाएको छ । गैरास्वाँरा समाज सेवा समितिका अध्यक्ष नारायणबहादुर थापाले परापूर्वकालदेखि सानो पोखरी रहेको यो स्थानमा नगरपालिकाको आर्थिक सहयोगमा डुङ्गा सञ्चालन गर्न पोखरी निर्माण गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार गैरास्वाँरा समाज सेवा समितिको १९ रोपनी जग्गा रहेको छ । यो क्षेत्रलाई ‘पर्यटकीय हब बनाउन पोखरी निर्माण गरिएको थियो । प्लास्टिकका कुुर्ची, फलामका कुर्सी, बालबालिकाका लागि खेल सामग्री र शारीरिक व्यायामका सामग्री राखिएको थियो । ती सामग्री अहिले बेवारिसे बनेका छन् । सिमपानी क्षेत्रमा राखिएका कुर्सीमध्ये अधिकांश भाँचिएका छन् । पोखरी झारले घेरिएको छ । त्यहाँ चल्ने डुङ्गा थन्क्याएर राखिएको छ । अध्यक्ष थापाले भन्नुभयो, “केही गर्दा पनि संरक्षण तथा सञ्चालन गर्न सकिएन । हेरालु राख्न आर्थिक अभाव छ । सोचेको सपना उद्देश्यहीन बन्न पुग्यो ।” 

वडा नम्बर–६, गैरास्वाँराका स्थानीय भरत थापाले सात लाख रुपियाँ खर्च गरेर भारतबाट तीन वटा डुङ्गा ल्याई २०७५ देखि २०७७ सालसम्म सञ्चालन गर्नुभएको थियो । उहाँले पोखरीमा डुङ्गा चलाएबापत नगरपालिकालाई मासिक पाँच हजार रुपियाँ तिर्दै आउनुभएको थियो । दुई वर्षसम्म डुङ्गा चल्दै गर्दा पोखरीमा पानीको अभावका कारण जनाउँदै थापाले डुङ्गा बन्द गर्नुभएको हो । आफ्नै बारीको मूलको पानी पोखरीमा भर्दा पनि पर्याप्त नभएको र लगानीसमेत उठ्ने अवस्था नदेखिएपछि डुङ्गा चलाउन बन्द गरिएको उहाँको भनाइ छ ।

यो पोखरीमा डुङ्गा चलाउन बन्द भएसँगै पोखरीलगायत संरचना बेवारिसे बनेका हुन् । नगरपालिकाले पोखरीको संरक्षण तथा सञ्चालनमा ध्यान नदिँदा सबै संरचना रुग्ण बन्न पुगेका स्थानीयको गुनासो रहेको छ । नगरपालिकाले केही समयअघि सिमपानी पार्क सञ्चालनका लागि नगरपालिकालाई वार्षिक २० हजार रुपियाँ तिर्ने गरी जारी गरिएको सूचनामा कसैको पनि आवेदन नपरेको नगरपालिकाका वरिष्ठ लेखा अधिकृत जगदीश अर्यालले जानकारी दिनुभयो । नगर प्रमुख ईश्वरनारायण मानन्धरले बेवारिसे बनेको सिमपानी क्षेत्रलाई नयाँ पार्कको रूपमा विकसित गर्न डिपिआर निर्माण सुरु भएको र पूर्वाधार निर्माणका लागि अन्य निकायको समेत सहयोग मागिने बताउनुभयो ।