राधा लुइटेल
फिदिम, असोज २८ गते । पाँचथरको फिदिम नगरपालिका १२ नांगीनमा गएको पहिरोले फेमे खोला थुनिएको छ । खोलामा बनेको ड्याम जुनसुकै बेला फुट्न सक्ने र त्यसबाट पुनः विपत्ति निम्तिने भन्दै पाँचथर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पाँचथरले सतर्कना अपनाउन नागरिकसमक्ष आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले सूचना जारी गर्दै फेमे खोला थुनिएको र अस्थायी ड्याम बनेको हुँदा खोला आसपास बस्ने नागरिकलाई सचेत रहन आग्रह गर्नुभएको हो।
पाँचथर प्रहरीले पनि सूचना जारी गर्दै फेमेसँगै हेवा र तमोर गड्तीरका नागरिकलाई सचेत रहन आग्रह गरेको हो । बिहान ८ बजे लडेको पहिरोले खोला थुनिएको हो । थुनिएको स्थानमा रानीटारतर्फको भागमा सानो निकास गए पनि धेरै पानी पहिरो क्षेत्रमै जमेकाले एकैसाथ खोलिने जोखिम भएकाले सूचनामार्फत नागरिकलाई सचेत रहन भनिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा प्रमुख जिल्ला अधिकारीसहितको टिम पुगेको छ भने जनप्रतिनिधि र नागरिक पनि वरपरबाट रमिता हेरिरहेका छन् ।