नवीनराज कुइँकेल
लमजुङ, असोज २८ गते । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको माग गर्दै सुरु भएको विशेष महाधिवेशनको हस्ताक्षर अभियानमा लमजुङका ८५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन्। जिल्लाका ८५ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको नेपाली कांग्रेस जिल्ला समिति लमजुङले जनाएको छ ।
नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति एवं गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले जिल्लामा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गर्नुभएको थियो । पौडेल जिल्लामा महामन्त्री गगन थापा पक्षधरका रूपमा चिनिनुहुन्छ । हस्ताक्षर सङ्कलनमा विदेशमा रहनुभएका महाधिवेशन प्रतिनिधिहरूको समेत हस्ताक्षर झिकाइएको थियो । विदेशबाट दस्तखत पठाउनेमा जीवनकुमार श्रेष्ठ, सुकमाया गुरुङ र ललितकुमार गुरुङ हुनुहुन्छ ।
लमजुङमा जम्मा २८ जना महाधिवेशन प्रतिनिधिहरू (जिल्ला सभापति पदेनसमेत) रहेका छन् । तीमध्ये २२ जनाले महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नु भएको छ । पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षधर मानुनिभएका तरुण दलका केन्द्रीय सदस्य बृषराज गुरुङ तथा पूर्वजिल्ला सभापति तुल्सीनारायण श्रेष्ठ लगायतले समेत महाधिवेशनको पक्षमा दस्तखत गर्नु भएको छ ।
कुनै पक्षधरमा नभएको दाबी गर्ने कांग्रेसका गण्डकी प्रदेशका सहसचिव एवं मध्यनेपाल नरगपालिकाका मेयर रमेशकुमार पाण्डेले समेत महाधिवेशनका पक्षमा दस्तखत गर्नु भएको छ । २८ जनामध्ये २२ जनाको हस्ताक्षर भएको र अर्का एक महाअधिवेशन प्रतिनिधि रहनु भएकी दुधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन भएको छ ।
महाधिवेशन प्रतिनिधि रहनुभएका जिल्ला सभापति एवं गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्व जिल्ला सभापति एवम् सुन्दरबजार नगपालिकाका मेयर कृष्णप्रसाद कोइराला र सांस्कृतिक केन्द्रको केन्द्रीय समितिका अध्यक्ष तीर्थ थापाले भने विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नुभएको छैन ।
यो हस्ताक्षर अभियान कुनै गुटको नभई ‘विकसित घटनाक्रममा परिवर्तन चाहाने महाधिवेशन प्रतिनिधिहरूको’ रहेको हस्ताक्षरकर्ताहरूले बताएका छन् । यसको मुख्य उद्देश्य पार्टीलाई समयमै नियमित महाधिवेशन गर्न दवाव दिनु र त्यो सम्भव नभए विशेष महाधिवेशन गर्नका लागि मार्ग प्रशस्त गर्नु रहेको महाविशेन प्रनिनिधि एवं तरुण दलका केन्द्रीय सदस्य बृषराज गुरुङले बताउनुभयो ।
नेपाली कांग्रेसको विधानअनुसार, पार्टीको केन्द्रीय समिति बैठकले आवश्यक ठानेमा विशेष महाधिवेशन बोलाउन सक्ने छ । यसका अतिरिक्त, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाई लिखित माग गरेमा पनि विशेष महाधिवेशन बोलाउनुपर्ने वैधानिक प्रावधान छ, र यस्तो अवस्थामा लिखित माग भएको तीन महिनाभित्र महाधिवेशन बोलाउनु पर्ने व्यवस्था रहेको छ । जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रमलाई कारण देखाउँदै यो अभियान सुरु गरिएको हस्ताक्षर पत्रमा उल्लेख छ ।
नेपाली कांग्रेसको विधानअनुसार आगामी मंसिरभित्र नियमित महाधिवेशन गरिसक्नुपर्ने बाध्यता छ । यद्यपि, विशेष परिस्थितिका कारण देखाउँदै पार्टीले एक वर्षसम्म म्याद थप गर्न सक्ने प्रावधान पनि रहेको छ ।