• १२ कात्तिक २०८२, बुधबार

न्यूनतम सुविधाप्रति नर्सको ऐक्यबद्धता

blog

नर्सलाई न्यूनतम सेवा उपलब्ध हुनुपर्ने मागसहितको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै प्रदेश अस्पतालमा कार्यरत नर्स ।

सुर्खेत समाचारदाता

सुर्खेत, कात्तिक १२ गते । निजी अस्पतालमा कार्यरत नर्सलाई न्यून सुविधा दिई श्रम शोषण गरिएको भन्दै त्यसको विरोधमा थालिएको आन्दोलनमा सुर्खेतस्थित प्रदेश अस्पतालका नर्सले ऐक्यबद्धता जनाएका छन् । नर्सको न्यूनतम सुविधाको व्यवस्था हुनुपर्ने भन्दै नेपाल नर्सिङ सङ्घको आह्वानमा उनीहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् । 

यसैक्रममा नेपाल नर्सिङ सङ्घ सुर्खेतको अगुवाइमा प्रदेश अस्पतालमा नर्सले प्लेकार्डसहित आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै वीरेन्द्रनगरका निजी अस्पतालमा कार्यरत नर्सको अवस्थाका बारेमा पनि स्थलगत अनुगमन गरेको छ । नर्सको कामको सम्मान गरौँ, श्रम शोषण अन्त्य गरौँ, विदेश जाने वातावरण हटाउनुहोस्, श्रमको अवमूल्यन नगरौँलगायतका नारा उल्लेख भएको प्लेकार्डसहित प्रदेश अस्पतालमा आन्दोलन गरी ऐक्यबद्धता जनाइएको थियो । नेपाल नर्सिङ सङ्घ सुर्खेतका अध्यक्ष सकुन्तला सापकोटाले मङ्गलबार वीरेन्द्रनगरका निजी अस्पतालको स्थलगत अनुगमन गरी त्यहाँ कार्यरत नर्सको अवस्थाबारे जानकारी लिइएको बताउनुभयो । 

उहाँले अनुगमनका क्रममा निजी अस्पतालले कम नर्स राखेको, धेरैजसो अस्पतालमा अनमी मात्रै कार्यरत रहेको, उनीहरूले सट्टा बिदा नपाएको, नौदेखि ११ घण्टासम्म काम गर्नुपर्ने बाध्यता रहेको, श्रम अनुसारको पारिश्रमिक न्यून भएको र अस्पताल पिच्छे पारिश्रमिक फरक फरक दिइएको पाइएको जानकारी दिनुभयो । नर्सको श्रम शोषण भइरहेको हुँदा नेपाल नर्सिङ सङ्घको आह्वानमा देशभर आन्दोलन भएको र त्यसै अनुसार सुर्खेतमा पनि आन्दोलन थालिएको अध्यक्ष सापकोटाले बताउनुभयो । 

बुधबारदेखि दैनिक १० देखि १२ बजेसम्म अत्यावश्क सेवाबाहेक अस्पतालका सबै सेवा रोक्ने, पेन डाउन गर्नेलगायतका चरणबद्ध आन्दोलन गरिने जानकारी उहाँले दिनुभयो । 

यसैबिच नेपाल नर्सिङ सङ्घ सुर्खेतले पनि एक विज्ञप्ति जारी गरी सङ्घले २०८२ वैशाख २५ गतेदेखि नर्सको तलब, जोखिम भत्ता, रात्रिकालीन भत्तालगायतका अन्य सेवा सुविधाका सम्बन्धको मागपत्र स्वास्थ्य मन्त्रालयलाई पेस गरिसकेको तर पनि निजी स्वास्थ्य संस्थाले उक्त निर्णय कार्यान्वयन नगरी न्यून सुविधा दिएकाले आन्दोलनमा उत्रिन बाध्य भएको जनाइएको छ ।