• २८ असोज २०८२, मङ्गलबार

गुल्मीका ५७ हजार बढी घरधुरीमा खानेपानीको पहुँच

blog

मुसिकोट नगरपालिका-४, दोभानमा खानेपानी भर्दै स्थानीय महिला । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), असोज २८ गते । गुल्मीका ५७ हजार बढी घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । जिल्ला समन्वय समिति गुल्मीले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका १२ स्थानीय तहका ६० हजार ५९७ घरधुरी मध्ये ५७ हजार १०० घरधुरीमा खानेपानीको पहुँच पुगेको हो । 

जिल्ला समन्वय समिति गुल्मीले समग्र कार्यालय र स्थानीत तहका जिल्ला समिक्षा गरेपछि आर्थिक सामाजिक तथा भौतिक क्षेत्रमा गरेको प्रगतीको वार्षिक प्रगती विवरण निकाल्ने थालेको छ । जिल्ला समन्वय समितिको प्रतिवेदनको आधारमा रेसुङ्गा र छत्रकोट गाउँपालिकाका सवै घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । रेसुङ्गा नगरपालिकाका नौ हजार १५ र छत्रकोट गाउँपालिकाका पाँच हजार ३०७ घरधुरीमा खानेपानी पुगेको छ । 

जिल्लाको मुसिकोट नगरपालिकाका सात हजार ९९ घरधुरीमध्ये पाँच हजार ५२७ घरमा खानेपानी सेवा पुगेको छ । अझै एक हजार ५७२ घरमा खानेपानीको सुविधा पुग्न बाँकी छ । त्यस्तै चन्द्रकोट गाउँपालिकाका पाँच हजार ४९ घरमध्ये चार हजार ९८० घरमा खानेपानी सुविधा पुगेको छ ।

मदाने गाउँपालिकाका पाँच हजार २५३ घरमध्ये तीन हजार ६६७ घरमा मात्र खानेपानी पुगेको छ । मदानेमा अझै एक हजार ५८६ घरमा खानेपानीको पहुँच नपुगेको देखिन्छ । सत्यवती गाउँपालिकामा पाँच हजार  १६९ मध्ये तीन हजार ६५२ घरमा, कालीगण्डकी गाउँपालिकामा तीन हजार ५५७ मध्ये दुई हजार ९५७ घरमा र इस्मा गाउँपालिकामा पाँच हजार ९९ मध्ये तीन हजार ९८७ घरमा खानेपानी सुविधा पुगेको जिल्ला समन्वय समिति गुल्मीको सूचना अधिकारी शाखा अधिकृत सृजना मिश्रले जानकारी दिनुभयो । धुर्कोट गाउँपालिकामा पाँच हजार ३८२ मध्ये चार हजार ९४५ घरमा, मालिका गाउँपालिकामा पाँच हजार २४१ मध्ये चार हजार ५५४ घरमा र रुरुक्षेत्र गाउँपालिकामा चार हजार २२७ मध्ये तीन हजार ६७ ५ घरमा खानेपानी सुविधा पुगेको मिश्रले बताउनुभयो ।

त्यस्तै गुल्मी दरबार गाउँपालिकाका पाँच हजार २५३ घरधुरीमध्ये चार हजार ८०३ घरमा सेवा पुगेको छ । भने ४५० घरमा अझै बाँकी रहेको देखिन्छ । जिल्लाभर अझै आठ हजार ५०७ घरधुरीमा खानेपानी सुविधा पुगेको छैन ।