• २० वैशाख २०८१, बिहिबार

सप्तपाताल पोखरी दुई वर्षभित्र पुनर्जीवित गर्ने लक्ष्य

blog

ललितपुरको ऐतिहासिक सप्तपाताल पोखरी पुनर्जीवितका लागि तयार पारिएको नयाँ डिजाइन । तस्बिर सौजन्य : ललितपुर महानगरपालिका

ललितपुर, मङ्सिर १० गते । ललितपुर महानगरपालिकाले लगनखेलस्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको सप्तपाताल पोखरीलाई पुनर्जीवित गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । महानगरपालिकाले सो पोखरीको निर्माण कार्य अबको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । 

महानगरका प्रवक्ता राजु महर्जनले हरियाली सहर बनाउने मुख्य उद्देश्यका साथ विभिन्न योजनाहरू अघि बढिरहेको भन्नुहुँदै सप्तपाताल पोखरी निर्माणका लागि सीमाङ्कनको काम सकिएको जानकारी दिनुभयो ।

महर्जनले भन्नुभयो, “यो लगनखेलको  ऐतिहासिक तथा धार्मिक पोखरी हो । मछिन्द्रनाथ जात्रासँग सम्बन्धित पोखरी हो ।” 

हजारौँ वर्ष पुरानो एवम् लामो दिनसम्म मनाइने मछिन्द्रनाथ जात्रा सम्पन्न भएपछि पातालमा यो सूचना पुर्‍याउन चार जोर माछा उक्त पोखरीमा छोड्ने परम्परागत एवम् धार्मिक चलन रही आएको छ । यसैगरी, मछिन्द्रनाथको जात्रा सम्पन्न भएको खबर स्वर्गका देवीदेवतासम्म पुर्‍याउन चार जोर परेवा उडाउने चलन रहेकोले यो पोखरी मछिन्द्रनाथ जात्रासँग सम्बन्धित रहेको उहाँको भनाइ छ । 


उक्त पोखरीको जग्गामा २०५९ सालतिर नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन निर्माणको काम अघि बढेपछि सम्पदाप्रेमी तथा अभियन्ताले पोखरी संरक्षणको निरन्तर वकालत गर्दै आएका थिए । 

अभियन्ताले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा पटक–पटक ‘हेर्न नभ्याइने’ मा रह्यो । लामो समयको कानुनी उल्झनपछि पछिल्लो समय सर्वोच्चले सप्तपाताल पोखरी पुनर्स्थापनाको पक्षमा फैसला गर्‍यो ।

उहाँले भन्नुभयो, “एक जना सम्पदाप्रेमीले २२ वर्षसम्म मुद्दा मामिला गरेर पुनः पोखरी पुनर्स्थापना गर्ने निर्णय सर्वोच्च अदालतबाट फैसला भएपछि महानगरपालिकाले उक्त पोखरीलाई पुनर्जीवित गर्ने उद्देश्यले सो काम अघि बढाएको छ ।” यसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा बजेट सिर्जना गरेको छ । 

सप्तपातालको पुनर्निर्माणको काम कसरी अगाडि बढ्छ भन्ने जिज्ञासामा उहाँले स्थानीय स्तरमा उपभोक्ता समितिमार्फत अघि बढाइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उपभोक्ता समितिमार्फत जाँदा ठुला–ठुला उपकरणहरू प्रयोग गर्न पाइने छैन । माटोहरू धेरै निकाल्नुपर्ने कुराहरू छन् । पहिला जति पनि पोखरी बनायौँ, स्विमिङ पुल जस्तो मात्र हुने । चारैतिर वाल लगाउने अनि पानी भर्ने भएकोले । यो पटक पुरानो पोखरी बनाउने डिजाइन बनाएका छौँ ।” सर्प, भ्यागुता जस्ता जीवजन्तु बाँच्न सक्ने प्राकृतिक पोखरी निर्माण हुने उहाँको भनाइ छ ।


उहाँका अनुसार करिब ४३ रोपनी क्षेत्रफलमा रहेको सप्तपाताल पोखरीको डिपीआर निर्माण चरणको काम सकिएको छ । टेन्डरको प्रक्रिया अगाडि बढेको छ । सहायताका लागि कोरियाको एक निजी संस्थाले अवलोकन गरे पनि निश्चित भने नभएको उहाँको भनाइ छ । 

अशोक स्तूपाको सप्तपाताल पोखरीको उत्तरपट्टिको जग्गा नमुना मच्छेन्द्र माविले ओगटेको थियो । यसैगरी, दक्षिणतर्फ रहेको पोखरीसहित आर्मी अफिसले कब्जा गरेको भू-भाग महानगरपालिकाको मातहतमा आइसकेको छ । 

उहाँले भन्नुभयो, “सम्पूर्ण रूपमा ठुलो खालको, हेर्दा रहर लाग्दो डिजाइन बनाउनुभएको छ । पुरानो खालको इकोलोजिकल पोखरी बनाउने हिसाबले काम अघि बढाइएका छौँ ।”


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।