• २८ असोज २०८२, मङ्गलबार

ग्रामीण सडकमा सधैँ सास्ती

blog

निर्माण अधुरै छोडिएको ग्रामीण सडक  । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता 

कालीकोट, असोज २८ गते । स्थानीय तहले आफूखुसी खनेका ग्रामीण सडकमा जोखिम बढ्दै गएको छ । सडकलाई पहिलो प्राथमिकता दिएका स्थानीय तहले एक्साभेटरमार्फत सडकको ट्र्याक खोले पनि थप सुधार नगर्दा जोखिम बढेको हो । 

जिल्लाका सबै स्थानीय तहले खनेका सडक अहिले बाढीपहिरोका कारक बनेका छन् । रास्कोट नगरपालिका–८ का दमनराज बरालले जथाभाबी खनेका सडकका कारण पहिरोको जोखिम बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “खनेर अलपत्र छाडियो, पानी पर्नेबित्तिकै पहिरोमा परिणत भयो । लेदो बगेर खेतीयोग्य जमिनमा पसेकाले खेत पुरिँदै गएको छ ।” 

डोजरले सडक बनाउने नाममा माटो खन्यो, जमिन हल्लियो, पानी पर्नेबित्तिकै कुलोका रूपमा परिणत भएर खोला बन्यो, सबै पानी एकै ठाउँमा केन्द्रित हुँदा पहिरोमा रूपान्तरण हुँदै गएको उहाँले जनाउनुभयो । स्थानीय तहले सडक खन्दा एकातिर किसानको जमिन मासिएको छ भने अर्कातर्फ रहेको सानो खेतबारी पनि त्यही सडकको माटोसहितको लेदो बगेर पुरेका कारण सुकुमवासी बनाइदिएको छ । रास्कोट नगरपालिका–२ का धर्मराज चौलागाईंको घरको भित्तामा सडक निर्माण भयो । जमिन मासियो, सडक खन्दै उहाँ पुनर्निर्माणका लागि नगरपालिका हुँदै जिल्ला प्रशासनसम्म पुग्नुभयो तर अहिलेसम्म राहत पाउन नसकेका कारणले उहाँ कमाइका लागि भारत पस्नुभएको छ । दसैँमा घर आउनुभएका चौलागाईंले आफन्त र कर्मचारीलाई बेला बेला फोनमा कुरा राख्ने गरेको तर २०७९ सालदेखि राहत नआएको गुनासो गर्र्नुभयो । “सडक सधैँ चल्ने भए पनि बचेखुचेको बारीमा तरकारी लगाएर केही गरौँ भन्ने हुन्थ्यो, त्यो पनि छैन,” चौलागाईंले दुःखेसो गर्नुभयो । 

शुभकालिका गाउँपालिकातिर पनि उस्तै समस्या छ । साबिकको भर्ता गाविसमा पु¥याउन खनिएको सडक पहिरोमा रूपान्तरण हुँदा न सडक छ, न त त्यहाँका किसानको जमिन नै बाँकी छ । पूरै पहिरोमा रूपान्तरण भएको छ । भर्ताका प्रकाश अधिकारीले सडक सुधार नहुँदा थप पहिरो बग्दै गएकाले गाउँ नै छाड्नुपर्ने बाध्यता आएको बताउनुभयो । 

खाँडाचक्र नगरपालिका–८, पाँखाको अवस्था पनि उस्तै छ । सडक खनेकै कारण पाटनभरिको पानी एकै ठाउँमा केन्द्रित हुँदा कर्णाली राजमार्गलाई समेत बिगारेको छ । पिली क्षेत्रमा सधैँ कर्णाली राजमार्ग अवरुद्ध हुने भनेको ग्रामीण सडककै कारण हो ।